चन्द्रगढीमा बुध्दको जहाज दुर्घटनाको प्रतिवेदन: लामो दूरीमा ढिलो टचडाउन र ब्रेकिङ

0
Shares

काठमाडौं । झापाको चन्द्रगढी विमानस्थलमा बुध्द एयरको जहाज दुर्घटनाको कारण लामो दूरीमा ढिलो टचडाउन र ब्रेकिङको कारण भएको प्रारम्भिक प्रतिवेदनले औंल्याएको छ ।

बुध्द एयरको ९एन एएमएफ कलसाइनको एटिआर ७२–५०० जहाज चन्द्रगढी विमानस्थलमा अवतरणका क्रममा रनवेबाट चिप्लिएर दुर्घटनामा परेको थियो । उक्त जहाज गत २०२६ जनवरी २ मा काठमाडौंबाट चन्द्रगढीका लागि उडेको थियो।

जहाज अवतरणका क्रममा ओभर रन भएर रनवेबाट बाहिर चिप्लिएको थियो । उक्त दुर्घटनाबाट जहाजको संरचनात्मक क्षति पुगेको भए पनि मानवीय क्षति भने भएको थिएन ।

गत पुस १८ मा दुर्घटनामा परेको उक्त जहाज बारे छानबिन गर्न पर्यटन मन्त्रालयलले समिट एयरमा कार्यरत वरिष्ठ क्याप्टेन विनोद पुरीलाई अनुसन्धानकर्ता तोकेको थियो । उनकै समितिले दिएको प्रारम्भिक प्रतिवेदन अनुसार जहाज रनवेमा अवतरण गर्दा टचडाउन बिन्दु करिब ४२० मिटर अगाडि थियो । त्यसपछि करिब ११ सय १२ मिटर भागबाट ब्रेक प्रयोग गरिएको देखिएको छ ।

पर्याप्त दूरी बाँकी नरहँदा जहाज चिप्लिँदै दायाँतर्फ र त्यसपछि बायाँतर्फ मोडिएर रनवेबाट बाहिर निस्किएको र विमानस्थलको भित्री बार भत्काउँदै करिब १८३ मिटर बाहिर गएर जहाज पुगेको पनि प्रतिवेदनले औल्याएको छ ।

उक्त उडान चालकदलका लागि दिनको पाँचौँ तथा अन्तिम उडान थियो। को–पाइलटले जहाज उडाइरहेका थिए भने क्याप्टेन पाइलट मोनिटरिङको भूमिकामा थिए। मौसम सामान्य रहेको र एटीसीबाट अवतरण अनुमति दिइसकिएको अवस्थामा पनि ढिलो टचडाउन, सीमित रनवे दूरी र ब्रेकिङ प्रभावकारी हुन नसक्दा दुर्घटना भएको प्रारम्भिक निष्कर्षमा जनाइएको छ ।

दुर्घटनामा कुनै मानवीय क्षति नभए पनि ५ जना (१ चालकदल सदस्य र ४ यात्रु) सामान्य घाइते भएका थिए। जहाजका मुख्य र अगाडिका ल्यान्डिङ गियर, इन्जिन र प्रोपेलरमा गम्भीर क्षति पुगेको छ।

अनुसन्धान टोलीले फ्लाइट डाटा रेकर्डर, ककपिट भ्वाइस रेकर्डर, एटीसी रेकर्डको विश्लेषण गरिसकेको र चालकदल, एटीसी तथा उद्धारकर्मीहरूसँग प्रारम्भिक अन्तर्वार्ता गरेको थियो । अन्तिम प्रतिवेदन थप अध्ययनपछि सार्वजनिक गरिने पनि उल्लेख छ ।