नकारात्मक धारणालाई चिर्न व्यवसायीहरू आफैंले पनि आफ्नो कार्यशैलीमा ठूलो परिवर्तन ल्याउनुपर्छ

0
Shares

नेपालको अर्थतन्त्र पछिल्लो समय विभिन्न उतारचढावबाट गुज्रिरहेको छ । हालैका केही घटनाक्रम, विशेषगरी भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शन र त्यसले सिर्जना गरेको परिस्थिति, ले निजी क्षेत्रमा तरंग पैदा गरेको छ ।

बैंकिङ क्षेत्रमा दुई दशक भन्दा बढी समय बिताएको अनुभवका आधारमा भन्नुपर्दा, कुनै पनि आन्दोलन वा विरोध प्रदर्शनको प्रभाव भौतिक क्षतिमा मात्र सीमित हुँदैन, यसले लगानीको मनोविज्ञान र वित्तीय अनुशासनमा दीर्घकालीन असर पार्छ ।

तर, यसलाई हेर्ने दृष्टिकोणमा भने हामीले केही परिमार्जन गर्न आवश्यक छ । जेनजी प्रदर्शनका कारण बैंक तथा वित्तीय संस्थाहरूमा प्रत्यक्ष भौतिक क्षति नभए पनि यसले गम्भीर मनोवैज्ञानिक र आर्थिक प्रभाव पारेको छ । विशेषगरी, बैंकिङ क्षेत्रमा कर्जा असुलीको प्रक्रिया थप चुनौतीपूर्ण बनेको छ भने बजारमा एउटा ठूलो नकारात्मक प्रवृत्ति हावी भएको छ ।

ऋण तिर्न सक्ने क्षमता भएका र नगद प्रवाहमा समस्या नभएका ऋणीहरूले पनि विभिन्न बहानामा बैंकको ऋण तिर्न आलटाल गरिरहेका छन् । आन्दोलन र अनिश्चिततालाई ढाल बनाएर वित्तीय दायित्वबाट पन्छिन खोज्नु अर्थतन्त्रका लागि राम्रो संकेत होइन । यसले एकातिर कर्जाको माग घटेको छ भने अर्कोतिर बैंकहरूको वित्तीय विवरणमा दबाब बढेको छ ।  पछिल्लो केही वर्षयता बैंकहरूको सम्पत्ति गुणस्तर कमजोर बन्दै गएकोमा थप दबाब पर्ने अवस्था छ । 

भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनले सिर्जना गरेको अनिश्चितताले लगानीको वातावरणमा धक्का त दिएको छ । तर, यसलाई मात्र देखाएर हामी चुपचाप बस्न मिल्दैन । कतिपय अवस्थामा निजी क्षेत्रले यस घटनालाई अस्वाभाविक रूपमा ‘हाइप’ दिएको र यसलाई एउटा बहानाका रूपमा मात्र प्रयोग गरिरहेको भान हुन्छ । व्यावसायिक क्षेत्रले अब यस घटनाबाट अघि बढ्नुपर्छ ।

सधैं गुनासो मात्र गरिरहने र यसलाई सरकारसँग बार्गेनिङ गर्ने औजार बनाउनुको साटो समाधानमुखी हुनु आवश्यक छ । यसलाई स्वीकार गरेर अगाडि बढ्नुको विकल्प छैन । भविष्यमा निजी क्षेत्रमाथि हुने सम्भावित आक्रमण वा नकारात्मक धारणालाई चिर्न व्यवसायीहरू आफैंले पनि आफ्नो कार्यशैलीमा ठूलो परिवर्तन ल्याउनुपर्ने देखिन्छ ।

निजी क्षेत्रले सधैं ‘हामीले अर्थतन्त्रमा यति योगदान दियौं’ भनेर गर्व मात्र गर्ने भन्दा पनि जवाफदेही पनि हुन जरुरी छ । हामीले प्राप्त गरेको शक्ति र विशेषाधिकारको सदुपयोग भयो कि भएन भन्ने आत्मसमीक्षा गर्ने समय आएको छ ।

सर्वसाधारणमा निजी क्षेत्रप्रति कहिलेकाहीँ नकारात्मक दृष्टिकोण देखिनुको मुख्य कारण पारदर्शिताको अभाव र सामाजिक उत्तरदायित्वको कमी पनि हुनसक्छ । उद्यमीहरूले आफूलाई सामाजिक रूपमा थप जिम्मेवार बनाउनुपर्छ ।

पारदर्शी रूपमा कर तिर्ने र आफ्ना व्यावसायिक अभ्यासहरूलाई उपभोक्ता र नागरिकप्रति जवाफदेही तथा नैतिक बनाउनेतर्फ ध्यान दिनुपर्छ । 

धेरैजसो व्यापारिक घरानाहरूले आफूले ठूलो मात्रामा कर तिरेको दाबी गर्छन् । तर, वास्तविकतामा उनीहरूले तिर्ने भनिएको अप्रत्यक्ष कर (मूल्य अभिवृद्धि कर, अन्तःशुल्क आदि) उपभोक्ताको खल्तीबाट आएको हुन्छ, व्यवसायीहरू त केवल माध्यम  मात्र हुन् । व्यवसायीले त्यसैलाई देखाएर व्यवसायीले यति कर तिर्यौं भन्ने गलत अभ्यास नेपालमा देखिएको छ ।

उनीहरूले आफ्नो कम्पनीको खुद नाफाबाट तिर्ने प्रत्यक्ष कर मात्र उनीहरूको वास्तविक योगदान हो । मिडिया र समाजले पनि यो भिन्नता बुझ्नुपर्छ । व्यवसायीले भनेको आधारमा सुचना प्रवाह गर्दा भ्रामक सूचना नफैलियोस् भन्नेमा ध्यान दिन आवश्यक छ ।

जबसम्म समाजमा ‘हुने खाने’ र ‘हुँदा खाने’ बीचको खाडल कम हुँदैन, तबसम्म जेन जी प्रदर्शनजस्ता नागरिकका आक्रोशहरू कुनै न कुनै रूपमा बाहिर आइरहनेछन् । त्यसैले, सामाजिक न्याय र समावेशी आर्थिक विकासका लागि निजी क्षेत्रले आफ्नो मुनाफाको केही हिस्सा वास्तविक अर्थमा समाजको तल्लो तहसम्म पुग्ने गरी खर्चनुपर्छ ।

लगानीमैत्री वातावरण बनाउन सरकारको भूमिका अहम् हुन्छ । वर्तमान सरकार कामचलाउ अवस्थामा रहेका बेला पनि केही प्रयासहरू त भएका छन् ।  ती प्रयासहरू पर्याप्त भने  देखिँदैन । सरकारले मुख्यतः दुईवटा कुरामा ध्यान दिनुपर्छ ।

पहिलो, गलत काम गर्नेहरूमाथि तत्काल र कडा कानुनी कारबाही गर्ने ।

दोस्रो, कर्मचारीतन्त्रभित्र रहेको चरम ढिलासुस्ती र भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्ने ।

प्रणालीलाई सफा नगरेसम्म निजी क्षेत्रको मनोबल पूर्ण रूपमा फर्किन सक्दैन ।  सरकारले सार्वजनिक सेवाको सुधारमा ध्यान दिन जरुरी छ । व्यवसाय गर्नेहरूले सरकारी निकायबाट पाउनुपर्ने सेवामा चरम लापरवाही हुने, नागरिकले पाउनुपर्ने सेवामा लापरवाही जस्ता कारणले आम नागरिकमा निराशा बढेको छ । 

आफ्नो आम्दानीको अनुपातमा अस्वाभाविक रूपमा सम्पत्ति थुपारेका व्यक्तिमाथि राज्यले कडा निगरानी राख्नुपर्छ । स्रोत नखुलेको सम्पत्ति र अवैध धनले बजारमा विकृति ल्याउँछ जसको मार इमानदार व्यवसायीहरूलाई पर्छ ।

नेपालमा लगानीको वातावरण सुदृढ बनाउन केवल सरकार वा निजी क्षेत्र लागेर पुग्दैन । यो एउटा सामूहिक जिम्मेवारी हो । पैसा कमाउनु अपराध होइन, बरु यो देशको समृद्धिका लागि राम्रो कुरा हो । तर, त्यो कमाइ जिम्मेवारपूर्ण र पारदर्शी हुनुपर्छ ।

जेनजी आन्दोलनले सिकाएको पाठ भनेकै अबको व्यवसाय नाफामुखी मात्र भएर पुग्दैन, यो मूल्यमान्यतामा आधारित र सामाजिक रूपमा न्यायपूर्ण पनि हुनुपर्छ । हामीले गुनासो गर्न छोडेर रचनात्मक सुझाव दिने, करको इमानदार भुक्तानी गर्ने र प्रणाली सुधारमा सहकार्य गर्ने हो भने नेपालमा लगानीको वातावरण फेरि जीवन्त हुनेछ । परिवर्तन आफैंबाट सुरु गरौं, वातावरण आफैं बन्नेछ ।

(प्रस्तुत लेख ‘जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण’ अध्ययन प्रतिवेदन तयार गर्ने क्रममा सोधिएका प्रश्नहरुमा डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालका अध्यक्षसमेत रहेका सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले दिएको जवाफका आधारमा तयार पारिएको हो।)