
काठमाडौं । सस्तो ब्याज हुँदा पनि बैंकहरूमा ऋणको माग नआउँदा बैंकहरूमा दबाब पर्दै गएको छ । केही बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) घटेर ६० प्रतिशतसम्म झरेको छ ।
पछिल्लो ३ आर्थिक वर्षदेखि अर्थतन्त्रमा सुस्तता छाएको छ । बैंकहरूमा कर्जाको माग बढ्न नसक्दा अधिक तरलताको चाप पर्दै गएको छ भने ब्याजदर निरन्तर घटिरहेको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कर्जाको ब्याजदर अहिलेसम्मकै न्यून बिन्दुमा झरेको छ । तर, पनि कर्जाको माग बढ्न सकेको छैन । गएका ३ आर्थिक वर्ष र चालु आर्थिक वर्षको पुससम्म पनि मौद्रिक नीतिको लक्ष्यभन्दा कर्जा विस्तार धेरै न्यून देखिएको छ । जसका कारण कर्जाको तुलनामा निक्षेपको वृद्धि लगातार उच्च हुँदा बैंकहरू अधिक तरलताको चापमा परेका छन् ।
पर्याप्त विदेशी विनिमय सञ्चिति, सन्तुलित बाह्य क्षेत्र र मुद्रास्फीति समेत नियन्त्रित हुँदा पनि कर्जाको माग भने बढ्न सकिरहेको छैन । जसले गर्दा बैंकहरूमा (लगानीयोग्य रकम) अधिक तरलता भए पनि कर्जाको ब्याजदर इतिहासकै न्यून बिन्दुमा झरेको छ । अहिले बैंकहरूमा करिब ९ खर्ब तरलता छ भने कुल कर्जा प्रवाह ५७ खर्ब ८३ अर्ब रुपैयाँ छ ।
२०७९ को माघ र फागुनमा कर्जाको भारित औसत ब्याजदर १३.०३ प्रतिशतसम्म पुगेको थियो । २०८२ पुस मसान्तमा कर्जाको भारित औसत ब्याजदर घटेर ७.१२ प्रतिशतमा झरेको छ ।
ब्याजदर अहिलेसम्मकै न्यून बिन्दुमा झरे पनि कर्जा भने बढ्न नसक्दा बैंकहरूलाई तनाव थपिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा निजी क्षेत्रमा प्रवाह हुने कर्जा १२ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको थियो ।
आर्थिक वर्षको ६ महिना अर्थात् पुस मसान्त सकिँदासम्म कर्जा ३.६ प्रतिशतले मात्रै बढेको छ । यही अनुपातमा कर्जा बढे पनि चालु आर्थिक वर्षमा करिब ७ प्रतिशतले मात्रै कर्जा विस्तार हुने देखिन्छ । पछिल्लो ३ आर्थिक वर्षमध्ये गत आर्थिक वर्षमा कर्जा विस्तारमा केही सुधार देखिएको थियो । गत आर्थिक वर्ष २०८१/८२ मा कर्जा ८.४ प्रतिशतले बढेको थियो ।
आर्थिक वर्ष २०७९/८० देखि नै कर्जा विस्तार सुस्त देखिएको थियो । आर्थिक वर्ष २०७९/८० मा ३.८ प्रतिशतले मात्रै बढेको थियो भने आर्थिक वर्ष २०८०/८१ मा ५.८ प्रतिशतले बढेको थियो । गत आर्थिक वर्षको कर्जा प्रवाहसँगै आर्थिक गतिविधिमा पनि सुधार देखिँदै गएको थियो । तर, भदौ २३ र २४ गतेको ‘जेन–जी’ आन्दोलनपछि निजी क्षेत्रमा भएको आक्रमणले लगानीकर्ताको मनोबल कमजोर हुँदा अहिलेसम्मकै न्यून ब्याजदर हुँदा पनि कर्जाको माग भने बढ्न सकेको छैन ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिमा निजी क्षेत्रको कर्जा १२ प्रतिशतले विस्तार गर्ने लक्ष्य भए पनि पुससम्म एक तिहाइले पनि बढ्न सकेको छैन । ब्याजदर एकल अङ्क अर्थात् ७ प्रतिशतको नजिक आएको छ र अझै घट्दो क्रममा छ ।
बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदा पनि कर्जाको माग बढ्न सकेको छैन । हालै मात्र क्लिकमान्डुले सार्वजनिक गरेको ‘जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण’ सम्बन्धी एक सर्वेक्षण रिपोर्टले पनि बहुसंख्यक लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा रहेको देखाएको छ ।
ब्याजदर अहिलेसम्मकै न्यून र बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदा पनि लगानीकर्ताको मनोबल कमजोर भएको कारण लगानी बढ्न नसकेको देखिएको छ ।
सर्वेक्षणमा सहभागी भएकामध्ये ७० प्रतिशत लगानीकर्ताले ‘पर्ख र हेर’को अवस्थामा रहेको प्रतिक्रिया दिँदा ८ प्रतिशत लगानीकर्ताले भने कुनै पनि हालमा लगानी नबढाउने प्रतिक्रिया दिएका छन् । त्यस्तै २२ प्रतिशत लगानीकर्ताले भने थप लगानी गर्ने प्रतिक्रिया दिएका छन् ।
लगानीकर्तामा भय र त्रासको अवस्था रहेको र सुरक्षाको सुनिश्चितता नदेखिँदा पनि लगानी बढ्न नसकेको यसले देखाउँछ । कोभिडपछिको समयमा कर्जाको भारित औसत ब्याजदर ८.४३ प्रतिशतसम्म झरेको थियो । उक्त समयमा वार्षिक कर्जा वृद्धिदर २७ प्रतिशत पुगेको थियो ।
तर अहिले तरलता सहज र ब्याजदर अहिलेसम्मकै न्यून हुँदा पनि कर्जाको माग भने बढ्न सकेको छैन । २०७८ असार मसान्तमा ८.४३ प्रतिशतसम्म झरेको कर्जाको भारित औसत ब्याजदर २०७९ माघ र फागुनमा १३.०३ प्रतिशतसम्म पुगेको थियो । त्यसपछि क्रमशः घट्दै गएको कर्जाको ब्याजदर २०८१ असार मसान्तमा ९.९३ प्रतिशत र २०८२ असार मसान्तमा आउँदा ७.८५ प्रतिशतमा झरेको थियो ।
२०८२ पुस मसान्तमा आउँदा यो ७.१२ प्रतिशतमा झरेको छ । अधिक तरलता भएर बैंकहरूले लागत घटाउन लगातार निक्षेपको ब्याजदर घटाइरहेका छन् । २०८१ असार मसान्तमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ५.७७ प्रतिशत रहेकोमा २०८२ असार मसान्तमा ४.१९ प्रतिशत र पुस मसान्तमा आउँदा ३.५६ प्रतिशतमा झरेको छ ।








प्रतिक्रिया