
काठमाडौं । सरकारले सार्वजनिक बिदा दिएको भए तापनि आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन बाहेक बैंकिङ सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन बैंकहरूलाई राष्ट्र बैंकले निर्देशन दिएको छ ।
केन्द्रीय बैंकले मंगलबार एक सूचना जारी गर्दै मतदानको दिन बाहेक अन्य सार्वजनिक बिदाका दिनहरूमा पनि बैंकिङ सेवा सुचारु राख्न निर्देशन दिएको हो ।
निर्वाचन आयोगको अनुरोधमा केन्द्रीय बैंकले जारी गरेको सूचना अनुसार, फागुन २१ गते मुलुकभरका मतदाताले मतदान गर्ने दिन बाहेकका अन्य घोषित सार्वजनिक बिदाका दिनहरूमा निश्चित बैंकिङ सेवाहरू उपलब्ध हुनेछन् ।
सरकारले निर्वाचनका लागि फागुन २०, २१ र २२ गते तीन दिन सार्वजनिक बिदा घोषणा गरेको छ । यस्तै, फागुन १८ गते हिमाली र पहाडी ५६ जिल्लामा तथा फागुन १९ गते तराईका २१ जिल्लामा होली (फागु पूर्णिमा) को बिदा रहेको छ ।
राष्ट्र बैंकको निर्देशन अनुसार फागुन २१ गते (मतदानको दिन) बाहेकका सार्वजनिक बिदाका दिनहरूमा पनि बैंक तथा वित्तीय संस्थाहरूले निश्चित बैंकिङ सेवा प्रदान गर्नेछन् । सरकारी कारोबार गर्न तोकिएका वाणिज्य बैंकहरूले भुक्तानी व्यवस्था र राजस्व दाखिलाका कार्यहरू सुचारु राख्नुपर्ने निर्देशनमा उल्लेख छ ।
यस्तै, निर्वाचन प्रचारप्रसारका लागि बैंक खाता सञ्चालन गर्ने राजनीतिक दल तथा उम्मेदवारहरूका लागि नगद वा चेक जम्मा गर्ने तथा भुक्तानी दिने लगायतका आवश्यक बैंकिङ सेवाहरू प्रदान गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।
निर्वाचन आयोगको २०८२ फागुन १९ गतेको निर्णय बमोजिम उम्मेदवार र राजनीतिक दलहरूको आर्थिक कारोबारलाई सहज बनाउन र सरकारी राजस्व तथा भुक्तानी प्रक्रियालाई नरोक्न राष्ट्र बैंकले यो कदम चालेको जनाएको छ ।
यससँगै निर्वाचन अवधिभर उम्मेदवारहरूलाई चुनावी खर्च व्यवस्थापन र बैंकिङ कारोबारमा सहजता हुने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया