एयर डाइनेस्टी हेलि सर्भिसको व्यापार १४ प्रतिशतले घट्यो, कति गर्यो कारोबार ?

112
Shares

काठमाडौं । एयर डाइनेस्टी हेलि सर्भिसको व्यापार १४ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा १४ प्रतिशतले घटेको हो ।

कम्पनीले सन् २०२४ मा ७१ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । यसले गत आवमा ६१ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा ७४ करोड रुपैयाँ, सन् २०२२ मा ३२ करोड ४० लाख रुपैयाँ र सन् २०२१ मा ६ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीको व्यापार गत आवमा घटेपनि चालु आवमा भने बढेको जनाएको छ । कम्पनीअनुसार चालु आवको ५ महिनाको अवधिमा गत आवको सोही अवधिको तुलनामा २४ प्रतिशतले यसको व्यापार बढेको उल्लेख गरेको छ । गत आवमा व्यापार घट्नुको मुख्य कारण हेलिकप्टर दुर्घटना रहेको जनाएको छ ।

कम्पनीको नाइनएन–एजेडडी एयरक्राफ्ट मुख्य सिजनमा नै दुर्घटना भएका कारण गत आवमा व्यापारमा कमी आएको हो । कम्पनीले गत आवमा १६.९५ प्रतिशत खुद नाफा कमाएको छ । साथै, कम्पनीको कुल नगद सञ्चय पनि बढेको छ ।

सन् २०२४ मा २२ करोड ८५ लाख रुपैयाँ कुल नगद सञ्चय रहेकोमा गत आवमा २३ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।

सन् २००० मा स्थापना भएको कम्पनीले निजी हेलिकप्टर सेवा दिँदै आएको छ । कम्पनीले विशेषगरी हेली साइटसिइङ, मेडिकल इभाक्यूसन, माउन्टेन रेस्क्यू, अरियल सर्भे, एरियल फोटोग्राफी, पिल्ग्रिमेज टुर र अन्य उडान सेवा दिँदै आएको छ ।

विभिन्न ५ वटा हेलिकप्टरबाट सेवा दिँदै आएको कम्पनीमा अनिल रावल र पवित्राकुमार कार्कीको २६.६४ प्रतिशत स्वामित्व छ ।
कम्पनीले २ वटा नयाँ एयरक्राफ्ट खरिदका लागि प्रक्रिया अगाडि बढाएको छ ।

कम्पनीले एयरक्राफ्टको संख्या ५ पुर्याउनका लागि ८६ करोड ९ लाख रुपैयाँ लगानीमा थप दुई वटा एयरक्राफ्ट खरिदको कार्य अगाडि बढाएको हो ।

कम्पनीले गत आवमा गरेको व्यापारमध्ये एभरेष्ट क्षेत्रबाट मात्रै ६८ प्रतिशत आम्दानी भएको उल्लेख गरेको छ । यसको अरु व्यापारमा २३ प्रतिशत अन्नपूर्ण क्षेत्रबाट भएको छ । यति ग्रुपद्धारा सञ्चालित कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ करोड ७९ लाख रुपैयाँको रेटिङ गराएको छ ।