नेपाल लाइफको एमडीआरटी अचिभर्स अवार्ड–२०२६ समारोह सम्पन्न


काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मिति २०८२ साल माघ १३ देखि १५ गतेसम्म पोखरा ग्रान्डमा ‘एमडीआरटी अचिभर्स अवार्ड–२०२६’ समारोह भव्यतापूर्वक सम्पन्न गरेको छ । सन् २०२५ को जनवरीदेखि डिसेम्बर महिनासम्मको अवधिमा ‘एमडीआरटी–२०२६’ का लागि योग्य भएका ११० जना बीमा अभिकर्तालाई सम्मान गरिएको हो ।

कार्यक्रमको उद्घाटन पानसमा दीप प्रज्वलन गरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले गरेका थिए । कार्यक्रममा बोल्दै कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले एमडीआरटी जस्तो अन्तर्राष्ट्रिय संस्थाले तोकेको मापदण्ड पूरा गरी योग्य ठहर भई कार्यक्रममा सहभागी हुन सफल सबै अभिकर्तालाई बधाई तथा आगामी दिनका लागि शुभकामना व्यक्त गरे।

उनले एमडीआरटी योग्य अभिकर्ताहरूलाई अन्तर्राष्ट्रिय स्तरमा गई अनुभव तथा ज्ञान आर्जन गर्न आग्रह गरे। बीमा क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा अपनाइएका असल अभ्यासहरूसँग साक्षात्कार गराउन यस्ता कार्यक्रमले सहयोग पुर्‍याउने र नेपालमा बीमा सम्बन्धी नीति निर्माणमा समेत सकारात्मक योगदान पुग्ने उनको भनाइ थियो ।

विश्व अर्थतन्त्रमा देखिएको आर्थिक मन्दीको प्रभाव नेपालमा पनि परेको भए तापनि यस्तो कठिन परिस्थितिमा समेत सफलता हासिल गर्न सकेका अभिकर्ताहरूको उनले खुलेर प्रशंसा गरे । कृत्रिम बुद्धिमत्ताको प्रयोग हरेक क्षेत्रमा बढ्दै गएकाले भविष्यमा विभिन्न क्षेत्रमा रोजगारी कटौती हुन सक्ने अवस्था देखिए पनि बीमा अभिकर्ताको पेशा कहिल्यै विस्थापित नहुने भएकाले यो पेशा सुरक्षित रहेको उनले बताए । साथै, पेशाको गरिमा र महत्त्वलाई ध्यानमा राख्दै जीवन बीमाबारेको सचेतना आम नागरिकसम्म पु¥याउन आग्रह गरे ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यति भव्य कार्यक्रम आयोजना गर्न पाउँदा आफू अत्यन्तै हर्षित भएको बताए। उनले नेपाल लाइफले बीमा बजारको करिब एक तिहाइ हिस्सा ओगटेको उल्लेख गर्दै आगामी दिनमा आम नागरिकबीच बीमाको पहुँच विस्तार गर्दै कम्पनीको उपस्थितिलाई अझ सशक्त बनाइने बताए ।

पराजुलीले नेपाल लाइफको मेरुदण्ड नै बीमा अभिकर्ताहरू रहेको उल्लेख गर्दै उनीहरूको अथक मेहनत र परिश्रमकै कारण कम्पनी सफल भएको र आगामी दिनमा अझ सबल रूपमा अघि बढ्नेमा आफू विश्वस्त रहेको बताए ।

अभिकर्ताहरूको सर्वाङ्गीण विकासका लागि कम्पनी संवेदनशील रहेको कुरा पनि उनले स्पष्ट पारे। बीमा अभिकर्ता प्रगतिको सहयात्री भएको उल्लेख गर्दै आम नागरिकलाई बीमाको उपयोगिता र औचित्यबारे प्रष्ट पार्न सकिएमा नेपालको बीमा बजारमा अपार सम्भावना रहेको र त्यसलाई मूर्तरूप दिन ठोस कार्ययोजनासहित अघि बढ्न आग्रह गरे ।

कार्यक्रममा कम्पनीका राष्ट्रिय बिक्री प्रमुख उमापति पोखरेलले सम्मानित सबै अभिकर्तालाई बधाई दिँदै आगामी वर्ष अझ धेरै एमडीआरटी अभिकर्तालाई सम्मान गर्न कम्पनी उत्साहित रहेको बताए। उनले थप ऊर्जा र प्रतिबद्धताका साथ बीमालाई नेपालीको घरदैलोसम्म पु¥याउन सबै अभिकर्ता एकजुट भएर लाग्न आग्रह गरे ।

पेशागत बीमा अभिकर्ता महासंघका महासचिव ओम केसीले गत वर्षको लक्ष्य प्राप्तिमा योगदान पुर्‍याउने सबै अभिकर्तालाई धन्यवाद ज्ञापन गरे । नेपाल लाइफका अभिकर्ता नेपालकै सबैभन्दा सक्षम र अब्बल रहेको उल्लेख गर्दै कम्पनीको बजार हिस्सा थप विस्तार गर्न र बीमितको विश्वास कायम राख्न सम्पूर्ण अभिकर्ता प्रतिबद्ध रहेको बताए ।

पेशागत बीमा अभिकर्ता संघ, नेपाल बीमक समिति, नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीले कम्पनी व्यवस्थापनलाई यति भव्य र सभ्य कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गरे । साथै, सबै योग्य एम।डी।आर।टी। अभिकर्तालाई बधाई तथा शुभकामना दिँदै अभिकर्ता र बीमितको हकहितका लागि कम्पनीले चालेका कदमहरूको प्रशंसा गरे ।

उपस्थित अभिकर्ताहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै मुक्तिनाथ काप्रीले नेपाल लाइफको सहयोग, मार्गदर्शन र प्रेरणाका कारण आजको अवस्थामा पुग्न सफल भएको बताए । उनले यस यात्रामा सहयोग पुर्‍याउने सबैप्रति धन्यवाद व्यक्त गर्दै अभिकर्ताको सीप विकासका लागि कम्पनीले सञ्चालन गर्दै आएका कार्यक्रमहरूको खुलेर प्रशंसा गरे र आगामी दिनमा ती कार्यक्रमहरू अझ परिस्कृत बनाउन सुझाव दिए ।

तीन दिनसम्म चलेको कार्यक्रममा गायक अस्मिता अधिकारी, महेश काफ्ले र बद्री पंगेनीको विशेष सांगीतिक प्रस्तुति रहेको थियो । त्यस्तै, हास्य कलाकार सुबोध गौतम र प्रभात लामाले पनि आफ्ना प्रस्तुति प्रस्तुत गरेका थिए। कार्यक्रममा प्रेरक वक्ता सुगरिका केसीले उपस्थित अभिकर्ताहरूलाई उत्प्रेरणात्मक सन्देश प्रदान गरेकी थिइन् ।