
एजेन्सी । सोमबारबाट सुरु भएको भारतको एआई इम्प्याक्ट समिटलाई विश्वव्यापी नेता र प्रविधि क्षेत्रका कार्यकारीहरूको ऐतिहासिक भेलाको रूपमा प्रचार गरिएको छ ।
महामेलाको उद्घाटनकै दिन व्यवस्थापकीय अस्तव्यस्तता देखिएको बीबीसीले समाचार लेखेको छ ।
सहभागीहरूले कार्यक्रम स्थलमा लामो लाइन, अत्यधिक भीड र अलमल भएको भन्दै घण्टौंसम्म पर्खनुपरेको गुनासो गरे ।
केहीले खाना र पानीको पहुँच सीमित भएको बताए भने कसैले आफ्नो स्टलबाट उत्पादनहरू चोरी भएको समेत जानकारी दिए ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको यो पाँच दिने सम्मेलनलाई ग्लोबल साउथमा आयोजना गरिएको पहिलो ठूलो अन्तर्राष्ट्रिय एआई बैठकका रूपमा प्रवर्धन गरिएको छ ।
यसमा १०० भन्दा बढी देशहरू सहभागी छन् र ओपनएआईका साम अल्टम्यान र अल्फाबेट इंकका सुन्दर पिचाई जस्ता प्रविधि क्षेत्रका दिग्गजहरू सहभागी हुने अपेक्षा गरिएको छ ।
उद्घाटन समारोहमा बोल्दै मोदीले यस सम्मेलनले एआई, भारतीय प्रतिभा र नवप्रवर्तनको असाधारण क्षमता प्रदर्शन गरेको बताए । भारतले भारतका लागि मात्र नभई विश्वका लागि समाधानहरू तयार गर्ने लक्ष्य राखेको पनि उनले थपे ।
सम्मेलनले एआईका फाइदा र हानी दुवैलाई हेर्ने उद्देश्य राखेको भारतका सूचना प्रविधि मन्त्री अश्विनी वैष्णवले बताए ।
आगामी केही दिनहरूमा ‘हामी मूलतः मानव समाजमा एआईको प्रभाव कस्तो हुनेछ भन्ने कुरा हेर्दैछौं र मापन गर्दैछौं,’ उनले भने ।
तर, उद्घाटनकै दिन सम्मेलन स्थल भारत मण्डपममा फितलो भीड व्यवस्थापनका कारण खिन्नता छायो । सोमबार दिउँसोसम्म सामाजिक सञ्जालमा संस्थापकहरू, प्रदर्शकहरू र प्रतिनिधिहरूका गुनासाहरूको बाढी नै आयो । सुरक्षा जाँच र अन्तिम समयमा गेट बन्द गरिँदा आफूहरू प्रदर्शनी हल बाहिर अलपत्र परेको उनीहरूले बताए ।
भ्वाइस एआई स्टार्टअप बोल्नाका सह–संस्थापक मैत्रय वाघले सामाजिक सञ्जाल एक्समा गेट बन्द भएपछि आफ्नो कम्पनीको बुथसम्म पुग्न नसकेको लेखेका छन् । टेक प्लेटफर्म रिस्किलका संस्थापक पुनित जैनले बिहान ७ बजेदेखिको लाइन, घण्टौंको प्रतीक्षा र प्रधानमन्त्रीको आगमन अघि पूर्ण रूपमा खाली गराइएको अवस्थाको वर्णन गरे ।
रोयटर्सका अनुसार, केही वक्ताहरू अझै पनि आफ्नो सत्रको समय तालिकाको स्वीकृतिको प्रतीक्षामा थिए जसले व्यवस्थापनमा कमजोरीको चिन्तालाई थप बढायो ।
वेयरेबल एआई स्टार्टअप नियोसेपियन्सका संस्थापक धनञ्जय यादवले आफ्नो कम्पनीको स्टलबाट उत्पादनहरू चोरी भएको आरोप लगाएका छन् । एक्समा लेख्दै उनले कम्पनीले यात्रा, आवास र प्रदर्शनी स्थलका लागि ठूलो रकम खर्च गरेको तर उच्च सुरक्षा क्षेत्रभित्रै हाम्रा उपकरणहरू हराएको देख्नुपर्यो भनी दुखेसो पोखे ।
धेरै सहभागीहरूले कार्यक्रम स्थलभित्रका खानाका स्टलहरूमा भुक्तानी व्यवस्थाको बारेमा पनि गुनासो गरे । खानाका काउन्टरहरूले डिजिटल भुक्तानी नलिई नगद मात्र स्वीकार गरिरहेकाले विशेषगरी अन्तर्राष्ट्रिय आगन्तुकहरूलाई थप असुविधा भएको उनीहरूको भनाइ थियो ।
स्वास्थ्य क्षेत्रमा केन्द्रित लिभो एआईका संस्थापक सौम्य शर्माले धेरै छलफलहरू गोप्य रूपमा बन्द कोठाभित्र आयोजना गरिएको र अत्यधिक भीडका कारण सुरक्षाकर्मीले सत्रहरू नै बन्द गराउँदा धेरै प्रतिनिधिहरूले भाग लिन नपाएको बताए ।
यस्ता बन्द र अवरोधहरूले भारतको एआई इकोसिस्टमलाई विश्वव्यापी दर्शकमाझ प्रदर्शन गर्ने सम्मेलनको महत्त्वाकांक्षालाई कमजोर पारेको उनले संकेत गरे ।
उनले केही उत्कृष्ट सत्रहरूमा भाग लिएको बताए पनि व्यवस्थापकीय त्रुटिहरूले कार्यक्रमको मुख्य सारलाई ओझेलमा पार्ने जोखिम रहेको थपे । ‘जबसम्म हामीले आधारभूत कुराहरू सही गर्दैनौं, हामीले एआईको पूर्ण उपयोग गरिरहेका छौं भनेर दाबी गर्न मिल्दैन,’ उनले एक्समा लेखे, ‘एआई प्रणालीको एउटा हिस्सा मात्र हो । हामीले पहिले आधारभूत धरातलीय समस्याहरू समाधान गर्नुपर्छ ।’
आयोजक र सरकारले यी गुनासाहरूको बारेमा अहिलेसम्म सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएका छैनन् । बीबीसीले यस विषयमा प्रतिक्रियाका लागि इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयसँग सम्पर्क गरेको छ ।








प्रतिक्रिया