
एजेन्सी । इरानसँगको बढ्दो तनावका बीच अमेरिका र इजरायलका शीर्ष जनरलहरूले शुक्रबार पेन्टागनमा वार्ता गरेको दुई अमेरिकी अधिकारीहरूले आइतबार रोयटर्स समाचार संस्थालाई बताएका छन् । ती अधिकारीहरूले नाम नछाप्ने शर्तमा सो जानकारी दिएका हुन् ।
अधिकारीहरूले अमेरिकाको जोइन्ट चिफ अफ स्टाफका अध्यक्ष जनरल ड्यान केन र इजरायली सशस्त्र बलका चिफ अफ स्टाफ इयाल जामीरबीच भएको बन्द कोठाको छलफलका बारेमा कुनै विस्तृत विवरण दिएनन् । यो बैठकको बारेमा यसअघि कुनै रिपोर्ट सार्वजनिक भएको थिएन ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई वार्ताको टेबुलमा ल्याउन दबाब दिने उद्देश्यले पटक–पटक धम्की दिएपछि अमेरिकाले पश्चिम एसियामा आफ्नो जलसैनिक उपस्थिति र हवाई प्रतिरक्षा प्रणालीलाई तीव्र पारेको छ । इरानको नेतृत्वले आइतबार चेतावनी दिँदै अमेरिकाले आक्रमण गरेमा क्षेत्रीय द्वन्द्व निम्तिने बताएको छ ।
वाशिङटनमा भएको वार्तापछि इजरायलका रक्षामन्त्री इजरायल काट्सले आइतबार जामीरसँग भेट गरेको काट्सको कार्यालयले जनाएको छ। उक्त भेटमा क्षेत्रीय स्थितिको समीक्षा र कुनै पनि सम्भावित परिस्थितिका लागि इजरायली सेनाको परिचालन तयारीका बारेमा छलफल भएको थियो ।








प्रतिक्रिया