चितवनको सभामा लगातार हुटिङपछि बालेनले भने– बोल्नै दिँदैनन् यार !

0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले आज चितवनमा आयोजित कार्यक्रममा सम्बोधन गर्ने क्रममा समर्थकहरूको चर्को हुटिङका कारण केहीबेर भाषण अवरुद्ध भयो ।

रास्वपा सभापति रवि लामिछानेको निर्वाचन क्षेत्रमै आयोजित कार्यक्रममा उनीसँगै मञ्च साझा गरेका बालेनप्रति समर्थकहरूको उत्साह उल्लेखनीय देखियो। उनले सामान्य कुरा उठाउँदा समेत भीडले ठूलो स्वरमा हुटिङ गर्दै समर्थन जनाएको थियो ।

हुटिङ निरन्तर बढेपछि बालेन केहीबेर रोकिए। मुस्कुराउँदै उनले भीडतर्फ हेरेर भने, ‘आई लभ यू छ क्या ।’ त्यसपछि हुटिङ झनै चर्कियो। टाउको कन्याउँदै उनले हाँस्दै भने, ‘बोल्नै दिँदैनन् यार ।’

समर्थकहरूको उत्साह नथामिएपछि उनले पुनः ठट्टाकै शैलीमा भने, ‘म अब के गरूँ? गीत बजाऊँ? नाचूँ?’ केही समयपछि हुटिङ क्रमशः मत्थर भयो र त्यसपछि उनले आफ्नो सम्बोधनलाई निरन्तरता दिए ।