
काठमाडौं । गत सेप्टेम्बर (भदौ २३/२४) मा नेपालमा युवाहरूको नेतृत्वमा भएको आन्दोलनमा ७७ जनाको मृत्यु भएपछि र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन बाध्य पारेपछि ३५ वर्षीय र्यापरबाट राजनीतिज्ञ बनेका एक व्यक्तिले सामाजिक सञ्जालमा आफ्ना लाखौं अनुयायीहरूलाई एउटा संक्षिप्त सन्देश पोस्ट गरे ।
‘प्रिय जेनजी तिम्रो हत्याराको राजीनामा आएको छ,’ ‘बालेन’ नामले लोकप्रिय बालेन्द्र शाहले लेखे, ‘अब तिम्रो पुस्ताले देशको नेतृत्व गर्नुपर्छ । तयार होऊ।’
सन् २०२२ मा राजधानी काठमाडौंको मेयर बनेर आफ्नो राजनीतिक यात्रा सुरु गरेका यी संगीतकार आगामी फागुन २१ मा हुने आम निर्वाचनपछि नेपालको प्रधानमन्त्री बन्ने दौडमा हावी भइरहेका छन्।
नेपालमा कुनै भरपर्दो जनमत सर्वेक्षण छैन, तर चारजना राजनीतिक विश्लेषक र स्थानीय सञ्चारमाध्यमहरूले उनलाई देशका परम्परागत राजनीतिक सम्भ्रान्त वर्गलाई पन्छाउँदै प्रधानमन्त्रीको प्रमुख रोजाइको रूपमा प्रक्षेपण गरेका छन् ।
‘बालेन शाह यति लोकप्रिय छन् कि अहिले काठमाडौं आउने बसहरूमा ‘बालेनको सहरतर्फ’ लेखिएका स्टिकरहरू टाँसिएका छन्,’ काठमाडौं विश्वविद्यालयमा संवैधानिक कानुन पढाउने विज्ञ विपिन अधिकारीले भने ।
यदि शाहले सत्ता हात पार्न सफल भएमा, यो र्याप संगीतको माध्यमबाट सार्वजनिक चर्चामा आएका र आफ्नो लोकप्रियतालाई उच्च राजनीतिक पदमा पुग्न प्रयोग गर्ने व्यक्तिको लागि एउटा नाटकीय उदय हुनेछ ।
यसले चीन र भारतको बीचमा रहेको सानो हिमाली राष्ट्र नेपालको राजनीतिलाई पनि नयाँ रूप दिन सक्छ, जहाँ लामो समयदेखि केही स्थापित दलहरूको वर्चस्व रहँदै आएको छ ।
यसमा केपी ओलीको नेकपा (एमाले) समावेश छ, जसलाई चीनतर्फ झुकाव राखेको मानिन्छ र मध्यमार्गी नेपाली कांग्रेस छ, जसलाई भारतको नजिक मानिन्छ।
बालेनको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एक मध्यमार्गी नयाँ शक्ति हो, जसले आफ्नो चुनावी घोषणापत्रमा आफ्ना विशाल छिमेकीहरूसँग ‘सन्तुलित वैदेशिक सम्बन्ध’ कायम राख्ने बताएको छ ।
‘सजिलो छैन’
शाहको देशव्यापी आकर्षण काठमाडौंको मेयरको रूपमा उनले गरेका कामहरूबाट प्रेरित छ, जहाँ उनले फोहोर व्यवस्थापन जस्ता सहरी पूर्वाधार सुधार गर्न र स्वास्थ्य सेवा जस्ता सेवाहरूको वितरण सुनिश्चित गर्नमा ध्यान केन्द्रित गरे ।
उनले सडक व्यवसायी र भूमिहीन मानिसहरूको सम्पत्ति जफत गर्न प्रहरी प्रयोग गरेको आरोपमा ह्युमन राइट्स वाच लगायतका संस्थाहरूबाट आलोचनाको पनि सामना गरेका छन् ।
आम निर्वाचन लड्न मेयर पदबाट राजीनामा दिएका शाहले रोयटर्सले इमेलमार्फत पठाएका अन्तर्वार्ताका अनुरोध र प्रश्नहरूको जवाफ दिएनन् ।
पुरानो पुस्ताका दिग्गजहरू सम्मिलित नेपालका अधिकांश राजनीतिक सम्भ्रान्त वर्गको विपरीत, शाहले मुख्यधाराको प्रेसलाई धेरै हदसम्म बेवास्ता गर्ने बानी बसालेका छन् ।
यसको सट्टा, फेसबुक जस्ता प्लेटफर्महरूमा ३५ लाखभन्दा बढी फलोअर्स भएको उनको सक्रिय सामाजिक सञ्जालको उपस्थितिले नै उनलाई युवा नेपालीसँग सिधै जोडिन सक्षम बनाउँछ ।
हालैका हप्ताहरूमा, शाहको फेसबुक फिडमा चुनावी प्रचारका क्रममा खिचिएका उनका तस्बिरहरूको एउटा संकलन समावेश छ, जसमा उनी प्रायः आफ्नो ट्रेडमार्क कालो सनग्लास र दाह्रीमा देखिन्छन्।
‘बालेनलाई के कुराले खास बनाउँछ भने उनी सामाजिक सञ्जालमा आफ्ना छोटो सन्देशहरू मार्फत युवाहरूसँग जोडिएका रहन्छन्, तर प्रधानमन्त्री बनेपछि उनका लागि यो सजिलो यात्रा हुनेछैन,’ स्वतन्त्र राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले भने ।
‘बोल्न देऊ मलाई’
आयुर्वेदिक औषधिको अभ्यास गर्ने बुबा र गृहिणी आमाको कोखबाट जन्मिएका शाहले कविताप्रति सानैदेखि झुकाव देखाएका थिए । उनका एक सहयोगीका अनुसार, टुप्याक शकुर र कर्टिस ‘५० सेन्ट’ ज्याक्सन लगायत अमेरिकी कलाकारहरूबाट प्रभावित भएर उनको त्यो झुकाव र्याप संगीतमा विकसित भएको हो ।
नेपालमा सिभिल इन्जिनियरिङमा स्नातक गरेपछि शाह स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर पढ्न दक्षिण भारत गए-त्यतिन्जेलसम्म उनी आफ्नो देशमा र्याप स्टारको रूपमा उदायिसकेका थिए।
उनका गीतहरूले प्रायः नेपालको शासक वर्गलाई प्रहार गर्थे, जसले ३ करोड जनसङ्ख्याको करिब २० प्रतिशत चरम गरिबीमा बाँच्ने देशका धेरै मानिसहरूको मन छोयो ।
सन् २०१९ मा सार्वजनिक भएको शाहको सबैभन्दा चर्चित गीतहरू मध्ये एक ‘बलिदान’ लाई युट्युबमा १ करोड २० लाखभन्दा बढीले हेरेका छन् ।
यसका शब्दहरू यस्ता छन्:
‘बोल्न देऊ मलाई श्रीमान्, यो कुनै अपराध होइन,
मन खोल्न देऊ मलाई, म दरबारको लागि श्राप होइन,
मेरो मन खराब छैन, सत्य बोल्न यो डराउँदैन।’
यी र्यापरले औपचारिक रूपमा राजनीतिमा प्रवेश गरे जब उनले काठमाडौंमा ‘परिवर्तनको समय’ भन्ने चुनावी नाराका साथ स्वतन्त्र उम्मेदवारको रूपमा मेयरको निर्वाचन लडे। उनले भारी मतान्तरले जिते।
‘धमिराले खाएको काठ’
गत डिसेम्बरमा शाह पूर्व टिभी प्रस्तोताबाट राजनीतिज्ञ बनेका रवि लामिछानेको नेतृत्वमा रहेको रास्वपामा प्रधानमन्त्रीको उम्मेदवारका रूपमा सहभागी भए।
आफ्नो घोषणापत्रमा शाहको रास्वपाले १२ लाख रोजगारी सिर्जना गर्ने र बाध्यकारी वैदेशिक रोजगारी घटाउने वाचा गरेको छ, जसको उद्देश्य बेरोजगारी र कम ज्यालाप्रति रहेको आक्रोशलाई सम्बोधन गर्नु हो जसले लाखौं नेपालीलाई कामको खोजीमा विदेशिन बाध्य बनाएको छ।
पार्टीले पाँच वर्षभित्रै नेपालको प्रतिव्यक्ति आम्दानी १,४४७ डलरबाट बढाएर ३,००० डलर पुर्याउने, देशको अर्थतन्त्रलाई दोब्बरभन्दा बढीले बढाएर १०० अर्ब डलरको जीडीपी पुर्याउने र सम्पूर्ण जनसङ्ख्याका लागि स्वास्थ्य बीमा जस्ता सुरक्षा उपायहरू उपलब्ध गराउने प्रतिबद्धता पनि जनाएको छ।
राष्ट्रिय स्तरमा, विश्लेषकहरूले भविष्यवाणी गरेका छन् कि यदि उनी निर्वाचित भएमा, शाहको सफलता धेरै हदसम्म भ्रष्टाचारले थलिएको र सुस्त प्रशासनिक संयन्त्रलाई सुधार्न उनले आफू वरिपरि राख्ने विज्ञहरूको टोलीमा निर्भर हुनेछ।
‘यसका लागि एउटा टोली, विज्ञ र सहयोग चाहिन्छ,’ आचार्यले भने, ‘विद्यमान राज्य संयन्त्र अन्तर्गत उनले प्रभावकारी काम गर्न सकेनन् भने उनी धमिराले खाएको काठ जस्तै समाप्त हुनेछन्।’
(अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्समा प्रकाशित समाचारको अनुवाद ।)








प्रतिक्रिया