वैदेशिक व्यापारमा भारत र चीनपछि अब अर्जेन्टिना, ८ देशबाट वस्तु आयात र ३० देशमा निर्यात नै हुँदैन

0
Shares

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ७ महिनामा नेपालबाट विश्वका ३० देशमा कुनै पनि वस्तु निर्यात नभएको पाइएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालको वैदेशिक व्यापारको सबैभन्दा ठूलो हिस्सा भारत र चीनले ओगेट्दा ती देशबाट शुन्य व्यापार भएको देखिन्छ ।

चालू आर्थिक वर्ष २०८२/८३ को सात महिना (साउन–माघ)मा नेपालको कुल वैदेशिक व्यापार १२ खर्ब ९१ अर्ब ६३ करोड रुपैयाँ पुग्दा व्यापार घाटा नै ९ खर्ब ५५ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । यसको अर्थ नेपालले हरेक १०० रुपैयाँको व्यापार गर्दा करिब ७४ रुपैयाँ घाटा बेहोरिरहेको छ ।

नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा छिमेकी दुई मुलुक भारत र चीनले ओगटेका छन् ।

कुल आयातको ५६ प्रतिशत हिस्सा भारतबाटै आउने गरेको छ । सात महिनामा भारतबाट ६ खर्ब २९ अर्ब २९ करोडको सामान आयात हुँदा नेपालले १ खर्ब ३७ अर्ब ५१ करोडको मात्र निर्यात गर्न सकेको छ । भारतसँगको व्यापार घाटा ४ खर्ब ९१ अर्ब ७७ करोड छ ।

चीनबाट नेपालले २ खर्ब ३५ अर्ब ३८ करोडको वस्तु ल्याएको छ, तर निर्यात भने १ अर्ब पनि पुग्न सकेको छैन । चीनतर्फ मात्रै ९० करोड १ लाखको निर्यात हुँदा व्यापार घाटा २ खर्ब ३४ अर्ब ४८ करोड पुगेको छ ।

तेस्रो धेरै आयात अर्जेन्टिनाबाट हुने गरेको छ । अर्जेन्टिनाबाट ६६ अर्ब १२ करोडको वस्तु आयात हुँदा यूएईबाट ४१ अर्ब, अमेरिकाबाट १७ अर्ब ४४ करोड, इन्डोनेसियाबाट १२ अर्ब ८३ करोड र थाइल्यान्डबाट १० अर्ब ८९ करोडको आयात भएको छ ।

यता सबैभन्दा बढी निर्यात भारतमा हुँदा अमेरिकामा ११ अर्ब २७ करोड, जर्मनीमा २ अर्ब ८९ करोड, बेलायतमा१ अर्ब ७९ करोड, जापानमा १ अर्ब ३२ करोड, फ्रान्समा १ अर्ब ३१ करोड, यूएईमा १ अर्ब २२ करोड र अस्ट्रेलियामा १ अर्ब १७ करोड रुपैयाँको वस्तु निर्यात भएको छ ।

रोचक तथ्य त के छ भने भारत र चीनपछि नेपालको सबैभन्दा बढी व्यापार घाटा अर्जेन्टिनासँग छ । देशले चौथो बढी व्यापार घाटा यूएईसँग बेहोरेको छ । यूएईसँगको व्यापार घाटा ३९ अर्ब ७७ करोड रुपैयाँ रहेको छ । अर्जेन्टिनाबाट मुख्यतया खाने तेलको कच्चा पदार्थ आयात हुने गर्दछ ।

भन्सार विभागका अनुसार विश्वमा केही यस्ता देशहरू छन् जहाँ नेपालको व्यापार पूर्ण रूपमा एकतर्फी छ । नेपालमा आयात मात्र हुने देशहरू ३० वटा र निर्यातमात्र हुने देशहरु ८ वटा छन् ।

सोमालिया, एंगोला, पानामा, सिरिया, बार्बाडोस, बहामास, केम्यान आइल्यान्ड र फिजीबाट नेपालमा एक रुपैयाँको पनि आयात भएको छैन ।

यसैगरी ३० वटा यस्ता मुलुक छन्, जहाँबाट नेपालले सामान आयात मात्र गर्छ, तर एक रुपैयाँको पनि निर्यात गर्दैन । ती देशहरु नाउरु, निकारागुआ, होन्डुरस, सर्बिया, टोकेलाउ, सेन्ट्रल अफ्रिकन रिपब्लिक, अजरबैजान, केप भर्डे, यमन, सेनेगल, ट्रिनिडाड एन्ड टोबागो, नामिबिया, तुर्कमेनिस्तान, एल साल्भाडोर, ट्युनिसिया, क्यामरुन, लिक्स्टेन्टाइन, बेनिन, गिनी, स्वाजिल्यान्ड, माजाम्बिक, बेलारुस, जिम्बाब्वे, माडागास्कार, आइभेरी कोस्ट, सुडान, डोमिनिक रिपब्लिक, रवान्डा र माल्दोभा रहेको छन् ।

अर्जेन्टिनासँगै युक्रेनसँग पनि नेपालको ठूलो व्यापार घाटा छ । अर्जेन्टिनासँग ६६ अर्ब र युक्रेनसँग ५ अर्ब ७६ करोडको आयात हुँदा ती देशमा नेपालको निर्यात भने क्रमशः २६ लाख र २८ लाख मात्रै छ ।

३० वटा देशहरुसँग भने नेपालको व्यापार बचत छ । धेरै व्यापार बचत भएका देशहरु डेनमार्क, रोमानिया, नर्वे, आइसल्याण्ड, नाइजर, सेसेल्स, जमैका, अफगानिस्तान लगायत देश छन् ।