उद्योग संगठन मोरङ ५८ औं वर्षमा प्रवेश

सीआईएम एक्स्पीरीयन्स र भर्चुअल बिटुबि प्लेटफर्म विराटबजार डटकमको सुरुवात


विराटनगर । उत्पादनमूलक उद्योग तथा व्यवसायको हकहित संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ वि.सं. २०२४ सालमा स्थापना भएको उद्योग संगठन मोरङ ५८औँ वर्षमा प्रवेश गरेको छ ।

आफ्नो ५८औँ स्थापना दिवसको अवसरमा संगठनले सञ्चालन गर्दै आएका कार्यक्रम तथा पहलहरूलाई शोकेस गरेको छ ।
स्थापना दिवसको अवसरमा संगठनले सीआईएम एक्स्पिरियन्सको सुरुवात गरेको छ । उक्त जोनमा यस क्षेत्रका औद्योगिक प्रतिष्ठानहरूको उत्पादन शोकेस, भर्चुअल रियालिटीमार्फत उद्योग अवलोकन तथा क्रेता–विक्रेताबीच प्रत्यक्ष भेटघाट गर्न सकिने सुविधासहितको आधुनिक प्रदर्शनी कक्ष स्थापना गरेको संगठनले जनाएको छ ।

त्यसैगरी संगठनले व्यवसाय–व्यवसायबीचको सम्बन्ध विस्तार गर्ने उद्देश्यका साथ भर्चुअल बीटुबी प्लेटफर्म विराटबजार डटकमको पनि सुरुवात गरेको छ । उक्त प्लेटफर्ममार्फत स्वदेशी उद्योग तथा व्यवसायलाई डिजिटल माध्यमबाट जोड्दै बजार विस्तारमा सहयोग पुग्ने विश्वास संगठनले लिएको छ ।

संगठनका अध्यक्ष नन्दकिशोर राठीले ५८ वर्षे यात्रालाई संघर्ष, समर्पण र निरन्तर प्रयासले भरिएको यात्रा भएको बताउँदै बदलिँदो समय र चुनौतीपूर्ण परिस्थितिमा पनि संगठनले संस्थागत पहिचान र विश्वासलाई सुदृढ बनाउँदै अघि बढिरहेको उल्लेख गरे ।

उनले निजी क्षेत्रका संघ–संस्थाले भावी पुस्तामा उद्यमशील सोच विकास गर्नु पनि दायित्व भएको उल्लेख गर्दै सोही दर्शनअनुसार संगठनले आफ्नो गतिविधि अघि बढाइरहेको स्पष्ट पारे । स्वदेशमै अवसरहरू उपलब्ध भएको तथ्यलाई व्यवहारमा देखाउँदै, ‘यहीँ काम गर्न सकिन्छ’ भन्ने सन्देश प्रवाह गर्नु आजको आवश्यकता भएको उनको धारणा थियो । संगठनले फाउन्डेसन तहदेखि काम सुरु गरी समग्र उद्यमशीलताको इकोसिस्टम विकासमा आफूलाई केन्द्रित गरी औद्योगिक विकास सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको राठीको कथन थियो ।

संगठन मोरङका पूर्व अध्यक्ष तथा संरक्षण एवं सल्लाहकार समितिका संयोजक किशोर प्रधानले संगठनको विगत यात्रालाई स्मरण गर्दै पूर्व नेतृत्वले दिनरात नभनी पुर्‍याएको योगदानकै कारण संगठन वर्तमान समयमा निजी क्षेत्रको एक सशक्त र विश्वसनीय संस्थाको रूपमा स्थापित हुन सफल भएको बताउँदै विगतको अनुभवले भावी पुस्तालाई मार्गदर्शन गर्ने विश्वास व्यक्त गरे ।

स्थापना दिवसको अवसरमा संगठनका अध्यक्ष नन्दकिशोर राठीले सीआईएम एक्स्पिरियन्स जोन उद्घाटन गरे ।

त्यसैगरी संगठनले व्यवसाय–व्यवसायबीचको सम्बन्ध विस्तार गर्ने उद्देश्यका साथ भर्चुअल बीटुबी प्लेटफर्म विराटबजार डटकमको संगठनका पूर्व अध्यक्ष दिनेश गोल्छाले औपचारिक शुभारम्भ गरेका थिए । उक्त प्लेटफर्ममार्फत स्वदेशी उद्योग तथा व्यवसायलाई डिजिटल माध्यमबाट जोड्दै बजार विस्तारमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

त्यसक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले उद्योग संगठन मोरङले स्थानीय आर्थिक तथा औद्योगिक इकोसिस्टम विकासमा खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै उद्योग, व्यवसाय र उद्यमशीलता प्रवर्द्धनका क्षेत्रमा संगठनले थालेका नवीन अभ्यासहरू अन्य संस्थाका लागि पनि अनुकरणीय रहेको बताए ।

संगठनका वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलालले निजी क्षेत्रले तथ्य र तथ्याङ्कमा आधारित नीति बहस र पैरवीमार्फत राष्ट्रिय आर्थिक मुद्दाहरूलाई राष्ट्रिय एजेन्डाका रूपमा स्थापित गर्न सफल भएको उल्लेख गर्दै संगठनलाई प्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानहरूले यसको कार्यदिशा सही रहेको प्रमाणित गरेको धारणा व्यक्त गरे ।

स्थापना दिवसको अवसरमा उद्यमशीलता विकासलाई प्रोत्साहन गर्न संगठनले सञ्चालन गर्दै आएको बिजनेस एट स्कुल, जबब्रिज पोर्टल, सीप विकास इकाइ, इन्डस्ट्रिज एकेडेमिया लिंकेज कार्यक्रम, बिजनेस क्लिनिक, स्टार्टअप कार्यक्रमका साथै उद्यमशील सोच विकास, दक्ष जनशक्ति उत्पादन र रोजगार प्रवर्द्धनका क्षेत्रमा संगठनले गर्दै आएका क्रियाकलापका डेस्कहरू राखिएको थियो ।