टेलिकमको अनलाइन केवाईसी अपडेट देशभर उपलब्ध, प्रिपेड प्रयोगकर्तालाई सहज


काठमाडौं । नेपाल टेलिकमका जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ता ग्राहकहरुले कम्पनीमा रहेको ग्राहक विवरण (केवाईसी) अब आफैले अनलाइनमार्फत भर्न सक्ने छन् । टेलिकमले ग्राहकको सहजताका लािग केवाईसी अपडेट गर्न सक्ने व्यवस्था गरिएको छ ।

गत पुस २२ गते दूरसञ्चार कार्यालय सुन्धाराबाट यसको परीक्षण शुभारम्भ भएको थियो । टेलिकमले २२औं वार्षिकोत्सवको अवसरमा २०८२ माघ २२ देखि देशभरका सबै कार्यालयबाट यो सुविधा उपलब्ध हुने व्यवस्था मिलाएको जानकारी दिएको छ ।
यस अनुसार हाल आफ्नो नाम वा अन्य विवरण सच्याउनु पर्ने अवस्था भएका ग्राहकहरुले कस्टमर लगइन पोर्टल https://kyc.ntc.net.np/मार्फत आवश्यक विवरण भर्न सक्ने छन् ।

यसका लागि सम्बन्धित मोबाइल नम्बरमा प्राप्त ओटीपी राखेर त्यसै अनुसार आफ्नो व्यक्तिगत र अन्य विवरण सहित आफूले धेरै कल गर्ने ५ वटा मोबाइल नम्बर समेत राख्नु पर्छ ।

सबै विवरण भरिसके पश्चात प्रमाणीकरणका लागि नजिकको नेपाल टेलिकमको कार्यालय वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नु पर्छ । सो विवरणको आधारमा नेपाल टेलिकमको सिस्टमले ग्राहकको विवरण प्रमाणित गरी अद्यावधिक गर्नेछ ।

अहिले पनि धेरै ग्राहकहरुको व्यक्तिगत विवरण अद्यावधिक नभएको अवस्थामा यसबाट धेरै ग्राहकलाई विवरण अद्यावधिक गर्न सहज हुनेछ । यसबाट अन्य सरकारी निकायमा समेत आफ्नो विवरण अद्यावधिक राख्न सजिलो हुने अपेक्षा गरेको टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरले जारी गरेको एक प्रेस विज्ञप्तिमा उल्लेख छ ।