देउवाबिनाको डडेल्धुरामा कांग्रेसले जोगाउला शाख ?

42
Shares

काठमाडौं । ७ पटक चुनाव जितेका शेरबहादुर देउवा डडेलधुराबाट यसपटक चुनावी प्रतिस्पर्धामा छैनन् । गगन थापा लगायतले विशेष महाधिवेशनमार्फत कांग्रेस सभापतिबाट हटाएसँगै देउवाले टिकट पाएनन् भने उनी चुनावी प्रचारप्रसारमा छैनन् ।

देउवाको गृहजिल्लामा कांग्रेसबाट उनी निकट नैनसिंह महरले टिकट पाएका छन् । यसो त २०७९ को निर्वाचनमा देउवाविरूद्ध उठेका सागर ढकाल पनि गुल्मी पुगेका छन्।

२०७९ को निर्वाचनमा यस क्षेत्रबाट देउवा २५,५३४ मत प्राप्त गरी विजयी भएका थिए । स्वतन्त्र उम्मेदवार ढकालले १३,०४२ मत ल्याएका थिए । त्यहाँ नेपाली कांग्रेस (बीपी) का कर्णबहादुर मल्ल ७,५३५ मतका साथ तेस्रो स्थानमा रहेका थिए । २०७९ को निर्वाचनमा समानुपातिकतर्फ कांग्रेसले १८,५६२ मत ल्याउँदा नेकपा एमालेले ९,२१४ र नेकपा माओवादी केन्द्रले ८,७११ मत ल्याएको थियो । रास्वपाले ३ हजार ६५० मत पाएको थियो ।

२०८२ को प्रतिनिधिसभा निर्वाचनमा यहाँ नयाँ र पुराना अनुहारको प्रतिस्पर्धा देखिन्छ । कांग्रेसबाट नैनसिंह महर, एमालेबाट चक्रप्रसाद स्नेही र रास्वपाका ताराप्रसाद जाशी चुनावी मैदानमा छन् । नेकपाबाट मानसिंह माल चुनाव उठेका छन् । देउवाबिनाको चुनावी प्रतिस्पर्धी भएका कारण यो क्षेत्रलाई चासोका साथ हेरिएको छ ।

सभापतिबाट हटाइएपछि निष्क्रिय रहेका देउवाले अहिलेसम्म साथ नदिएका डडेलधुरा मात्र नभइ सुदूरपश्चिममा कांग्रेसलाई सहज नहुने कांग्रेसका स्थानीय नेताहरुको विश्लेषणबीच नतिजा कसको पक्षमा पर्छ भन्ने सहज अनुमान गर्न गाह्रो हुने उनीहरू बताउँछन् ।

यो क्षेत्रमा नेपाली कांग्रेस, रास्वपा र नेकपाबीच त्रिपक्षीय भीडन्त हुने आँकलन गरिएको छ ।