हर्मुज मार्ग संकटः कच्चा तेलको मूल्य १० प्रतिशतले वृद्धि, तेल–ग्यास ढुवानी भाडा इतिहासकै उच्च

119
Shares

काठमाडौं । इरानले हर्मुज जलडमरूमार्ग बन्द गर्ने चेतावनी दिएपछि र उक्त क्षेत्र हुँदै गुज्रिने जहाजहरूलाई लक्षित गरी कारबाही थालेको दाबी गरिएपछि विश्वव्यापी तेल तथा ग्यास ढुवानी भाडा नपत्याउने गरी बढेको छ।

ढुवानीसम्बन्धी तथ्यांक र उद्योग स्रोतका अनुसार अमेरिका–इरान द्वन्द्व चर्किँदै जाँदा मध्यपूर्व क्षेत्रमा सुपरटेङ्करहरूको भाडा दर इतिहासकै उच्च बिन्दुमा पुगेको हो।

हर्मुज जलडमरूमार्गमा बढ्दो असुरक्षाले विश्व ऊर्जा आपूर्ति श्रृंखलामा गम्भीर संकट निम्त्याएको छ। तेल र ग्यास ढुवानी दरको तीव्र वृद्धिले अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि र आपूर्ति अनिश्चितता बढाएको छ। यदि स्थिति छिट्टै सामान्य नभए ऊर्जा बजारमा अझ ठूलो उतारचढाव देखिन सक्ने विश्लेषकहरूको चेतावनी छ।

इरान र ओमानबीच अवस्थित हर्मुज जलडमरूमार्गबाट विश्वमा उपभोग हुने कच्चा तेलको करिब एक-पाँचौँ भाग तथा ठूलो मात्रामा तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) ओसारपसार हुन्छ। तर हाल अमेरिकाको आक्रमणपछि इरानले प्रतिकारस्वरूप कारबाही थालेसँगै उक्त मार्ग हुँदै हुने ढुवानी लगभग ठप्पजस्तै भएको छ।

यस अवरोध र लामो समयसम्म मार्ग बन्द हुन सक्ने त्रासका कारण अन्तर्राष्ट्रिय बजारमा तेल तथा युरोपेली प्राकृतिक ग्यासको मूल्य उकालो लागेको छ। ब्रेन्ट कच्चा तेलको वायदा मूल्य यस साता झण्डै १० प्रतिशतले बढेको छ। मध्यपूर्वका विभिन्न तेल तथा ग्यास संरचनाहरू बन्द हुन थालेपछि बजारमा आपूर्ति संकटको चिन्ता गहिरिएको हो।

सुपरट्याकर भाडा दोब्बर

दुई मिलियन ब्यारेल तेल बोकेर मध्यपूर्वबाट चीनसम्म ढुवानी गर्ने ‘भेरी लार्ज क्रुड क्यारियर’ जहाजको मापदण्ड भाडा दर, जसलाई उद्योगमा टीडी–३ भनिन्छ, वल्र्डस्केल सूचकाङ्कअनुसार सोमबार डब्ल्यू–४१९ मा पुगेको छ। लन्डन स्टक एक्सचेन्ज ग्रुप (एलएसईजी) को तथ्यांकअनुसार यो दर प्रतिदिन ४ लाख २३ हजार ७३६ अमेरिकी डलरसम्म पुगेको छ, जुन हालसम्मकै उच्च हो।

गत शुक्रबारको तुलनामा यो दर दोब्बर भएको हो। अमेरिका र इजरायलले शनिबार इरानमाथि आक्रमण गरी सर्वोच्च नेता आयतोल्लाह खामेनीको हत्या गरेको घटनापछि बजारमा तीव्र प्रतिक्रिया देखिएको छ।

आक्रमणको प्रतिकारस्वरूप इरानले खाडी क्षेत्रका देशहरूमा पनि प्रहार गरेको छ, जसका कारण तेल र ग्यास पूर्वाधारहरू सावधानीस्वरूप बन्द गरिएका छन्।

इरानी सञ्चारमाध्यमका अनुसार इरानी रिभोलुसनरी गार्ड्सका एक वरिष्ठ अधिकारीले सोमबार हर्मुज जलडमरूमार्ग बन्द गरिएको र त्यहाँबाट गुज्रिन खोज्ने कुनै पनि जहाजमाथि गोली प्रहार गरिने चेतावनी दिएका छन्।

तर अमेरिकी सेनाको केन्द्रीय कमाण्डले उक्त मार्ग बन्द नभएको दाबी गरेको छ। फक्स न्यूजको रिपोर्टअनुसार अमेरिकी पक्षले इरानको भनाइ अस्वीकार गरेको हो।

एलएनजी ढुवानी दरमा अत्याधिक उछाल

कतारले उत्पादन रोक्ने निर्णय गरेपछि एलएनजी ट्यांकरहरूको दैनिक भाडा दर सोमबार ४० प्रतिशतभन्दा बढीले बढेको छ।

एलएनजी ढुवानीको मूल्याङ्कन गर्ने संस्था स्पार्क कमोडिटिजका अनुसार एटलान्टिक मार्गमा भाडा दर प्रतिदिन ६१ हजार ५०० डलर पुगेको छ, जुन शुक्रबारको तुलनामा ४३ प्रतिशत (१८ हजार ७५० डलर) बढी हो। त्यस्तै प्रशान्त मार्गमा दर ४१ हजार डलर पुगेको छ, जुन ४५ प्रतिशत (१२ हजार ७५० डलर) को वृद्धि हो।

ऊर्जा परामर्शदाता संस्था वुड म्याकेन्जीका विश्वव्यापी एलएनजी विश्लेषक फ्रेजर कार्सनका अनुसार आपूर्ति अभावका कारण यस साता एलएनजी ढुवानी दर प्रतिदिन १ लाख डलर नाघ्न सक्ने सम्भावना छ।

उनले भने, ‘फेब्रुअरीमा खराब मौसमका कारण ढुवानीमा अवरोध सिर्जना भई थुप्रिएको कार्गो अझै व्यवस्थापन हुँदैछ। मार्चको बाँकी अवधिका लागि उपलब्ध जहाजको संख्या कमजोर छ।’

उनका अनुसार उपलब्ध जहाजहरूका लागि कडा प्रतिस्पर्धा हुनेछ र हर्मुज जलडमरूमार्ग सुरक्षित नभएसम्म ढुवानी ठप्प रहनेछ।

जहाज कम्पनीहरूको सावधानी

खाडी क्षेत्रमा काम गरिरहेका धेरै जहाज मालिकहरूले अनिश्चितकालका लागि सञ्चालन स्थगित गरेपछि वास्तविक भाडा दर मूल्याङ्कन गर्न कठिन भएको एक तेल जहाज दलालले बताएका छन्।

दक्षिण कोरियाली ढुवानी कम्पनीले मध्यपूर्व द्वन्द्वका कारण वैकल्पिक मार्ग र बन्दरगाह सुरक्षित गर्ने योजना बनाइरहेको जनाएको छ।

दक्षिण कोरियाको समुद्री मामिला मन्त्रालयले पनि मध्यपूर्वमा रहेका आफ्ना जहाज सञ्चालकहरूलाई व्यापारिक गतिविधि स्थगित गर्न निर्देशन दिएको छ। मन्त्रालयले हर्मुज हुँदै गुज्रिने जहाजमाथि आक्रमण गर्ने इरानको चेतावनीपछि थप सुरक्षा उपायबारे छलफल गर्न बैठक बोलाएको जनाएको छ।