यो वर्ष चीनको आर्थिक वृद्धि कम रहने प्रक्षेपण

70
Shares

एजेन्सी । चीनको वार्षिक संसदीय बैठकले यस वर्ष अलि कम आर्थिक वृद्धिलाई स्वीकार गर्ने अपेक्षा गरिएको छ ।

यसले औद्योगिक क्षमताको अधिकतालाई नियन्त्रण गर्न र निर्यातमा आधारित अर्थतन्त्रलाई पुनः सन्तुलित बनाउनका लागि ठोस प्रयास गर्ने बाटो खोल्नेछ ।

धेरैजसो विश्लेषकहरूले मार्च ५ मा प्रस्तुत हुने प्रधानमन्त्री ली छ्याङको प्रतिवेदनमा ४.५ प्रतिशत देखि ५ प्रतिशतको बीचमा आर्थिक वृद्धिको लक्ष्य घोषणा गरिने र उपभोग तथा उच्च प्रविधि उद्योगहरूमा लगानी बढाउने प्रतिबद्धता जनाइने अपेक्षा गरेका छन् ।

चीनको १५ औं पञ्चवर्षीय योजना (२०२६–३०) सोही दिन सार्वजनिक हुनेछ जसले यी दुई विरोधाभासी लक्ष्यहरूलाई पुनः पुष्टि गर्ने अपेक्षा गरिएको छ ।

‘नीति निर्माताहरूले उपभोग बढाउन प्रयासहरू बढाउनेछन् र प्रविधिमा आधारित नयाँ उत्पादक शक्तिमा जोड दिनेछन्,’ एक नीति सल्लाहकारले भने ।

यो दोहोरो प्रतिबद्धता दशकौं पुरानो हो तर बेइजिङ उपभोक्ता क्षेत्रको तुलनामा आफ्नो विशाल औद्योगिक क्षेत्र विस्तार गर्न बढी सफल भएको छ । यसले चीनलाई एक शक्तिशाली उत्पादन शक्तिको रूपमा स्थापित गरेको छ जसले रणनीतिक आपूर्ति शृंखलामा प्रभुत्व जमाएको छ र अमेरिका तथा उसका सहयोगीहरूसँगको प्रतिस्पर्धामा चीनलाई बलियो स्थितिमा राखेको छ ।

गत वर्ष चीनको ५ प्रतिशत आर्थिक वृद्धि मुख्यतया १.२ ट्रिलियन डलरको व्यापार मुनाफाबाट प्राप्त भएको थियो जबकि आन्तरिक उपभोग कमजोर रह्यो ।

यस विकास मोडलले असुरक्षित ऋण, खेर जाने लगानी, मुद्रा संकुचनको दबाब र औद्योगिक क्षमताको अधिकता बढाएको छ । तर, अहिलेको बढ्दो भूराजनीतिक तनावको समयमा सेमिकन्डक्टर र विमान जस्ता मुख्य उद्योगहरूमा आत्मनिर्भर बन्नुपर्ने भएकाले बेइजिङलाई यो मोडल पूर्ण रूपमा त्याग्न गाह्रो छ ।

‘यी दुई एजेन्डाहरूबीच स्पष्ट रूपमा केही तनाव छ । त्यसैले नेतृत्वले कस्तो सन्तुलन कायम गर्छ भन्ने कुरा पञ्चवर्षीय योजनामा हेर्नुपर्नेछ,’ क्यापिटल इकोनोमिक्सका विश्लेषकहरूले बताए ।

लचिलो आर्थिक वृद्धिको लक्ष्यले नीति निर्माताहरूलाई केही पीडादायी संरचनात्मक सुधारहरू गर्ने ठाउँ दिनेछ । यसले औद्योगिक क्षमता नियन्त्रण गर्ने र विभिन्न क्षेत्रहरूमा चलिरहेको मूल्य युद्ध रोक्ने प्रयासलाई तीव्र बनाउन मद्दत गर्नेछ ।

चीनका करिब दुई तिहाइ प्रान्तीय सरकारहरूले आफ्ना विकासका लक्ष्यहरू घटाएपछि बेइजिङले पनि यस वर्षको लक्ष्यलाई एउटा दायरामा राख्ने अपेक्षा गरिएको हो ।

देशको सबैभन्दा ठूलो प्रान्तीय अर्थतन्त्र ग्वाङदोङले सन् २०२६ को आफ्नो लक्ष्य ४.५–५ प्रतिशत तोकेको छ जुन सन् २०२५ को करिब ५ प्रतिशतभन्दा कम हो । दोस्रो ठूलो प्रान्त जियाङ्सुले ५ प्रतिशतको लक्ष्य राखेको छ जबकि गत वर्ष यो ५ प्रतिशतभन्दा माथि थियो ।

‘यो पुष्टि भयो भने यसले नीति निर्माताहरू ऋणमा आधारित लगानीको साटो सुस्त तर अधिक दिगो वृद्धिलाई स्वीकार गर्न इच्छुक रहेको संकेत गर्नेछ,’ सोसिएटे जेनेरलकी अर्थशास्त्री मिशेल लामले भनिन् ।

मोर्गन स्टेनलीका विश्लेषकहरू भने लक्ष्य ५ प्रतिशतकै हाराहारीमा रहने अपेक्षा गर्छन् । उनीहरूका अनुसार, बेइजिङले बजारमा आत्मविश्वास जगाउन चाहन्छ र नयाँ पञ्चवर्षीय योजनाको पहिलो वर्षमै पछि हट्ने समय होइन ।

बेइजिङले बजेट घाटा कुल गार्हस्थ्य उत्पादनको ४ प्रतिशतमा राख्ने र ऋण प्रवाहका योजनाहरू गत वर्षकै जस्तै राख्ने अपेक्षा गरिएको छ ।

गत महिना अमेरिकी सर्वोच्च अदालतले सन् २०२५ मा राष्ट्रपति डोनल्ड ट्रम्पले चीन लगायतका देशमा लगाएको पारस्परिक भन्सार शुल्क खारेज गरिदिएकाले अब ठूलो आर्थिक प्रोत्साहन प्याकेजको आवश्यकता केही कम भएको छ ।

धेरैजसो नीति सल्लाहकारहरूको विचारमा चीनले सन् २०३० सम्ममा जीडीपीमा घरायसी उपभोगको हिस्सा ४० प्रतिशतबाट बढाएर ४५ प्रतिशत पुर्याउनुपर्छ ।

एआई उद्योग र मानव जस्तै देखिने रोबोटको क्षेत्रमा ठूला प्राविधिक सफलताहरू हासिल गरे तापनि समग्र अर्थतन्त्रको गति सुस्त हुँदैछ ।

सन् २०२५ मा चीनको जीडीपी वृद्धि दर केवल ४ प्रतिशत थियो जुन कोभिड महामारीको समय बाहेक सन् १९७६ यताकै सबैभन्दा सुस्त गति हो । जीडीपी डिफ्लेटर (मूल्यको व्यापक मापन) १ प्रतिशतले घटेको छ जुन लगातार तेस्रो वार्षिक गिरावट हो । यसले बजारमा अत्यधिक आपूर्ति र कमजोर मागको समस्यालाई उजागर गर्दछ ।

फुदान विश्वविद्यालयका अर्थशास्त्र संकायका डीन झाङ जुनले लेखेका छन्, ‘सापेक्षिक रूपमा उच्च वास्तविक जीडीपी वृद्धि देखिए तापनि समग्र अर्थतन्त्र सुस्त छ । यो तथ्यांक मानिसहरूको वास्तविक भोगाइसँग मेल खाँदैन ।’

केही विश्लेषकहरूका अनुसार, उत्पादन र प्रविधिको बीचमा सन्तुलन कायम गर्न औद्योगिक क्षमता विस्तारमा गरिने लगानी घटाएर प्राविधिक स्तरोन्नति र अनुसन्धानमा बढी खर्च गर्न सकिन्छ ।

‘हामी अब औद्योगिक क्षमता विस्तारमा ध्यान केन्द्रित गर्ने छैनौं, बरु अत्याधुनिक प्रविधिहरूको विकासमा बढी जोड दिइनेछ,’ चीन इन्स्टिच्युट फर ध्त्इ स्टडीजका डीन तु सिन्कुआनले भने ।