
मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) मकवानपुरका जिल्ला अध्यक्ष श्रीधर पोखरेलले पदबाट राजीनामा दिएका छन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मकवानपुरका दुवै क्षेत्रमा पार्टीले हार व्यहोरेपछि त्यसको नैतिक जिम्मेवारी लिँदै उनले अध्यक्ष पद त्यागेको घोषणा गरेका हुन् ।
पोखरेलले पार्टीले भोगेको वर्तमान परिणामका कारणबारे गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन् ।
नेकपा माले हुँदै एमालेसम्मको ४५ वर्षे राजनीतिक यात्रामा पार्टीले अहिले यस्तो परिणाम भोग्नुपरेको भन्दै उनले यसको वास्तविक कारण पहिचान गर्न नसकी गोलमटोल भाषामा मात्र प्रतिक्रिया दिने, ईर्ष्या र घमण्डपूर्ण प्रवृत्तिले समस्या समाधान नहुने उल्लेख गरेका छन् ।
उनका अनुसार पार्टीभित्र तलदेखि माथिसम्म सबैले आत्मसमीक्षा गर्दै आफ्नो–आफ्नो जिम्मेवारी स्वीकार गर्नुपर्ने अवस्था आएको छ । उनले पार्टी अध्यक्षदेखि महासचिवसम्मका शीर्ष नेताहरूले पनि जिम्मेवारी ग्रहण गर्दै आवश्यक परे राजीनामा दिनुपर्ने र पार्टी पुनर्गठनका लागि बाटो खुला गर्नुपर्ने बताएका छन् ।
पोखरेलले पार्टीलाई जीवित र सुदृढ राख्न यथार्थलाई स्वीकार गर्दै जिम्मेवारी लिनु अपरिहार्य रहेको उल्लेख गर्दै आजकै मितिबाट लागू हुने गरी आफूले जिल्ला अध्यक्ष पदबाट राजीनामा दिएको बताएका छन् । साथै उनले अब आउने युवा पुस्तालाई पूर्ण साथ र सहयोग रहने विश्वास व्यक्त गरेका छन् ।
पोखरेल २०८१ साल जेठमा सम्पन्न जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए । यसअघि उनी नेकपा (एकीकृत समाजवादी) मा गएर पछि पुनः एमालेमा फर्किएका थिए ।








प्रतिक्रिया