इरान युद्धका कारण अमेरिकाले कति खर्च बेहोर्नुपर्ला ?

399
Shares

एजेन्सी । अमेरिका र इरानबीचको लामो समयदेखिको टकराव शनिबारदेखि नयाँ चरणमा प्रवेश गरेको छ । त्यो दिन अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि हवाई आक्रमण गरेका थिए । यसले खुला सैन्य शत्रुताको क्षणलाई संकेत गरेको छ ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सैन्य कारबाही चारदेखि पाँच हप्तासम्म चल्न सक्ने संकेत गरिरहँदा अलजजिराले मध्यपूर्वमा वाशिङटनले नयाँ युद्ध धान्न सक्छ कि सक्दैन र यसको अन्तिम लागत कति हुन सक्छ भन्ने कुरालाई हेरेको छ ।

अमेरिकाले इरानभित्र ठूलो लडाइँ अभियानमा भाग लिएको फेब्रुअरी २८ मा ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गरिएको आठ मिनेटको भिडियोमार्फत पुष्टि गरे । पेन्टागनले पछि यस मिसनको नाम अपरेशन एपिक फ्युरी राखिएको जनाएको थियो ।

इरानले आणविक हतियार प्राप्त नगर्ने कुरा सुनिश्चित गर्नु यसको उद्देश्य रहेको ट्रम्पले बताए । ‘हामी उनीहरूका क्षेप्यास्त्रहरू नष्ट गर्नेछौं र उनीहरूको क्षेप्यास्त्र उद्योगलाई ध्वस्त पार्नेछौं । यो पूर्ण रूपमा नामेट हुनेछ,’ उनले थपे ।

अमेरिकी सेनाले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीमा इरानका १२ सय ५० भन्दा बढी लक्ष्यहरूमा प्रहार गरेको जनाएको छ । एक छुट्टै विज्ञप्तिमा अमेरिकी सेनाको सेन्ट्रल कमान्डले ११ वटा इरानी जहाजहरूलाई प्रहार गरी नष्ट गरेको जनाएको छ ।

रिपोर्ट अनुसार, यस अपरेशनमा हवाई आक्रमण, समुद्रबाट प्रहार गरिएका क्रुज क्षेप्यास्त्रहरू र आणविक केन्द्रहरूका साथै इरानको रक्षा संयन्त्रसँग जोडिएका वरिष्ठ व्यक्तित्वहरूमाथि समन्वयात्मक आक्रमणहरू सामेल थिए ।

सन् १९८९ देखि देशको नेतृत्व गर्दै आएका इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेई तेहरानस्थित उनको निवासमा अमेरिका–इजरायलको पहिलो चरणको आक्रमणमा मारिएका छन् ।

सोमबार ट्रम्पले आवश्यक भएसम्म युद्ध जारी राख्ने वाचा गरे र यो धेरै हप्तासम्म लम्बिन सक्ने संकेत दिए । सोमबारसम्म इरानी रेड क्रिसेन्टले इरानका १३० स्थानमा ५५५ जनाको मृत्यु भएको जनाएको छ ।

ब्राउन युनिभर्सिटीको सन् २०२५ को कस्ट्स अफ वार रिपोर्ट अनुसार, ७ अक्टोबर २०२३ देखि अमेरिकाले इजरायललाई करिब २१.७ अर्ब डलर सैन्य सहायता उपलब्ध गराएको छ ।

त्यसका अतिरिक्त, अमेरिकी करदाताहरूले यमन, इरान र बृहत्तर मध्यपूर्वमा इजरायलको समर्थनमा गरिएका अमेरिकी सैन्य कारबाहीका लागि ९.६५ अर्ब देखि १२.०७ अर्ब डलर खर्च गरेका छन् । यसले द्वन्द्वसँग सम्बन्धित कुल अमेरिकी खर्चलाई ३१.३५ अर्ब देखि ३३.७७ अर्ब डलरको बीचमा पुर्याएको छ र यो अझै बढ्दो क्रममा छ ।

सेन्टकमका अनुसार, अपरेशन एपिक फ्युरीमा हवाई, समुद्री, जमिन र क्षेप्यास्त्र रक्षा बलहरूका २० भन्दा बढी हतियार प्रणालीहरू समावेश छन् ।

‘अमेरिका र इजरायलको ध्यान अहिले इरानीहरूको आक्रमण गर्ने क्षमतालाई जतिसक्दो चाँडो कमजोर पार्नमा केन्द्रित छ । तपाईं यी आक्रमणहरू रोक्न चाहनुहुन्छ वा कम्तीमा तिनलाई जतिसक्दो कम गर्न चाहनुहुन्छ,’ सेन्टकमका पूर्व सञ्चालन निर्देशक केभिन डोनेगनले अल जजिरालाई बताए ।

यो अभियान धेरै हदसम्म अमेरिकी हवाई हतियारहरूमा निर्भर छ । ती हुन्, बी–१ बमवर्षक विमानहरू, बी–२ स्टेल्थ बमवर्षकहरू जुन मुख्य आणविक र सैन्य पूर्वाधारमा प्रहार गर्न प्रयोग गरिन्छन्, एफ–३५ लाइटनिङ सेकेन्ड र एफ–२२ र्याप्टर उन्नत स्टेल्थ लडाकु विमानहरू, एफ–१५ लडाकु विमानहरू व्यापक रूपमा प्रयोग गरिएको । मार्च १ मा कुवेतमा भएको एक घटनामा तीनवटा विमान नष्ट भएका छन् ।

ती बाहेक एफ–१६ फाइटिङ फाल्कन, एफ/बी–१८ सुपर हर्नेट र ए–१० अट्याकर विमानहरू, ईए–१८जी ग्राउलर विमान छन् । ती इलेक्ट्रोनिक आक्रमण र शत्रुको हवाई रक्षा प्रणालीलाई दबाउन प्रयोग गरिन्छन् ।

हवाई प्रारम्भिक चेतावनी र नियन्त्रण विमान कमान्ड, नियन्त्रण र युद्धक्षेत्र व्यवस्थापनका लागि उपयोगी हुन्छन् ।

ड्रोन र लामो दूरीका स्ट्राइक प्रणाली पनि उपयोग भइरहेका छन् । लुकास ड्रोन, यस अपरेशनमा पहिलोपटक यी कम लागतको मानवरहित लडाकु आक्रमण प्रणाली (एकतर्फी प्रहार गर्ने ड्रोन) को उपयोग गरिएको छ जुन इरानी डिजाइनबाट उल्टो इन्जिनियरिङ गरी बनाइएको हो ।

एमक्यू–९ रिपर ड्रोनहरू निगरानी र सटीक प्रहारका लागि हुन् भने एम–१४२ हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टम जमिनबाट प्रहार गर्ने रकेट आर्टिलरी हो ।

त्यस्तै टोमाहक क्रुज क्षेप्यास्त्रहरू जलसैनिक जहाजहरूबाट प्रहार गरिन्छन् ।

त्यसबाहेक क्षेप्यास्त्र रक्षा प्रणाली पनि छन् । पेट्रियट इन्टरसेप्टर र थाड इरानी ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोनहरू रोक्न प्रयोग गरिन्छन् । काउन्टर–ड्रोन प्रणालीहरू पनि छन् ।

जलसैनिक शक्ति प्रदर्शन अन्तर्गत यूएसएस जेराल्ड आर फोर्ड र यूएसएस अब्राहम लिंकनको नेतृत्वमा दुईवटा क्यारियर स्ट्राइक ग्रुपहरू (विमानवाहक युद्धपोत समूह) छन् ।

त्यससँगै समुद्री गस्तीका लागि ए–८ पोसाइडन पनि छ ।

सी–१७ ग्लोबमास्टर, सी–१३० हर्कुलस कार्गो र ट्यांकरहरूका साथै विभिन्न हवाई इन्धन भर्ने ट्यांकरहरूले ढुवानी प्रवाह कायम राखिरहेका छन् ।

जारी सैन्य अभियानको कुल लागतको भविष्यवाणी गर्न गाह्रो छ । विज्ञहरूका अनुसार, यस नयाँ युद्धले अमेरिकालाई कति खर्च गराउन सक्छ भन्ने कुरा अहिल्यै भन्नु हतार हुनेछ ।

अनादोलु समाचार एजेन्सीका रिपोर्टहरूले अनुमान गरेअनुसार अपरेशन एपिक फ्युरीको पहिलो २४ घण्टामा अमेरिकाले करिब ७७ करोड ९० लाख डलर खर्च गरेको हुन सक्छ । आक्रमण पूर्वको सैन्य तयारी, जसमा विमानहरूको स्थानान्तरण र एक दर्जनभन्दा बढी जलसैनिक जहाजहरूको तैनाथी सामेल छ, को लागत थप ६३ करोड डलर हुने अनुमान गरिएको छ ।

सेन्टर फर न्यु अमेरिकन सेक्युरिटीका अनुसार, यूएसएस जेराल्ड आर फोर्ड जस्तो क्यारियर स्ट्राइक ग्रुप सञ्चालन गर्न प्रतिदिन करिब ६५ लाख डलर खर्च लाग्छ । उपकरणको क्षतिको लागत पनि यसमा थपिन्छ । कुवेतमा कम्तीमा तीनवटा अमेरिकी लडाकु विमानहरू खसेका छन् जसलाई अमेरिकी अधिकारीहरूले मैत्रीपूर्ण प्रहारको घटना भनेका छन् ।

तर, ठूलो चिन्ता वित्तीय स्थिरता भन्दा पनि हतियारको मौज्दात हुन सक्ने विज्ञहरूले सुझाव दिएका छन् । स्टिम्सन सेन्टरका वरिष्ठ फेलो क्रिस्टोफर प्रेबलले भने, ‘अमेरिकासँग एक ट्रिलियन डलरको रक्षा बजेट छ, त्यसैले लागतको हिसाबले यो दिगो छ । प्रश्न अमेरिकी शस्त्रागारमा भएका हतियारहरूको वास्तविक मौज्दातको बारेमा हो, विशेषगरी पेट्रियट क्षेप्यास्त्र वा एसएम–६ जस्ता इन्टरसेप्टरहरू ।

उच्च दरमा क्षेप्यास्त्रहरू रोक्ने क्रम अनिश्चितकालसम्म जारी रहन नसक्ने प्रेबलले चेतावनी दिए । ‘अहिले भइरहेको सञ्चालनको गति शायद केही हप्ताभन्दा बढी टिक्न सक्दैन,’ उनले भने ।

यस्ता केही इन्टरसेप्टरहरू युक्रेन पठाउन वा एसिया (इन्डो–प्यासिफिक) क्षेत्रका लागि छुट्टाइएको थियो त्यसैले ती क्षेत्रबाट हतियार हटाउँदा सुरक्षा चिन्ता बढ्न सक्छ ।

‘नयाँ क्षेप्यास्त्रहरूको उत्पादन तुरुन्तै हुँदैन । पेट्रियट वा एसएम–६ क्षेप्यास्त्रहरू अत्यन्तै जटिल उपकरण हुन् । यी दिनमा सयौं वा हजारौं उत्पादन हुने कुरा होइनन्,’ प्रेबलले थपे ।