पैसा बाँड्न लागेको आशंकामा कांग्रेस कार्यकर्ता पक्राउ, कार र साढे ४ लाख बरामद

602
Shares

विराटनगर । मोरङको रतुवामाई क्षेत्रमा निर्वाचन प्रचारमा हिँडेको गाडीबाट साढे चार लाख रुपैयाँभन्दा बढी नगद फेला परेपछि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धानपछि छाडेको छ । बरामद रकम र गाडी भने छानबिनका लागि निर्वाचन कार्यालयमा बुझाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कविद कटवालका अनुसार को.१ च ७३३८ नम्बरको कार चेकजाँच गर्दा गाडीभित्र ४ लाख ४९ हजार रुपैयाँ नगद, कांग्रेसका पम्प्लेट, ब्यानर तथा नमूना मतपत्र फेला परेको थियो । उक्त गाडीमा नेपाली कांग्रेसका कार्यकर्ता सवार थिए ।

रतुवामाईमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले गाडी रोकेर पैसा बाँड्न लागेको आशंकामा प्रहरीलाई खबर गरेका थिए।

रकमको स्रोतबारे सोध्दा चालकले आफू व्यवसायी भएको र उक्त रकम आफ्नै भएको दाबी गरेको प्रहरीको भनाइ छ। प्रहरीले गाडीसहित तीन जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेपछि छाडेको हो।

नियन्त्रणमा लिइएकामध्ये रतुवामाई–८ का ४५ वर्षीय टेकनाथ घिमिरे, रतुवामाई–९ का ६० वर्षीय खड्गबहादुर चोङवाङ लिम्बू र ४८ वर्षीय चक्र नेपाली सिजुवा रहेका छन् ।

घिमिरे कांग्रेसको भ्रातृ संगठन नेपाल किसान महासंघ कोशी प्रदेशका सचिव, लिम्बू महाधिवेशन प्रतिनिधि र नेपाली क्रियाशील सदस्य हुन्। उनीहरू रतुवामाई–७ जामवाढीबाट गएराति करिब साढे ९ बजे पक्राउ परेका थिए ।

एसपी कटवालले बरामद रकम र गाडी मोरङ क्षेत्र नम्बर २ को निर्वाचन कार्यालयमा बुझाइएको जानकारी दिए ।

मोरङ–२ मा नेपाली कांग्रेसबाट डा. मिनेन्द्र रिजाल उम्मेदवार छन्। यहाँ एमालेबाट दिलिप बगडिया, नेकपाबाट चन्द्रवीर राई तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट कृष्णकुमार कार्की प्रतिस्पर्धामा छन्।

Skip This