सम्पूर्ण अपडेट

मधेशवादी पार्टी बालेनका कारण मात्र तराईमा ‘शून्य’ बनेका हुन् ?

525
Shares

काठमाडौं । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको नतिजा अन्तिमतिर पुग्ने क्रमसँगै मधेशकेन्द्रित राजनीतिक दलहरूको तीन दशक लामो वर्चस्व समाप्त हुने निश्चित भएको छ ।

निर्वाचन आयोगको तथ्यांकअनुसार मधेश आन्दोलनका प्रमुख संवाहक मानिने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसहितका दिग्गज नेताहरू पराजित भएका छन् ।

मधेशका ३२ सिटमध्ये एउटा कांग्रेसले जित हात पारेको छ भने एक क्षेत्रमा नेकपा अगाडि देखिएको छ । उक्त क्षेत्रमा पनि रास्वपाका उम्मेदवारको उम्मेदवारी खारेज भएकाले अन्य दलले अग्रता पाएका हुन् । खारेजीमा परेका उम्मेदवारले समेत अन्य दलको भन्दा धेरै मतको अग्रता बनाएका छन् ।

मधेशका मुद्दा उठाएर २०४८ देखि उदाएका क्षेत्रीय दलहरू यसपटक एउटै सिट जित्न नसक्ने विन्दुमा पुगेका हुन् ।

दिग्गज नेताहरूको पराजय

उपेन्द्र यादव (सप्तरी–३): जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पराजित भएका छन् । उनी रास्वपाका उम्मेदवार अमरकान्त चौधरीसँग १० हजारभन्दा बढी मतान्तरले पराजित भएका हुन् । २०६४ यता लगातार संसद्‌मा रहँदै आएका यादवको संसदीय यात्रामा यसपटक पूर्णविराम लागेको छ।

शरतसिंह भण्डारी (महोत्तरी–२): पूर्वमन्त्री एवं जसपाका प्रभावशाली नेता भण्डारी पनि पराजित भएका छन् । उनलाई रास्वपाका दीपककुमार शाहले २२ हजारभन्दा बढीको विशाल मतान्तरले पराजित गरेका हुन् ।

सीके राउत (सप्तरी–२): अघिल्लो निर्वाचनमा उपेन्द्र यादवलाई हराएर चर्चामा आएका जनमत पार्टीका अध्यक्ष राउत यसपटक तेस्रो स्थानमा खुम्चिएका छन् । उनी रास्वपाका रामजी यादवभन्दा ७ हजारभन्दा बढी मतले पछाडि छन् ।

राजेन्द्र महतो (सर्लाही–२): राष्ट्रिय मुक्ति पार्टीका महतो चौथो स्थानमा पुगेका छन् । यहाँ रास्वपाका रबिन महतोले ४२,५१२ मतसहित जित सुनिश्चित गर्दा राजेन्द्रले ५,९९२ मत मात्र प्राप्त गरेका छन् ।

हृदयेश त्रिपाठी (नवलपरासी पश्चिम–१): उनी पनि रास्वपाका विक्रम खनालभन्दा १५ हजार मतले पछाडि रहँदै पराजित भए ।

३२ मध्ये २८ सिटमा रास्वपाको जित, अन्यमा पनि फराकिलो अग्रता

मधेश प्रदेशमा रास्वपाका २६ विजयी उम्मेदवारहरूको सूची:

क्र.स.निर्वाचन क्षेत्रनिर्वाचित उम्मेदवार (पार्टी) – मतनिकटतम प्रतिद्वन्द्वी (पार्टी) – मत
सप्तरी क्षेत्र १पुष्पा कुमारी चौधरी (रास्वपा) – ३८,१९५सुमन राज प्याकुरेल (एमाले) – ७,६५२
सप्तरी क्षेत्र ३अमर कान्त चौधरी (रास्वपा) – ३२,८७५उपेन्द्र यादव (जसपा) – १५,२३९
सप्तरी क्षेत्र ४सिताराम साह (रास्वपा) – ३६,४२२तेजु लाल चौधरी (कांग्रेस) – १३,१०३
सिरहा क्षेत्र १बब्बु गुप्ता (रास्वपा) – ४१,३२२राम सुन्दर चौधरी (कांग्रेस) – ९,७८४
सिरहा क्षेत्र ३शम्भु कुमार यादव (रास्वपा) – ३२,२४१लिलानाथ श्रेष्ठ (एमाले) – १०,९५६
सिरहा क्षेत्र ४तपेश्वर यादव (रास्वपा) – ३६,२१०अजय शंकर नायक (माओवादी) – ७,१७२
धनुषा क्षेत्र २राम विनोद यादव (रास्वपा) – ४१,६३७दिनेश प्रसाद यादव परसैला (कांग्रेस) – १०,१९८
धनुषा क्षेत्र ३मनिष झा (रास्वपा) – ४३,१८८विमलेन्द्र निधि (कांग्रेस) – १६,६५२
धनुषा क्षेत्र ४राज किशोर महतो (रास्वपा) – ४८,२७०महेन्द्र यादव (कांग्रेस) – १५,८०९
१०महोत्तरी क्षेत्र १प्रमोद कुमार महतो (रास्वपा) – ३४,६३६गिरिराज मणि पोखरेल (माओवादी) – १२,६२४
११महोत्तरी क्षेत्र २दीपककुमार साह (रास्वपा) – ३२,७२२शरत सिंह भण्डारी (जसपा) – १०,११८
१२महोत्तरी क्षेत्र ३उज्ज्वल कुमार झा (रास्वपा) – ३२,४५१मुहमद रिजवान (लोसपा) – ५,१६९
१३सर्लाही क्षेत्र १नीतिमा भण्डारी (कार्की) (रास्वपा) – ४४,१८१शम्भु लाल श्रेष्ठ (कांग्रेस) – ७,८७१
१४सर्लाही क्षेत्र २रबिन महतो (रास्वपा) – ४२,५१२महेन्द्र राय यादव (माओवादी) – ८,५२३
१५सर्लाही क्षेत्र ३नरेन्द्र साह कलवार (रास्वपा) – ४६,८९०नारायण काजी श्रेष्ठ (माओवादी) – १३,३३८
१६सर्लाही क्षेत्र ४अमरेश कुमार सिंह (रास्वपा) – ३५,६८८गगन कुमार थापा (कांग्रेस) – २२,८३१
१७रौतहट क्षेत्र १राजेश कुमार चौधरी (रास्वपा) – २९,१४६अजय कुमार गुप्ता (एमाले) – १०,६१३
१८रौतहट क्षेत्र २मो. फिरदोस आलम (कांग्रेस) – २१,५२८किरण कुमार साह (माओवादी) – १८,४४२
१९रौतहट क्षेत्र ३रविन्द्र पटेल (रास्वपा) – २७,३१८गोबिन्द चौधरी (जसपा) – ११,९५४
२०रौतहट क्षेत्र ४गणेश पौडेल (रास्वपा) – ३६,८७६देव प्रसाद तिमलसेना (कांग्रेस) – १५,८६५
२१बारा क्षेत्र १गणेश धिमाल (रास्वपा) – ३९,९१८शम्भु बहादुर बुढाथोकी (कांग्रेस) – १४,२२३
२२बारा क्षेत्र २चन्दन कुमार सिंह (रास्वपा) – ३५,५९०रामकिशोर प्रसाद यादव (जसपा) – १४,९१६
२३बारा क्षेत्र ३अरबिन्द साह (रास्वपा) – ४०,६१७फरमुल्लाह मन्सुर (कांग्रेस) – १०,०५२
२४बारा क्षेत्र ४रहबर अन्सारी (रास्वपा) – ४१,२००कृष्ण कुमार श्रेष्ठ (एमाले) – ११,६३९
२५पर्सा क्षेत्र १बुद्धि प्रसाद पन्त (रास्वपा) – २७,२७४प्रदिप यादव (एमाले) – १३,०३०
२६पर्सा क्षेत्र २सुशील कुमार कानु (रास्वपा) – ३०,७४०अजय कुमार चौरसिया (कांग्रेस) – ११,८९०
२७पर्सा क्षेत्र ३रामाकान्त प्रसाद चौरसीया (रास्वपा) – २९,६७१सुरेन्द्र प्रसाद चौधरी (कांग्रेस) – १६,३६६
२८पर्सा क्षेत्र ४टेक वहादुर शाक्य (रास्वपा) – २८,००६रमेश रिजाल (कांग्रेस) – १२,५३४

द्रष्टव्य: सप्तरी २, सिरहा २ र महोत्तरी ४ मा मतगणना जारी रहेको र धनुषा १ मा मतगणना सुरु हुन बाँकी रहेकोले तिनलाई यस सूचीमा समावेश गरिएको छैन।

समानुपातिकतर्फको निराशाजनक स्थिति

समानुपातिकतर्फ पनि मधेशवादी दलहरूले राष्ट्रिय पार्टी बन्न आवश्यक ३ प्रतिशतको ‘थ्रेसहोल्ड’ कटाउन सक्ने सम्भावना न्यून देखिएको छ । आयोगका अनुसार ३४ लाख ४५ हजार ३८९ मत गणना हुँदा मधेशकेन्द्रित दलहरूको स्थिति कमजोर छ ।जसपा नेपालले ३४,७८२ मत पाउँदा जनमत पार्टीले १७,८९० र राष्ट्रिय मुक्ति पार्टीले १४,४८६ मत पाएका छन् । यो मत परिणामले ती दलहरूको राष्ट्रिय राजनीतिमा रहने हैसियतमाथि गम्भीर प्रश्न उठाएको छ ।

जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेशवादी दलहरू मधेश प्रदेशमा शून्यमा झर्नु चिन्ताको विषय रहेको बताएका छन् । पराजित भएपछि उनले मधेशका लागि दशकौँदेखि संघर्ष गरेका, मधेश आन्दोलनको जगमा उदाएका तथा मधेशका लागि त्याग, तपस्या र बलिदानी दिएका राजनीतिक शक्तिहरू एकाएक कमजोर अवस्थामा पुग्नु चिन्ताजनक भएको उल्लेख गरेका हुन् ।

मधेशवादी दल किन शून्य बने?

२०६३/६४ को मधेश आन्दोलनका बेला ‘पहिचान’ र ‘अधिकार’ का मुद्दाले जनतालाई जोडेको थियो । झन्डै दुई दशकसम्म तिनै मुद्दा दोहोर्‍याइरहने तर जनताको दैनिक जीवन शिक्षा, स्वास्थ्य, रोजगारी र कृषिमा कुनै सुधार नगर्ने प्रवृत्तिले मतदातामा वितृष्णा जगाएको पाउन सकिन्छ । जनताले अब ‘नारा’ होइन, ‘नतिजा’ खोजे, जुन पुराना दलहरूले दिन सकेनन् ।

उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो जस्ता नेताहरूले मधेशको अधिकारका लागि भन्दा पनि सत्ताको समीकरण मिलाउन बढी समय खर्चिएको आरोप लाग्यो । कहिले एमाले, कहिले कांग्रेस त कहिले माओवादीसँग मिलेर सरकारमा जाने तर मधेशका आधारभूत समस्या समाधान नगर्ने शैलीलाई मतदाताले ‘अवसरवाद’ को रूपमा बुझे ।

बालेन प्रभाव

काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) को कार्यशैलीले मधेशका युवाहरूमा गहिरो प्रभाव पार्‍यो । ‘मधेशको छोरोले काठमाडौंमा परिवर्तन ल्याउन सक्छ भने मधेशमै किन सक्दैन?’ भन्ने प्रश्न उठ्यो । बालेनको इमानदारिता र निडर छविले मधेशी युवाहरूलाई पुराना नेताको विकल्प खोज्न प्रेरित गर्‍यो, जसको फाइदा रास्वपाले उठायो । त्यस्तै संघीय सरकारका प्रधानमन्त्री मधेशी मूलको नभइरहेको अवस्थामा पहिलो पटक मधेशी मूलका बालेन प्रधानमन्त्री बन्न लागेकाले पनि मधेशका मतदातालाई आकर्षिक गरेको छ जसले गर्दा क्षेत्रीय दलहरू निकै कमजोर देखिएका हुन् ।

त्यसोत उनीहरूको पराजयका कारण बालेन मात्र भने होइनन् । मधेशवादी दलहरू कहिल्यै एक हुन सकेनन् । उपेन्द्र यादव र महन्थ ठाकुरबीचको टकराव, राजेन्द्र महतोको नयाँ पार्टी प्रयोग, र सीके राउतको जनमत पार्टीसँगको प्रतिस्पर्धाले मधेशी मत विभाजित भयो । नेताहरूको आपसी अहङ्कारले गर्दा बलियो ‘मधेशी मोर्चा’ बन्न सकेन, जसले गर्दा संगठित रास्वपाले क्लिन स्वीप गर्ने मौका पायो ।

२०७९ को चुनावमा सीके राउत र जनमत पार्टीलाई मतदाताले एउटा आशाका रूपमा हेरेका थिए । तर, दुई वर्षको अवधिमा जनमत पार्टीले पनि उही पुरानै सत्ताको खेल र मन्त्री पदका लागि लुछाचुँडी गरेको देखेपछि मतदाताले “यी पनि उस्तै हुन्” भन्ने निष्कर्ष निकाले । त्यसैले यसपटक सप्तरी-२ मै सीके राउतलाई हराएर मतदाताले रास्वपाका रामजी यादवलाई रोजे ।

मधेशमा अहिले ठूलो संख्यामा युवा मतदाता छन्, जो इन्टरनेट र प्रविधिसँग जोडिएका छन् । उनीहरूलाई २०६३ को विद्रोहको कथाले भन्दा पनि २०८२ को अवसर र आधुनिकताले बढी आकर्षित गर्छ । पुराना नेताहरूले अझै पनि २० वर्ष पुरानो शैलीको भाषण गरिरहँदा रास्वपाका उम्मेदवारहरूले प्रविधि, सुशासन र भ्रष्टाचार विरोधी एजेन्डा ल्याए, जसलाई युवा पुस्ताले उत्साहपूर्वक अनुमोदन गर्‍यो ।

२०६४ को पहिलो संविधानसभामा ५४ सिट जितेर राष्ट्रिय राजनीतिमा ‘किङ मेकर’ बनेको उपेन्द्र यादव नेतृत्वको शक्ति १८ वर्षपछि शून्यमा झरेको हो । २०७४ मा १७ सिट जितेका मधेशी दलहरू २०७९ मा खुम्चिँदै अहिलेको निर्वाचनमा पूर्णतः विस्थापित हुने अवस्थामा पुगेका छन् ।

मतदाताले पुराना दलहरूको ‘मधेश कार्ड’ लाई त्यागेर सुशासन र नयाँ अनुहारलाई रोजेका छन् । बालेनको कार्यशैली र रास्वपाले अघि सारेका उम्मेदवारहरूको प्रभावले मधेशको पुरानो किल्ला भत्किएको हो ।

२०४८ सालमा नेपाल सद्भावना पार्टीमार्फत सुरु भएको मधेशी राजनीतिको यात्रा २०६३ को मधेश विद्रोहपछि उत्कर्षमा पुगेको थियो । तर, सत्ता केन्द्रित राजनीति, पार्टी विभाजन र मतदाताको अपेक्षा पूरा गर्न नसक्दा १८ वर्षपछि मधेशवादी दलहरू संसद्‌बाटै बाहिरिने चुनौतीपूर्ण मोडमा आइपुगेका छन् । मधेशका मुद्दा र भावनालाई सत्ताको भर्‍याङ मात्र बनाएको आरोप खेपिरहेका पुराना दलहरूलाई यसपटक मतदाताले निर्मम ढंगले अस्वीकार गरिदिएका छन् ।