
काठमाडौं । नेपाल प्रहरीका पूर्वएआईजी विश्वराज पोखरेल पाँच भोटको मतान्तरले ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
सरकारले आफूभन्दा १६ महिना जुनियर एआईजी धीरजप्रताप सिंहलाई शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले २०७९ वैशाख १८ मा आईजीपी (प्रहरी प्रमुख) बनाएपछि पोखरेलले प्रहरीबाट राजीनामा दिएका थिए । विधि, प्रक्रिया मिचेर आफूभन्दा जुनियर सिंहलाई प्रहरी महानिरीक्षक बनाइएपछि असन्तुष्ट बनेका उनले सिंहलाई हटाएर आफूलाई महानिरीक्षक बनाउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । तर, सर्वोच्च अदालतले उनको रिट खारेज गरिदिएको थियो ।
नेपाल प्रहरीको आईजीपी बन्ने दौडबाट बाहिरिएपछि राजनीतिमा लागेका पोखरेल पहिलो प्रयासमै सांसद छिर्ने भएका हुन् ।
प्रहरी प्रमुख नबाउँदा प्रहरीबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार बनेका थिए । ओखलढुंगामा भोट माग्दै गर्दा प्रहरी सेवामा रहँदाका अनुभव र योगदानलाई आफ्नो योग्यता मानेका पोखरेलले निर्वाचनका लागि आफ्नै गृहजिल्ला ओखलढुंगा रोजेका थिए ।
२०२३ सालमा ओखलढुंगामा जन्मिएका पोखरेल २०४९ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए । इन्स्पेक्टर हुँदा उनले काठमाडौं उपत्यकाका तीन जिल्लाको अनुसन्धान गर्ने मुख्य जिम्मेवारी पाएको अपराध अनुसन्धान कार्यालयमा बसेर काम गरेका थिए । डीएसपी हुँदा काठमाडौंकै एक वृत्त प्रमुख भए ।
डीएसपी रहेका बेला २०६४ सालको चुनाव हुँदा उनी जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख थिए । एसपी हुँदा उनले जिल्ला प्रहरी कार्यालय मोरङको प्रमुख भएर काम गरे जतिबेला दोस्रो संविधानसभाको निर्वाचन भयो ।
एसपी हुँदै उनी प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखा, जिल्ला प्रहरी परिसर काठमाडौंको ट्वाइसी भएर काम गरे । एसएसपी हुँदा जिल्ला प्रहरी परिसर काठमाडौंको कमाण्ड सम्हाले । ट्राफिक प्रहरी, विमानस्थल सुरक्षा, लागूऔषध नियन्त्रण ब्यूरो जस्ता युनिटको नेतृत्व गरे । उनले लाइबेरिया र हाइटीमा दुई वर्ष मिसनमा काम गरे । प्रहरी बाहेक उनीसँग थप दुई क्षेत्रको अनुभव छ ।
२०३९ सालमा रुम्जाटार माध्यमिक विद्यालयबाट एसएलसी पास गरेपछि उनी काठमाडौं छिरे । नेपाल ल क्याम्पसबाट २०४६ सालमा बीएल उत्तीर्ण गरे । अनि लोकसेवा पास गरेर न्याय सेवा अन्तर्गत डिट्ठाको जागिरे भए ।
डिट्ठा हुनुअघि पोखरेलले विकास सेवातर्फको खरिदारमा स्थायी नाम निकालेका थिए । विकास सेवामा पनि काम गरेका उनले प्रहरी सेवा बाहेक न्याय र विकासतर्फ गरी ७ वर्ष काम गरेको अनुभव छ । समग्रमा प्रहरीमा २९ वर्ष सहित उनले ३६ वर्ष सरकारी सेवाका तीन क्षेत्रमा काम गरेका छन् । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा पोखरेल पोखरेल १३ हजार ९५३ मत ल्याएर विजयी भए । कांग्रेसका कुमार लुइँटेलले १३ हजार ९४८ मत प्राप्त गरे ।








प्रतिक्रिया