बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा सञ्चालनमा


काठमाडौं । नेपाली स्वादलाई प्राथमिकता दिँदै बानेश्वरमा ‘तुफानी पीजा’ रेष्टुरेन्ट सञ्चालनमा आउने भएको छ। लामो समयदेखि रेष्टुरेन्ट तथा व्यावसायिक क्षेत्रमा संलग्न युवाहरूको टोलीले माघ २८ गते बुधबारदेखि बानेश्वरस्थित के एण्ड के इन्टरनेशनल कलेज नजिकै तुफानी पीजा सञ्चालनमा ल्याउन लागेको हो।

सञ्चालक माधवकुमार नेपालले तुफानी पीजामा नेपाली स्वाद मिसिएका विभिन्न प्रकारका पीजाका साथै बर्गर, तुफानी फ्राइड चिकेन, तुफानी र्‍याप, एस्प्रेसो बेसका अर्गानिक कफी तथा विभिन्न फ्रेस जुस उपलब्ध हुने बताए।

उनका अनुसार तुफानी पीजाले आगामी दिनमा चेन मोडलमा काठमाडौं उपत्यका र मोफसलका विभिन्न स्थानमा शाखा विस्तार गर्ने योजना बनाएको छ। बानेश्वरस्थित रेष्टुरेन्टमा सेन्ट्रल किचन रहने र अन्य स्थानमा पनि एउटै स्वाद र गुणस्तरका परिकार उपलब्ध गराइने उनले बताए।

एभरेष्ट होटलको पार्किङ साइडतर्फ पर्ने छक्कुबक्कु मार्गमा अवस्थित यो रेष्टुरेन्ट करिब ५० लाख रुपैयाँको लगानीमा सञ्चालनमा ल्याइएको हो। टिममा नेपाली स्वादमा दख्खल राख्ने फुड स्पेशलिस्ट, सेवा क्षेत्रमा लामो समय काम गरेका तथा वित्तीय क्षेत्रमा अनुभव भएका सदस्यहरू रहेको नेपालले बताए।

रेष्टुरेन्ट चार्टर्ड एकाउन्टेन्टसमेत रहेका पर्वतका टिका कार्की, नुवाकोटका माधव नेपाल र काभ्रेका मनमोहन रिमालको संयुक्त लगानीमा खोलिएको हो। विभिन्न क्षेत्रमा लगानी गर्दै आएका कार्कीले रेष्टुरेन्टमार्फत पनि सेवा क्षेत्रमा योगदान गर्ने उद्देश्य राखिएको बताए।

‘हाम्रो विभिन्न क्षेत्रमा लगानी छ। देशमै लगानीको सम्भावना देखेर रेष्टुरेन्ट व्यवसायमा पनि प्रवेश गरेका हौं,’ कार्कीले भने, ‘बानेश्वर क्षेत्रमा नेपाली स्वादको फरक शैलीको पीजा नपाइने भएकाले यही स्थान छनोट गरेका हौं।’ उनका अनुसार रेष्टुरेन्टमा प्रिमियम आइटमहरू पनि सस्तो मूल्यमा उपलब्ध हुनेछन्।

बानेश्वर क्षेत्रमा कर्पोरेट अफिस, कन्सल्टेन्सी र शैक्षिक संस्थाहरूको बाक्लो उपस्थिति रहेकाले विद्यार्थी र अफिसमा काम गर्ने कर्मचारीलाई लक्षित गरेर रेष्टुरेन्ट सञ्चालन गरिएको कार्कीले बताए।

तुफानी पीजाका परिकारहरू फुडमाण्डु, पठाओ तथा रेष्टुरेन्टको आफ्नै वेबसाइट र सामाजिक सञ्जालमार्फत अनलाइन अर्डर गर्न सकिने व्यवस्था गरिएको छ।

लगानीकर्ता माधवकुमार नेपाल लामो समयदेखि रेष्टुरेन्ट व्यवसायमा संलग्न रहँदै आएका छन्। उनले २०६९ सालमा संगम खाजाघरबाट व्यवसायिक यात्रा सुरु गरेका थिए। त्यसपछि होटल भ्यु पोइन्ट, रेड डायमन्ड, बर्गर हाउस र स्याङ्को कट्टिरोल सञ्चालन गरेको अनुभव छ।

हाल उनीहरूको टिमले काठमाडौंका विभिन्न १३ स्थानमा स्याङ्को कट्टिरोलका फ्रेन्चाइज आउटलेटहरू सञ्चालन गर्दै आएको छ।