राजापुर चिनी उद्योगको लागत १७ प्रतिशतले बढ्यो, कतिमा बन्दैछ ?


काठमाडौं । राजापुर सुगर एन्ड केमिकल इन्डष्ट्रिजको लागत १७ प्रतिशतले बढेको छ। कम्पनीको लागत सुरुमा अनुमान गरिएको भन्दा अहिले १७ प्रतिशतले बढेको हो ।

कम्पनीले सुरुमा प्रतिदिन २ हजार ५ सय टन क्रसिङ गर्ने क्षमताको १ अर्ब ६८ करोड ७० लाख रुपैयाँमा उद्योग निर्माण गर्ने योजना बनाएको थियो। अहिले उक्त लागत बढेर १ अर्ब ९७ करोड २० लाख रुपैयाँ पुगेको कम्पनीले जनाएको छ।

कम्पनीले उद्योग निर्माणका लागि ७५:२५ को ऋण-इक्विटी अनुपात राखेको छ । कम्पनीका अनुसार लागत बढ्नुको मुख्य कारण कामदारको क्वार्टर निर्माण र ब्याजदर हो । कम्पनीको हालसम्म कर्जा व्यवस्थापन भइसकेको छ, जसमा ८९ प्रतिशत आर्थिक प्रगति भएको जनाइएको छ । त्यसैगरी, इक्विटी प्रतिबद्धताको ५९ करोड रुपैयाँमध्ये ५५ करोड १० लाख रुपैयाँ व्यवस्थापन भइसकेको कम्पनीको भनाइ छ।

कम्पनीका केही विकासका कार्यहरू बाँकी नै छन् । तर, कम्पनीले सन् २०२६ को जनवरीदेखि क्रसिङ सुरु गर्ने लक्ष्य राखेको छ । कम्पनीले बाँकी निर्माण कार्य आगामी तीन महिनाभित्र सम्पन्न गर्ने रेटिङ प्रतिवेदनमा उल्लेख छ। सन् २०२३ मा स्थापना भई निर्माण कार्य सुरु गरेको कम्पनीको काम अहिले अन्तिम चरणमा पुगेको छ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ६६ करोड २५ लाख रुपैयाँको रेटिङ गराएको छ । जसमा दीर्घकालीन कर्जाका लागि १ अर्ब ३८ करोड २२ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २८ करोड ३ लाख रुपैयाँ रहेको छ।