
काठमाडौं । नेकपा एमालेका तत्कालीन प्रभावशाली नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलको गृहक्षेत्र अछाम निर्वाचन क्षेत्र नम्बर १ चुनावी अंकगणित सधैँ चासोको विषय बन्छ ।
२०७९ को निर्वाचनमा यहाँको भिडन्त निकै कडा र रोचक रह्यो । एमाले टिकट नदिएको सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछाम १ मा रावलको साथ पाएर तत्कालीन नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवरले चुनाव जितेका थिए । राजनीतिक रूपमा सधैँ चर्चामा रहने गरेको अछाम १ को अंकगणितबारे चर्चा गरौं ।
२०७९ को निर्वाचनमा यहाँ ५२ प्रतिशत मतदान भएको थियो । प्रत्यक्षतर्फ कुँवर १९ हजार ५ सय ३४ मत प्राप्त गरी विजयी भएका थिए । उनले नेकपा एमालेका झपट बहादुर बोहरालाई ४ हजार ८ सय ८९ मतान्तरले पराजित गरेका थिए । बोहराले १५ हजार ४५ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार राजन कुँवर ४ हजार ३ सय ९२ मतका साथ तेस्रो स्थानमा रहेका थिए ।
२०७९ को निर्वाचनका आधारमा दलगत लोकप्रियता हेर्ने हो भने अछाम १ मा नेपाली कांग्रेस अगाडि छ । समानुपातिकतर्फ कांग्रेसले १४ हजार ५ सय भोट ल्याउँदा एमालेले १३ हजार ९ सय र माओवादी केन्द्रले ७ हजार २ सय मत ल्याएका थिए ।फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा यहाँ भीम रावल पुनः उम्मेदवार बनेका छन् । रावलका प्रतिस्पर्धीहरू कांग्रेसका भरतकुमार स्वार, एमालेका दिपक साउँद र रास्वपाका ओमप्रकाश रावल रहेका छन् ।








प्रतिक्रिया