
काठमाडौं । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको नतिजा अन्तिमतिर पुग्ने क्रमसँगै मधेशकेन्द्रित राजनीतिक दलहरूको तीन दशक लामो वर्चस्व समाप्त हुने निश्चित भएको छ ।
निर्वाचन आयोगको तथ्यांकअनुसार मधेश आन्दोलनका प्रमुख संवाहक मानिने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसहितका दिग्गज नेताहरू पराजित भएका छन् ।
मधेशका ३२ सिटमध्ये एउटा कांग्रेसले जित हात पारेको छ भने एक क्षेत्रमा नेकपा अगाडि देखिएको छ । उक्त क्षेत्रमा पनि रास्वपाका उम्मेदवारको उम्मेदवारी खारेज भएकाले अन्य दलले अग्रता पाएका हुन् । खारेजीमा परेका उम्मेदवारले समेत अन्य दलको भन्दा धेरै मतको अग्रता बनाएका छन् ।
मधेशका मुद्दा उठाएर २०४८ देखि उदाएका क्षेत्रीय दलहरू यसपटक एउटै सिट जित्न नसक्ने विन्दुमा पुगेका हुन् ।
दिग्गज नेताहरूको पराजय
उपेन्द्र यादव (सप्तरी–३): जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पराजित भएका छन् । उनी रास्वपाका उम्मेदवार अमरकान्त चौधरीसँग १० हजारभन्दा बढी मतान्तरले पराजित भएका हुन् । २०६४ यता लगातार संसद्मा रहँदै आएका यादवको संसदीय यात्रामा यसपटक पूर्णविराम लागेको छ।
शरतसिंह भण्डारी (महोत्तरी–२): पूर्वमन्त्री एवं जसपाका प्रभावशाली नेता भण्डारी पनि पराजित भएका छन् । उनलाई रास्वपाका दीपककुमार शाहले २२ हजारभन्दा बढीको विशाल मतान्तरले पराजित गरेका हुन् ।
सीके राउत (सप्तरी–२): अघिल्लो निर्वाचनमा उपेन्द्र यादवलाई हराएर चर्चामा आएका जनमत पार्टीका अध्यक्ष राउत यसपटक तेस्रो स्थानमा खुम्चिएका छन् । उनी रास्वपाका रामजी यादवभन्दा ७ हजारभन्दा बढी मतले पछाडि छन् ।
राजेन्द्र महतो (सर्लाही–२): राष्ट्रिय मुक्ति पार्टीका महतो चौथो स्थानमा पुगेका छन् । यहाँ रास्वपाका रबिन महतोले ४२,५१२ मतसहित जित सुनिश्चित गर्दा राजेन्द्रले ५,९९२ मत मात्र प्राप्त गरेका छन् ।
हृदयेश त्रिपाठी (नवलपरासी पश्चिम–१): उनी पनि रास्वपाका विक्रम खनालभन्दा १५ हजार मतले पछाडि रहँदै पराजित भए ।
३२ मध्ये २८ सिटमा रास्वपाको जित, अन्यमा पनि फराकिलो अग्रता
मधेश प्रदेशमा रास्वपाका २६ विजयी उम्मेदवारहरूको सूची:
| क्र.स. | निर्वाचन क्षेत्र | निर्वाचित उम्मेदवार (पार्टी) – मत | निकटतम प्रतिद्वन्द्वी (पार्टी) – मत |
| १ | सप्तरी क्षेत्र १ | पुष्पा कुमारी चौधरी (रास्वपा) – ३८,१९५ | सुमन राज प्याकुरेल (एमाले) – ७,६५२ |
| २ | सप्तरी क्षेत्र ३ | अमर कान्त चौधरी (रास्वपा) – ३२,८७५ | उपेन्द्र यादव (जसपा) – १५,२३९ |
| ३ | सप्तरी क्षेत्र ४ | सिताराम साह (रास्वपा) – ३६,४२२ | तेजु लाल चौधरी (कांग्रेस) – १३,१०३ |
| ४ | सिरहा क्षेत्र १ | बब्बु गुप्ता (रास्वपा) – ४१,३२२ | राम सुन्दर चौधरी (कांग्रेस) – ९,७८४ |
| ५ | सिरहा क्षेत्र ३ | शम्भु कुमार यादव (रास्वपा) – ३२,२४१ | लिलानाथ श्रेष्ठ (एमाले) – १०,९५६ |
| ६ | सिरहा क्षेत्र ४ | तपेश्वर यादव (रास्वपा) – ३६,२१० | अजय शंकर नायक (माओवादी) – ७,१७२ |
| ७ | धनुषा क्षेत्र २ | राम विनोद यादव (रास्वपा) – ४१,६३७ | दिनेश प्रसाद यादव परसैला (कांग्रेस) – १०,१९८ |
| ८ | धनुषा क्षेत्र ३ | मनिष झा (रास्वपा) – ४३,१८८ | विमलेन्द्र निधि (कांग्रेस) – १६,६५२ |
| ९ | धनुषा क्षेत्र ४ | राज किशोर महतो (रास्वपा) – ४८,२७० | महेन्द्र यादव (कांग्रेस) – १५,८०९ |
| १० | महोत्तरी क्षेत्र १ | प्रमोद कुमार महतो (रास्वपा) – ३४,६३६ | गिरिराज मणि पोखरेल (माओवादी) – १२,६२४ |
| ११ | महोत्तरी क्षेत्र २ | दीपककुमार साह (रास्वपा) – ३२,७२२ | शरत सिंह भण्डारी (जसपा) – १०,११८ |
| १२ | महोत्तरी क्षेत्र ३ | उज्ज्वल कुमार झा (रास्वपा) – ३२,४५१ | मुहमद रिजवान (लोसपा) – ५,१६९ |
| १३ | सर्लाही क्षेत्र १ | नीतिमा भण्डारी (कार्की) (रास्वपा) – ४४,१८१ | शम्भु लाल श्रेष्ठ (कांग्रेस) – ७,८७१ |
| १४ | सर्लाही क्षेत्र २ | रबिन महतो (रास्वपा) – ४२,५१२ | महेन्द्र राय यादव (माओवादी) – ८,५२३ |
| १५ | सर्लाही क्षेत्र ३ | नरेन्द्र साह कलवार (रास्वपा) – ४६,८९० | नारायण काजी श्रेष्ठ (माओवादी) – १३,३३८ |
| १६ | सर्लाही क्षेत्र ४ | अमरेश कुमार सिंह (रास्वपा) – ३५,६८८ | गगन कुमार थापा (कांग्रेस) – २२,८३१ |
| १७ | रौतहट क्षेत्र १ | राजेश कुमार चौधरी (रास्वपा) – २९,१४६ | अजय कुमार गुप्ता (एमाले) – १०,६१३ |
| १८ | रौतहट क्षेत्र २ | मो. फिरदोस आलम (कांग्रेस) – २१,५२८ | किरण कुमार साह (माओवादी) – १८,४४२ |
| १९ | रौतहट क्षेत्र ३ | रविन्द्र पटेल (रास्वपा) – २७,३१८ | गोबिन्द चौधरी (जसपा) – ११,९५४ |
| २० | रौतहट क्षेत्र ४ | गणेश पौडेल (रास्वपा) – ३६,८७६ | देव प्रसाद तिमलसेना (कांग्रेस) – १५,८६५ |
| २१ | बारा क्षेत्र १ | गणेश धिमाल (रास्वपा) – ३९,९१८ | शम्भु बहादुर बुढाथोकी (कांग्रेस) – १४,२२३ |
| २२ | बारा क्षेत्र २ | चन्दन कुमार सिंह (रास्वपा) – ३५,५९० | रामकिशोर प्रसाद यादव (जसपा) – १४,९१६ |
| २३ | बारा क्षेत्र ३ | अरबिन्द साह (रास्वपा) – ४०,६१७ | फरमुल्लाह मन्सुर (कांग्रेस) – १०,०५२ |
| २४ | बारा क्षेत्र ४ | रहबर अन्सारी (रास्वपा) – ४१,२०० | कृष्ण कुमार श्रेष्ठ (एमाले) – ११,६३९ |
| २५ | पर्सा क्षेत्र १ | बुद्धि प्रसाद पन्त (रास्वपा) – २७,२७४ | प्रदिप यादव (एमाले) – १३,०३० |
| २६ | पर्सा क्षेत्र २ | सुशील कुमार कानु (रास्वपा) – ३०,७४० | अजय कुमार चौरसिया (कांग्रेस) – ११,८९० |
| २७ | पर्सा क्षेत्र ३ | रामाकान्त प्रसाद चौरसीया (रास्वपा) – २९,६७१ | सुरेन्द्र प्रसाद चौधरी (कांग्रेस) – १६,३६६ |
| २८ | पर्सा क्षेत्र ४ | टेक वहादुर शाक्य (रास्वपा) – २८,००६ | रमेश रिजाल (कांग्रेस) – १२,५३४ |
द्रष्टव्य: सप्तरी २, सिरहा २ र महोत्तरी ४ मा मतगणना जारी रहेको र धनुषा १ मा मतगणना सुरु हुन बाँकी रहेकोले तिनलाई यस सूचीमा समावेश गरिएको छैन।
समानुपातिकतर्फको निराशाजनक स्थिति
समानुपातिकतर्फ पनि मधेशवादी दलहरूले राष्ट्रिय पार्टी बन्न आवश्यक ३ प्रतिशतको ‘थ्रेसहोल्ड’ कटाउन सक्ने सम्भावना न्यून देखिएको छ । आयोगका अनुसार ३४ लाख ४५ हजार ३८९ मत गणना हुँदा मधेशकेन्द्रित दलहरूको स्थिति कमजोर छ ।जसपा नेपालले ३४,७८२ मत पाउँदा जनमत पार्टीले १७,८९० र राष्ट्रिय मुक्ति पार्टीले १४,४८६ मत पाएका छन् । यो मत परिणामले ती दलहरूको राष्ट्रिय राजनीतिमा रहने हैसियतमाथि गम्भीर प्रश्न उठाएको छ ।
जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेशवादी दलहरू मधेश प्रदेशमा शून्यमा झर्नु चिन्ताको विषय रहेको बताएका छन् । पराजित भएपछि उनले मधेशका लागि दशकौँदेखि संघर्ष गरेका, मधेश आन्दोलनको जगमा उदाएका तथा मधेशका लागि त्याग, तपस्या र बलिदानी दिएका राजनीतिक शक्तिहरू एकाएक कमजोर अवस्थामा पुग्नु चिन्ताजनक भएको उल्लेख गरेका हुन् ।
मधेशवादी दल किन शून्य बने?
२०६३/६४ को मधेश आन्दोलनका बेला ‘पहिचान’ र ‘अधिकार’ का मुद्दाले जनतालाई जोडेको थियो । झन्डै दुई दशकसम्म तिनै मुद्दा दोहोर्याइरहने तर जनताको दैनिक जीवन शिक्षा, स्वास्थ्य, रोजगारी र कृषिमा कुनै सुधार नगर्ने प्रवृत्तिले मतदातामा वितृष्णा जगाएको पाउन सकिन्छ । जनताले अब ‘नारा’ होइन, ‘नतिजा’ खोजे, जुन पुराना दलहरूले दिन सकेनन् ।
उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो जस्ता नेताहरूले मधेशको अधिकारका लागि भन्दा पनि सत्ताको समीकरण मिलाउन बढी समय खर्चिएको आरोप लाग्यो । कहिले एमाले, कहिले कांग्रेस त कहिले माओवादीसँग मिलेर सरकारमा जाने तर मधेशका आधारभूत समस्या समाधान नगर्ने शैलीलाई मतदाताले ‘अवसरवाद’ को रूपमा बुझे ।
बालेन प्रभाव
काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) को कार्यशैलीले मधेशका युवाहरूमा गहिरो प्रभाव पार्यो । ‘मधेशको छोरोले काठमाडौंमा परिवर्तन ल्याउन सक्छ भने मधेशमै किन सक्दैन?’ भन्ने प्रश्न उठ्यो । बालेनको इमानदारिता र निडर छविले मधेशी युवाहरूलाई पुराना नेताको विकल्प खोज्न प्रेरित गर्यो, जसको फाइदा रास्वपाले उठायो । त्यस्तै संघीय सरकारका प्रधानमन्त्री मधेशी मूलको नभइरहेको अवस्थामा पहिलो पटक मधेशी मूलका बालेन प्रधानमन्त्री बन्न लागेकाले पनि मधेशका मतदातालाई आकर्षिक गरेको छ जसले गर्दा क्षेत्रीय दलहरू निकै कमजोर देखिएका हुन् ।
त्यसोत उनीहरूको पराजयका कारण बालेन मात्र भने होइनन् । मधेशवादी दलहरू कहिल्यै एक हुन सकेनन् । उपेन्द्र यादव र महन्थ ठाकुरबीचको टकराव, राजेन्द्र महतोको नयाँ पार्टी प्रयोग, र सीके राउतको जनमत पार्टीसँगको प्रतिस्पर्धाले मधेशी मत विभाजित भयो । नेताहरूको आपसी अहङ्कारले गर्दा बलियो ‘मधेशी मोर्चा’ बन्न सकेन, जसले गर्दा संगठित रास्वपाले क्लिन स्वीप गर्ने मौका पायो ।
२०७९ को चुनावमा सीके राउत र जनमत पार्टीलाई मतदाताले एउटा आशाका रूपमा हेरेका थिए । तर, दुई वर्षको अवधिमा जनमत पार्टीले पनि उही पुरानै सत्ताको खेल र मन्त्री पदका लागि लुछाचुँडी गरेको देखेपछि मतदाताले “यी पनि उस्तै हुन्” भन्ने निष्कर्ष निकाले । त्यसैले यसपटक सप्तरी-२ मै सीके राउतलाई हराएर मतदाताले रास्वपाका रामजी यादवलाई रोजे ।
मधेशमा अहिले ठूलो संख्यामा युवा मतदाता छन्, जो इन्टरनेट र प्रविधिसँग जोडिएका छन् । उनीहरूलाई २०६३ को विद्रोहको कथाले भन्दा पनि २०८२ को अवसर र आधुनिकताले बढी आकर्षित गर्छ । पुराना नेताहरूले अझै पनि २० वर्ष पुरानो शैलीको भाषण गरिरहँदा रास्वपाका उम्मेदवारहरूले प्रविधि, सुशासन र भ्रष्टाचार विरोधी एजेन्डा ल्याए, जसलाई युवा पुस्ताले उत्साहपूर्वक अनुमोदन गर्यो ।
२०६४ को पहिलो संविधानसभामा ५४ सिट जितेर राष्ट्रिय राजनीतिमा ‘किङ मेकर’ बनेको उपेन्द्र यादव नेतृत्वको शक्ति १८ वर्षपछि शून्यमा झरेको हो । २०७४ मा १७ सिट जितेका मधेशी दलहरू २०७९ मा खुम्चिँदै अहिलेको निर्वाचनमा पूर्णतः विस्थापित हुने अवस्थामा पुगेका छन् ।
मतदाताले पुराना दलहरूको ‘मधेश कार्ड’ लाई त्यागेर सुशासन र नयाँ अनुहारलाई रोजेका छन् । बालेनको कार्यशैली र रास्वपाले अघि सारेका उम्मेदवारहरूको प्रभावले मधेशको पुरानो किल्ला भत्किएको हो ।
२०४८ सालमा नेपाल सद्भावना पार्टीमार्फत सुरु भएको मधेशी राजनीतिको यात्रा २०६३ को मधेश विद्रोहपछि उत्कर्षमा पुगेको थियो । तर, सत्ता केन्द्रित राजनीति, पार्टी विभाजन र मतदाताको अपेक्षा पूरा गर्न नसक्दा १८ वर्षपछि मधेशवादी दलहरू संसद्बाटै बाहिरिने चुनौतीपूर्ण मोडमा आइपुगेका छन् । मधेशका मुद्दा र भावनालाई सत्ताको भर्याङ मात्र बनाएको आरोप खेपिरहेका पुराना दलहरूलाई यसपटक मतदाताले निर्मम ढंगले अस्वीकार गरिदिएका छन् ।








प्रतिक्रिया