झापामा बालेन: प्रदेशका मन्त्री-सांसदको तलबले देश डुब्दैन, सुकुम्बासीबारे यसो भने


झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन्द्र शाह (बालेन) ले प्रदेश संरचनामा हुने खर्चका कारण देश आर्थिक संकटमा नपरेको दाबी गरेका छन् । चुनावी प्रचारका क्रममा झापा पुगेका शाहले आज कमल गाउँपालिकाका स्थानीयहरूसँगको संवादमा यस्तो धारणा राखेका हुन् ।

एक स्थानीयले २० वर्ष खाडीमा पसिना बगाएर फर्किएको सुनाउँदै प्रदेश संरचना खारेज गरे शिक्षा र स्वास्थ्यका लागि बजेट पर्याप्त हुने सुझाव दिएका थिए । त्यसको जवाफ दिँदै शाहले भने, ‘प्रदेश संरचनामा न्यून खर्च छ, त्यो तलबमा जाने खर्च मात्र हो। मन्त्री र सांसदले खाएको तलबले देश डुबेको होइन ।’

शिक्षा र स्वास्थ्य पूर्ण नि:शुल्क गर्ने सन्दर्भमा शाहले बजेटको अभाव रहेको स्वीकार गरे । संविधानमा नि:शुल्क शिक्षा लेखिए पनि व्यावहारिक कार्यान्वयनमा चुनौती रहेको उनले बताए । काठमाडौंको दृष्टान्त दिँदै उनले भने, ‘काठमाडौंमा विपन्न विद्यार्थीले निजी विद्यालयमा पनि छात्रवृत्ति पाइरहेका छन् । खल्तीमा पैसा नहुनेले पनि शिक्षा र स्वास्थ्य पाउनुपर्छ र पैसा हुनेले व्यापार गर्न पाउनुपर्छ।’

उनले शतप्रतिशत नि:शुल्क गर्न बजेट नभए पनि विपन्नका लागि अवसर सिर्जना गर्दै बिस्तारै अघि बढ्नुपर्नेमा जोड दिए ।

सुकुमबासीलाई आश्वासन: ‘झापामा डोजर चल्दैन, लालपुर्जा पाइन्छ’

यसअघि सुदूरपश्चिम भ्रमणका क्रममा मौन रहेर आलोचना खेपेका बालेन झापामा भने मतदातासँग खुलेर संवादमा उत्रिएका छन्। कमल गाउँपालिकाका सुकुमबासी बस्तीका युवाहरूले ‘बालेन जिते डोजर लिएर आउँछन् कि’ भन्ने डर व्यक्त गरेका थिए।

जवाफमा शाहले काठमाडौं र झापाको सन्दर्भ फरक रहेको स्पष्ट पारे। ‘काठमाडौंमा खोला किनारको जोखिमपूर्ण जग्गा खाली गराइएको हो, त्यो उनीहरूकै सुरक्षाका लागि थियो । तर यहाँको सुकुमबासी समस्या ४०–५० वर्ष पुरानो र वास्तविक हो,’ उनले भने, ‘खोलाछेउ बाहेकका सुकुमबासीलाई स्थानीय सरकारको सिफारिसमा भूमि आयोगमार्फत लालपुर्जा दिनुपर्छ।’ उनले राजनीतिक पहुँचका आधारमा एउटै व्यक्तिले पटक-पटक लालपुर्जा पाउने तर वास्तविक सुकुमबासी वञ्चित हुने प्रणाली सुधार्ने प्रतिबद्धतासमेत जनाए ।

आफ्नो चुनावी एजेन्डाबारे सोधिएको प्रश्नमा शाहले रास्वपाको घोषणापत्र तयारीको अन्तिम चरणमा रहेको जानकारी दिए । फागुनको पहिलो साताभित्र सार्वजनिक गरिने उक्त घोषणापत्रमा शिक्षा, स्वास्थ्य र रोजगारीका साथै सम्बन्धित निर्वाचन क्षेत्र र प्रधानमन्त्रीका लागि छुट्टाछुट्टै एजेन्डाहरू समेटिने उनले बताए । एमालेको गढ मानिने झापा ५ मा शाह पुगेपछि स्थानीय युवाहरूमा उत्साह देखिएको छ ।

Skip This