सम्पूर्ण अपडेट

रास्वपा उम्मेदवारलाई भारी मतान्तरले पराजित गर्दै हर्क सामपाङ बने सांसद, माटोको दोस्रो जित

273
Shares

सुनसरी । धरान उपमहानगरपालिकाका पूर्व-मेयर हर्क सामपाङ प्रतिनिधिसभा सदस्य बनेका छन् । मेयरबाट राजीनामा दिएर चुनाव लडेका सामपाङले रास्वपाका गोमा तामाङलाई पराजित गर्दै संसद यात्रा सुनिश्चित गरेका हुन् ।

सुनसरी क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष सामपाङ भारी मतान्तरले विजयी भए । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार राईले ३५ हजार ७४१ मत प्राप्त गर्दै आफ्नो निकटतम प्रतिद्वन्द्वीलाई पराजित गरे ।

उनका मुख्य प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गरिन् । यहाँ एमालेका टिका राम लिम्बुले ६ हजार ४६३ मत र नेपाली कांग्रेसका सुजेन्द्र तामाङले मात्र ३ हजार ९७० मत प्राप्त गरेका छन्।

हर्क राज राई ‘हर्क साम्पाङ’ को नामले परिचित छन् । उनको राजनीतिक यात्रा कुनै विरासत वा ठूलो दलको आशीर्वादबाट नभई शुद्ध नागरिक सक्रियता र संघर्षबाट सुरु भएको हो ।

हर्क साम्पाङले धरानको खानेपानी समस्या, वन संरक्षण र भ्रष्टाचार विरुद्ध एक्लै सडकमा प्लेकार्ड बोकेर वर्षौं संघर्ष गरे । उनी सुरुमा एक सामाजिक अभियन्ताका रूपमा चिनिए, जसले जनताका आधारभूत समस्यालाई सामाजिक सञ्जालमार्फत बुलन्द पारे । २०७९ को स्थानीय तह निर्वाचनमा उनले स्वतन्त्र उम्मेदवारी दिएर धरान उपमहानगरपालिकाको मेयरमा जित हासिल गरे ।

लौरो चुनाव चिह्न पाएका उनले स्थापित राजनीतिक दलहरूलाई चकित पारेका थिए । त्यतिबेला काठमाडौं महानगरपालिकामा बालेन शाहले लौरो चुनाव चिह्न पाएका थिए । हर्कले पनि लौरो नै पाएकामा धेरैले बालेन लहर जितेको टिप्पणी गर्थे ।

मेयर बनेपछि उनले ‘श्रमदान’ को नयाँ अवधारणा ल्याए । ढुङ्गा बोक्ने र जनतासँगै मिलेर खानेपानीको पाइप बिछ्याउने उनको शैलीले उनलाई ‘सेलिब्रेटी मेयर’ मात्र बनायो । जसकारण उनको देशैभरी चर्चा भएको थियो । यद्यपि सामाजिक सञ्जालमा अत्यधिक सक्रिय रहने र तुच्छ प्रतिक्रिया दिने कारण उनको आलोचना हुँदै आएको छ ।