
क्लिकमान्डु डटकम नेपालको सबैभन्दा लोकप्रिय र विश्वसनीय आर्थिक समाचार सम्प्रेषण गर्ने जिम्मेवार सञ्चारमाध्यम हो । मिडिया भएकाले सत्य र तथ्यमा आधारित खोजमूलक समाचार, विचार र विश्लेषण सम्प्रेषण गर्नु हाम्रो कर्म र धर्म दुबै हो । देशको मेरुदण्ड अर्थतन्त्र र यससँग सम्बन्धित सरोकारवालाहरूलाई दिशानिर्देश गर्नका लागि स्वच्छ र चेतमूलक आलोचना गर्नु हाम्रो दायित्व हो ।
कुनै पनि मुलुकको समृद्धि तब मात्र सम्भव हुन्छ, जब त्यहाँको निजी क्षेत्र सुरक्षित र उत्साहित हुन्छ । आर्थिक विकास, सामाजिक प्रगति र उन्नतिका लागि निजी क्षेत्र नै मुख्य इन्जिन हो ।
जब एउटा उद्यमीले उद्योग खोल्छ वा व्यापार गर्छ, उसले आफ्नो लागि सम्पत्ति मात्र जोड्दैन, केवल नाफा मात्र कुम्ल्याउँदैन, बरु लाखौं परिवारको भान्छामा चुल्हो बाल्ने आधार तयार गर्छ र राज्य सञ्चालनका लागि आवश्यक पर्ने कर बुझाउँछ ।
राज्यले लिने आर्थिक नीतिले क्षमतावान व्यक्तिहरू प्रगतिको पखेँटा फिजाएर धनी बन्न सक्छन् ।
संविधान जारी भएर आधुनिक नेपालको नक्सा कोरिएपछि यहाँ स्थापित राजनीतिक प्रणाली, नेतृत्वको कार्यशैली र आर्थिक नीतिका असङ्गतिविरुद्ध प्रश्न उठ्न थाले । ती प्रश्नहरूको चित्तबुझ्दो जवाफ नपाएपछि सञ्चित आक्रोश ‘जेनजी’ को अगुवाइमा २०८२ भदौ २३ गते सडकमा विस्फोट भयो र त्यसदिनको प्रदर्शनमा १९ जनाको ज्यान जानेगरी निहत्था युवामाथि तत्कालीन सरकारले बर्बर दमन गरेपछिको प्रतिक्रिया स्वरुप २४ गतेको प्रदर्शन विध्वंशमा परिणत भयो ।
सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवन, प्रहरी चौकी लगायतका सरकारी कार्यालय, राजनीतिक दलका कार्यालय, नेताका घर तथा निजी क्षेत्रका सयौं संरचनाहरू र व्यक्तिगत सम्पत्ति ध्वस्त भए । विद्रोहको नाममा केही लुटेरा मनोवृत्तिका अराजक भीडले सरकारी संरचनामा मात्र चोट पुर्याएन, अर्थतन्त्रको मेरुदण्ड मानिने व्यावसायिक जगतलाई स्तब्ध बनायो ।
राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रको असक्षमताको बदला देशभित्र बसेर उद्यम गर्नेहरूको सम्पत्ति जलाएर लिनुले नेपाली समाजमा व्याप्त ‘मानसिकता’ लाई छर्लङ्ग पार्यो । यो विध्वंशले लगानीकर्ताहरूलाई अब थप पुँजी खन्याउनुभन्दा भएकै पुँजी कसरी जोगाउने भन्ने त्रासमा पुर्याइदिएको छ ।
व्यावसायिक जगतको मनोबल कमजोर हुनु केबल केही धनाढ्यहरूको व्यापार वा नाफा घट्नु मात्र होइन, यो त राज्यका लागि ठूलो विपत्ति हो । निजी क्षेत्रले लगानी विस्तार नगर्दा नयाँ रोजगारी सिर्जना हुँदैन, जसले बेरोजगारी बढाउँछ । राज्यको ढुकुटी थप कमजोर बन्दै जान्छ । जब आफ्नै देशका उद्योगीहरू असुरक्षित महसुस गर्छन्, तब वैदेशिक लगानी भित्रिने सम्भावना शून्य हुन्छ ।
हाम्रो समाजमा भ्रमपूर्ण भाष्य स्थापित गर्न खोजिँदै छ– नाफा कमाउनु पाप हो, अपराध हो । सत्य के हो भने, नाफा नगरे कुनै पनि व्यवसाय टिक्न सक्दैन र व्यवसायीले नाफा कमाए मात्र उसले थप लगानी गर्न र बढी कर तिर्न सक्छ ।
भदौ २३ र २४ को ‘जेनजी’ विद्रोहका क्रममा पनि सरकारी संरचनासँगै निजी भौतिक संरचनाहरूमाथि जुन स्तरको आक्रमण भयो, त्यसलाई हामीले प्रत्यक्ष देख्यौं र भोग्यौं । केही कमाउँ, देशमा रोजगारी सर्जना गरौं, राजस्वमार्फत देशको अर्थतन्त्रमा टेवा पुर्याऔं भन्ने उद्देश्यले उद्योगधन्दा खोलेका, व्यापार तथा सेवामूलक व्यवसाय सञ्चालन गरेका लगानीकर्तामाथि निर्मम आक्रमणको जति निन्दा गरे पनि कम नै हुन्छ । भदौ २३ र २४ गते भौतिक संरचनामात्रै जलेनन्, विश्वास जल्यो । जसले निजी क्षेत्रको मनोबललाई ‘शून्य’ सरह बनाइदिएको छ ।
यी विषयमा क्लिकमान्डुले समाचार, विचार र विविध सामग्रीहरू प्रकाशन/प्रसारण गरिनै रह्यो । तर यस्तो विषम परिस्थितिमा हाम्रो दायित्व केवल समाचारमा केन्द्रित हुनु मात्र होइन भन्ने महसुस गर्यौं । जेनजी विद्रोहका नाममा भएको विध्वंसले पुर्याएको क्षति र त्यसले निजी क्षेत्र र अर्थतन्त्रमा पारेको असरबारे गम्भीर र सूक्ष्म अध्ययन अनुसन्धानको आवश्यकता बोध गरी हामीले देशमा ठूलो लगानी गरेका १२१ उद्योगी व्यवसायीमाथि विशेष अध्ययन गरी प्रतिवेदन तयार पारेका छौं । देशका ठूला लगानीकर्ताहरूको वास्तविक मनोवृत्ति बुझ्ने प्रयास गरेका छौं । यो सुक्ष्म तथा मिहिन अनुसन्धानमूलक अध्ययन प्रतिवेदन केवल तथ्यांकहरूको संग्रह मात्र होइन, यो नेपाली निजी क्षेत्रको ‘मनोविज्ञानको यथार्थ चित्रण’ पनि हो ।
देश अहिले चुनावको मुखमा छ । राजनीतिक दलहरु घोषणापत्र लेख्न व्यस्त छन् । उम्मेवादवार र दलका कार्यकर्ताहरु जनताको घरदैलो अभियानमा छन् । तर तपाईंको टोल वा घरमा भोट माग्न आउने उम्मेदवारको प्राथमिकतामा आर्थिक मुद्दा खासै परेको देखिँदैन ।
उम्मेदवारहरुले मैले जितेँ भने यो निर्वाचन क्षेत्रमा यतिवटा उद्योग खोल्छु उद्यमी जन्माउँछु र यति जनालाई रोजगारी सिर्जना गर्छु भनेर जनतासँग प्रतिवद्वता नगर्नुले अझै पनि हाम्रा नेताहरु आर्थिक मुद्दामा कमजोर छन् भन्ने प्रष्ट पार्छ ।
तपाईंको टोल र घरमा भोट माग्न आउनेलाई तपाईंले कति वटा उद्योग खोल्ने वातावरण बनाउनुहुन्छ कति उद्यमी जन्माउनुहुन्छ र कति जनालाई रोजगारी सिर्जना गर्नुहुन्छ भनेर सोध्नु पर्छ । जनता जागरुक र सचेत भयौं भने मात्रै राजनीति सुध्रिन्छ । तेरो मेरो पार्टी भनेर त्यसका पछि अन्धभक्त भएर दौडिने जमात नघटेसम्म राजनीतिकर्मीहरु सस्तो लोकप्रियतामा रमाउँछन् । लोकप्रियताबादले देश र जनतालाई सम्मृद्धिमा होइन थप संकटतर्फ धकेल्ने निश्चित छ । जब राजनीतिकर्मीहरुको मुख्य एजेन्डा आर्थिक बन्छ तबमात्रै हामी सम्मृद्ध बन्छौं ।
हामी आशा गर्दछौं, यो प्रतिवेदनले नीति निर्माताहरूलाई वास्तविक धरातल बुझ्न र निजी क्षेत्रको मनोबल उकास्न मार्गनिर्देश गर्नेछ । सरोकारवाला सबै मिलेर निजी क्षेत्रको अत्यन्तै कमजोर बनेको मनोबल उकासेर उनीहरूलाई विश्वासमा लिई लगानीको वातावरण सुधार गर्न ढिला गरियो भने हामी निकट भविष्यमै भयानक संकटको सामना गर्न तयार भएर बस्नुको विकल्प छैन । हामी सबैले सोच र कार्याशैली बदलेर अघि बढ्ने हो भने समृद्धिको शिखर चुम्न सम्भव छ । सोच बदलौं, देशको मुहार फेरौं ।
(क्लिकमान्डु सिम्पोजियमः लगानीकर्ताको आत्मविश्वास चिरफार र अध्ययन प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा क्लिकमान्डुका अध्यक्ष पुष्पप्रसाद दुलालले व्यक्त गरेको मन्तव्य ।)








प्रतिक्रिया