
काठमाडौं । २०७९ को निर्वाचनमा नेकपा एमालेले काठमाडौंका १० मध्ये जितेको एकमात्रै निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नम्बर ९ हो ।
काठमाडौं–९ मा एमालेबाट २०७९ को निर्वाचनमा नेता कृष्णगोपाल श्रेष्ठ ११ हजार ९५६ मतसहित निर्वाचित भएका थिए ।
उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीबाट टेकबहादुर पोखरेल र नेपाली कांग्रेससहितको पाँचदलीय गठबन्धनबाट तत्कालीन नेकपा माओवादी केन्द्रकी कल्पना धमला प्रतिस्पर्धामा थिए ।
२०७९ को निर्वाचनमा पाँचदलीय गठबन्धन हुँदा नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रलाई छोडेको काठमाडौं–९ मा यसपटक अघिल्लो निर्वाचन जितेको नेकपा एमालेसहित नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कम्युनिष्ट पार्टीसहित २४ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
२०७९ मा जित हासिल गरेका कृष्णगोपाल श्रेष्ठको स्थानमा यसपटक नेकपा एमालेले अजयक्रान्ति शाक्यलाई प्रतिस्पर्धामा उतारेको छ ।
काठमाडौंका १० मध्ये ९ वटा निर्वाचन क्षेत्रमा नयाँ अनुहारलाई टिकट दिएको नेपाली कांग्रेसले महिला उम्मेदवार नानुमैया बास्तोलालाई टिकट दिएको छ भने रास्वपार्टीले उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई उम्मेदवार बनाएको छ । यस्तै नेपाली कम्युनिष्ट पार्टीबाट राधाकृष्ण महर्जन र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दिकुमार कार्की प्रतिस्पर्धामा छन् ।
२०७९ को निर्वाचनमा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी रास्वपाका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत प्राप्त गरेका थिए । यस्तै पाँचदलीय गठबन्धनबाट तत्कालीन नेकपा माओवादी केन्द्रकी कल्पना धमलाले ६ हजार ४०२ मत प्राप्त गरेकी थिइन् ।
समानुपातिकतर्फ रास्वपार्टीले सर्वाधिक ११ हजार ५०२ मत प्राप्त गर्दा एमालेले ९ हजार ४०७, कांग्रेसले ८ हजार ५ र राप्रपाले ६ हजार १२८ मत प्राप्त गरेको थियो । २०७९ को निर्वाचनमा रास्वपार्टीबाट समानुपातिक सांसद बनेका डीपी अर्याल यसपटक प्रत्यक्ष चुनाव लड्दैछन् ।
रास्वपा, कांग्रेस र एमाले नै उक्त क्षेत्रमा प्रमुख प्रतिस्पर्धीका रूपमा हेरिएका छन् । २०७९ मा काठमाडौंमा जितेको एकमात्रै निर्वाचन क्षेत्रमा आफ्नो जित पुनः दोहोर्याउने योजनामा नेकपा एमाले छ भने नेतृत्व परिवर्तन गरेर चुनावमा होमिएको कांग्रेसलाई पनि बलियो प्रतिस्पर्धी मानिएको छ ।










प्रतिक्रिया