चार लाखले अन्तर्राष्ट्रिय उडान गर्दा देशैभित्रै यात्रा गर्ने हवाई यात्रु ३ लाख

अन्तर्राष्ट्रियमा वायुसेवा निगम र आन्तरिकमा बुध्दको वर्चश्व

0
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकै महिनामा ४ लाख ३१ हजार यात्रुले अन्तर्राष्ट्रिय उडान गरेका छन । यो अवधिमा देशभित्रै यात्रा गर्ने आन्तरिक हवाई यात्रुको संख्या भने ३ लाख १८ हजार रहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले बुधबार सार्वजनिक गरेको सन् २०२६ को जनावरीको तथ्यांक अनुुसार नेपालबाट २ लाख १० हजार यात्रु विदेश यात्रामा जाँदा विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यबाट नेपाल आउने यात्रुको संख्या भने २ लाख १९ हजार रहेको देखिएको छ ।

तथ्यांक अनुसार नेपालमा उडान गर्ने विभिन्न २९ वटा अन्तर्राष्ट्रिय उडानका वायुसेवाले २ हजार ९४९ उडानबाट सवा ४ लाखभन्दा बढी यात्रुलाई सेवा दिएका छन । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवामा नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र बुध्द एयर नेपाली वायुसेवा हुन ।

यी वायुसेवामध्ये नेपाल एयरलाइन्सले जनावरीमा ३ सय वटा उडानमार्फत ५४ हजार ३५८ यात्रुलाई सेवा दिएको छ । निगमले काठमाडौंबाट २७ हजार ३७८ यात्रुलाई विदेश लैजाना नेपालमा २७ हजार १६ यात्रुलाई भित्र्याएको छ ।

नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने अर्को वायुसेवा हिमालय एयरलाइन्सले पनि गत जनावरीमा २७० वटा उडानबाट ३५ हजार ५४ यात्रुलाई सेवा दिएको छ । हिमालयले १६ हजार ८३८ यात्रुलाई नेपालबाट बाहिर लगेको छ भने १६ हजार ९१८ यात्रुलाई स्वदेश भित्र्याएको छ ।

आन्तरिक उडामा वर्चश्य कमाएको बुध्द एयरले पनि भारतका दुईवटा गन्तव्यमा अन्तर्राष्ट्रिय उडानको रुपमा सेवा दिइरहेको छ । बुध्दले जनावरीमा ६२ उडान गरेर २८ सय ३४ यात्रुलाई सेवा दिएको छ । यस्तो यात्रु सेवामा बुध्दले काठमाडौंबाट १ हजार ४८६ यात्रुलाई बाहिर लैजादा १ हजार ३४८ यात्रुलाई नेपाल भित्र्याएको छ ।

नेपालबाट हुने अन्तर्राष्ट्रिय उडानको वर्चश्व विदेशी वायुसेवाको छ । नेपाली वायुसेवाले मुश्किलले करिक ९३ हजार यात्रुलाई एक महिनामा सेवा दिँदा ३ लाख ४० हजार भन्दा बढी यात्रुलाई सेवा विदेशी वायुसेवाले दिएको पनि तथ्यांकले देखाएको छ ।

तथ्यांक अनुसार आन्तरिक उडानमा ३ लाख १८ हजार यात्रुले सन् २०२६ को जनावरीमा उडान गरेको भएपनि सबैभन्दा बढीलाई सेवा दिनेमा बुध्द एयर नै रहेको छ । बुध्दले ३ हजार १६० उडानमार्फत उक्त महिनामा १ लाख ७५ हजार ६१५ यात्रुलाई सेवा दिएको छ । यस्तो सेवामा बुध्दले त्रिभुवन विमानस्थलबाट ८९ हजार ९३५ यात्रुलाई विभिन्न आन्तरिक गन्तव्यमा पुर्याएको छ भने बाहिरबाट काठमााडौंमा ८५ हजार २६२ यात्रुलाई भित्र्याएको छ ।