बंगलादेश चुनाव: १७ महिना जेल र १८ वर्ष निर्वासनमा बिताएका रहमान प्रधानमन्त्री बन्ने

742
Shares

एजेन्सी । तारिक रहमानले पहिलो पटक संसदीय चुनावमा बंगलादेशको प्रमुख राजनीतिक दल बांग्लादेश नेशनलिस्ट पार्टी (बीएनपी) को नेतृत्व गरेका छन् । साथै उनले आफैंले पनि पहिलो पटक यस चुनावमा सहभागिता जनाएका छन् ।

तारिकको नेतृत्वमा बीएनपी ऐतिहासिक जिततर्फ उन्मुख देखिएको छ । यस जितपछि तारिक रहमान बंगलादेशका नयाँ प्रधानमन्त्री बन्न सक्ने सम्भावना देखिएको छ।

यद्यपि बीएनपी जिततर्फ अघि बढिरहेको भए पनि आवामी लीग लाई चुनावमा सहभागी हुन दिइएको थिएन ।

चुनाव हुनुभन्दा केही महिना अघि आफ्नी आमा खालिदा जियाको निधन भएपछि तारिकले पार्टीको नेतृत्व सम्हालेका थिए।

पार्टीका संगठनात्मक कार्यक्रम र सम्पूर्ण चुनावी अभियान उनकै निगरानीमा सञ्चालन भएको थियो । तारिकका समर्थकहरूले उनलाई नै बंगलादेशको सम्भावित प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरिरहेका छन् ।

बीएनपीले पनि तारिकलाई पार्टीको एकमात्र नेताका रूपमा अघि सारेको छ । तर राजनीतिक विरोधीहरूले विगतमा रहमानमाथि लागेको भ्रष्टाचारको आरोप र उनको शैक्षिक योग्यतामाथि प्रश्न उठाइरहेका छन् ।

तर रहमान र उनको पार्टी बीएनपीले सबै भ्रष्टाचारका आरोप अस्वीकार गर्दै यसलाई अघिल्लो आवामी लीग सरकारको दुष्प्रचार बताएका छन् ।

रहमानले करिब १७ वर्षसम्म लन्डनमा राजनीतिक शरण लिएका थिए।

पूर्वराष्ट्रपति जियाउर रहमानले बीएनपीको स्थापना गरेका थिए र यसको नेतृत्व पूर्व प्रधानमन्त्री खालिदा जियाले सफलतापूर्वक सम्हालेकी थिइन् ।

खालिदा जियाले पार्टीको नेतृत्व सम्हालेको छोटो समयमै सत्तामा पुर्‍याएकी थिइन् । अहिले सम्पूर्ण जिम्मेवारी तारिक रहमानका काँधमा आएको छ ।

आवामी लीगको शासनकालमा पनि तारिक रहमान पार्टीलाई एकजुट राख्न सफल भएका थिए ।

आवामी लीगमाथि प्रतिबन्ध लागेपछि बीएनपीको पूर्व सहयोगी जमात-ए-इस्लामी नै उसको प्रमुख प्रतिद्वन्द्वीका रूपमा उभिएको छ।

सन् २००७ मा सेनाको समर्थन प्राप्त कार्यवाहक सरकारको कार्यकालमा तारिक रहमानलाई भ्रष्टाचारको आरोपमा गिरफ्तार गरिएको थियो । करिब १८ महिना जेल जीवन बिताएपछि सेप्टेम्बर २००८ मा रिहा भई उनी परिवारसहित लन्डन गएका थिए ।

तारिक गत वर्ष डिसेम्बरमा करिब १७ वर्षपछि ढाका फर्किएका थिए।

खालिदा जियाको स्वास्थ्य अवस्था थप बिग्रिएपछि २६ डिसेम्बरमा तारिक ढाका फर्किएका थिए । १८ महिना जेल र १७ वर्ष लन्डन बसाइपछि यसैमार्फत उनको बंगलादेशी राजनीतिमा पुनरागमन भएको हो ।

त्यसको केही दिनपछि ३० डिसेम्बरमा खालिदा जियाको निधन भयो। त्यसको १० दिनपछि यस वर्ष ९ जनवरीमा बीएनपीको राष्ट्रिय स्थायी समितिले औपचारिक रूपमा तारिकलाई पार्टी अध्यक्ष चयन गर्‍यो।

सन् २०१८ मा भ्रष्टाचार मुद्दामा सजाय पाएपछि खालिदा जिया कारबाहीमा परेकी थिइन् । त्यसपछि तारिक लन्डनमै रहेर कार्यवाहक अध्यक्षका रूपमा जिम्मेवारी निभाइरहेका थिए।

त्यसअघि सन् २००२ मा उनलाई पार्टीको वरिष्ठ संयुक्त महासचिव नियुक्त गरिएको थियो। सन् २००९ मा बीएनपीको पाँचौं राष्ट्रिय महाधिवेशनमा उनलाई वरिष्ठ उपाध्यक्ष बनाइएको थियो।

तारिक रहमानको व्यक्तित्व

बंगलादेशका पहिलो सैन्य शासक तथा पूर्व राष्ट्रपति जियाउर रहमान र पूर्व प्रधानमन्त्री खालिदा जियाका जेठा छोरा तारिकको जन्म २० नोभेम्बर १९६५ मा भएको थियो।

बीएनपीको वेबसाइटमा यही जन्ममिति उल्लेख छ। तर चुनावी पत्रमा जन्ममिति उस्तै भए पनि जन्म वर्ष १९६८ उल्लेख गरिएको छ।

वेबसाइटअनुसार ढाकास्थित बीएएफ शाहीन कलेजमा प्रारम्भिक शिक्षा लिएपछि उनले ढाका विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा भर्ना लिएका थिए। तर अध्ययन पूरा गरे/नगरेको स्पष्ट जानकारी छैन।

तर चुनाव आयोगलाई दिएको पत्रमा उनले आफ्नो शैक्षिक योग्यता उच्च माध्यमिक (कक्षा १२) मात्र उल्लेख गरेका छन्।

बीएनपीका अनुसार मुक्ति युद्धका क्रममा अन्य सैनिक अधिकारीका परिवारसँगै जियाउर रहमानको परिवार पनि बन्दी बनाइएको थियो। तारिक र उनका भाइ अराफात रहमान (स्वर्गीय) पनि बन्दी थिए।

पार्टी वेबसाइटका अनुसार उनले सैन्य शासक हुसैन मोहम्मद इरशादविरुद्धको आन्दोलनमा सहभागिता जनाएका थिए र सन् १९८८ मा बगुडा जिल्लाको गावतली उपजिल्ला इकाइमार्फत औपचारिक रूपमा पार्टीमा प्रवेश गरेका थिए।

तर केही नेताहरूका अनुसार उनको सक्रिय राजनीतिक यात्रा सन् १९९१ को संसदीय चुनावबाट सुरु भएको थियो, जहाँ पाँच निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएकी खालिदा जियाको चुनावी व्यवस्थापनको जिम्मेवारी तारिकसँग थियो।

सन् २००१ को चुनावपछि भने पार्टीभित्र उनको प्रभाव बढ्दै गयो। त्यतिबेला बीएनपी नेतृत्वको चार दलीय गठबन्धनले दुई-तिहाइ बहुमत प्राप्त गरेको थियो।

त्यही कार्यकालमा ‘हावा भवन’ प्रकरणले ठूलो विवाद जन्मायो। विश्लेषकहरूका अनुसार २००१ को चुनावअघि र पछि हावा भवनलाई चुनावी रणनीति र समानान्तर शक्ति केन्द्रका रूपमा प्रयोग गरिएको थियो।

विपक्षी नेता शेख हसीना माथि सन् २००४ मा भएको ग्रेनेड आक्रमणमा आवामी लीगले तारिक र हावा भवनलाई दोषी ठहर गरेको थियो। पछि उनलाई यस मुद्दामा आजीवन कारावास सजाय सुनाइएको थियो।

तर आवामी लीग सरकार पतन भएपछि ती मुद्दाबाट उनलाई राहत मिलेको छ।

उनको चुनावी हलफनामामा ७७ वटा मुद्दा उल्लेख छन्। अन्तरिम सरकारको अवधिमा तीमध्ये अधिकांशमा उनी रिहा भएका छन्।

सन् २००७ मा सेनाको समर्थन प्राप्त कार्यवाहक सरकारले सत्ता सम्हालेपछि उनलाई गिरफ्तार गरिएको थियो। उनलाई बुलेटप्रूफ ज्याकेट र हेल्मेट लगाएर अदालतमा उपस्थित गराइएको थियो।

उनले गिरफ्तारीपछि आफूलाई यातना दिइएको आरोप लगाएका छन्। केही विश्लेषकहरूले पनि अनुसन्धानका क्रममा उनलाई यातना दिइएको दाबी गरेका छन्।

११ सेप्टेम्बर २००८ मा उनी लन्डन गएका थिए। त्यसबेला भविष्यमा राजनीति नगर्ने सम्बन्धी प्रतिज्ञापत्र दिएको चर्चा चलेको थियो।

सन् २०१२ मा उनले बेलायतमा राजनीतिक शरणका लागि आवेदन दिएका थिए, जुन स्वीकृत भएको थियो।

बंगलादेश फिर्ता

सन् २००७ पछि शेख हसीना र खालिदा जियासहित अन्य नेताहरू पनि पक्राउ परेका थिए।

अराफात रहमान उपचारका लागि विदेश गएका थिए र सन् २०१५ मा मलेसियामा उनको निधन भयो।

विश्लेषकहरूका अनुसार प्रतिकूल अवस्थामासमेत तारिक रहमानले पार्टीलाई एकजुट राख्न सफल भएका छन्। अब भने उनलाई जनताको प्रत्यक्ष परीक्षणको सामना गर्नुपर्नेछ।