
काठमाडौं । भदौ २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आफूहरूले तयार पारेको प्रतिवेदन बुझाउन निर्वाचनको नतिजा नकुरेको स्पष्ट पारेका छन् । प्रतिवेदन बुझाउन भएको ढिलाइलाई लिएर भइरहेका विभिन्न टीकाटिप्पणीको खण्डन गर्दै उनले काम नसकिएका कारण मात्र केही समय लागेको बताएका हुन् ।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष कार्कीले २३ र २४ गते भएका घटनाको सुक्ष्म छानबिन गरी दोषी देखिएका सबैलाई कानुनी कारबाहीको दायरामा ल्याउन सिफारिस गरिएको जानकारी दिए । ‘हामीले २३ गतेको घटनामा जो-जो दोषी छन्, जसका कारण हाम्रा किशोरहरू शहीद भए, उनीहरूलाई कानुनी कारबाही गर भनेर सिफारिस गरेका छौं,’ उनले भने, ‘त्यसमा गोली हान्ने, हान्न लगाउने र रोक्न सक्ने अवस्था हुँदाहुँदै पनि नरोक्ने सबै परेका छन्।’
तत्कालीन प्रधानमन्त्री र काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई फौजदारी कारबाहीको सिफारिस गरिएको हो भन्ने प्रश्नमा कार्कीले स्पष्ट नाम नतोकी तत्कालीन अवस्थामा सरकारमा रहेका र घटनाप्रति जिम्मेवार देखिएका सबै पात्रहरूलाई सम्बोधन गरिएको बताए । उनले भने, ‘जोजो जिम्मेवार छन्, उनीहरूलाई कारबाही गर भनेर हामीले दोषी पक्षबारे बोलेका छौं ।’
निर्वाचनको परिणाम हेरेर प्रतिवेदन बुझाइएको भन्ने चर्चाको जवाफ दिँदै उनले भने, ‘इलेक्सनको नतिजासँग हाम्रो केही मतलब छैन । बरु हाम्रो रिपोर्ट अगाडि नै आएको भए इलेक्सनलाई नै असर पर्थ्यो कि भन्ने कुरा अहिले महसुस भएको छ । हामीले कसैलाई बचाउन ढिला गरेका होइनौं ।’
यसअघि धेरै आयोगका प्रतिवेदनहरू सार्वजनिक नभई दराजमा थन्किने गरेको उदाहरण दिँदै पत्रकारले गरेको प्रश्नमा उनले यो प्रतिवेदन पनि सोही नियति भोग्न नहुनेमा जोड दिए । कार्कीले आफूले प्रधानमन्त्री र मन्त्रीहरूकै अगाडि प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरेको बताए ।
‘यो प्रतिवेदन सार्वजनिक भएन र कार्यान्वयनमा गएन भने फेरि अर्को आन्दोलन उठ्न सक्छ,’ उनले चेतावनी दिँदै भने, ‘मैले प्रधानमन्त्रीज्यूलाई सार्वजनिक गर्न भनिसकेको छु। उहाँले ‘गर्छु’ भन्नुभएको छ, यद्यपि मिति भने तोक्नुभएको छैन ।’
आफूहरूले देश, जनता र शहीदहरूको न्यायका लागि काम गरेकाले जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि निष्पक्ष छानबिन गरेको उनले दाबी गरे ।








प्रतिक्रिया