
काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा मुटुको नसामा क्याल्सियम जमेर नसा अवरुद्ध भएका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’ मार्फत् सफल उपचार गरिएको छ ।
कार्डियोलोजी विभाग प्रमुख डा यादव भट्ट नेतृत्वको टोलीले क्याल्सियम जमेर मुटुको नसा अवरुद्ध भएका बिरामीको अर्बिटल एथेरेक्टोमी प्रविधिमार्फत् सफल उपचार गरिएको हो ।
डा भट्टका अनुसार छाती दुख्ने समस्या लिएर मंगलबार ओपीडीमा आएका बिरामीको मुटुमा ९९ प्रतिशत ब्लकेज भएको पाइएको थियो । परीक्षणको क्रममा मुटुका नसामा क्याल्सियम धेरै जमेको देखिएको थियो । यस्तो अवस्थामा सामान्य एन्जियोप्लास्टी गर्न सम्भव थिएन । समयमै क्याल्सियम निकाली एन्जियोप्लास्टी नगरेको अवस्थामा बिरामीमा हृदयघात हुने जोखिम हुन्थ्यो ।
डा भट्ट नेतृत्वको टोलीले बुधबार नर्भिकको क्याथल्याबमा क्याल्सियम निकाली एन्जियोप्लास्टी गरेको हो । बिरामीको मुटुको नसामा जमेर बसेको क्याल्सियमलाई तासेर निकालिएको थियो । त्यसपछि स्टेन्ट राखिएको थियो । यो प्रक्रियालाई चिकित्सकीय भाषामा ‘अर्बिटल एथेरेक्टोमी प्रोसिजर’ भनिन्छ ।
बिरामीको मुटुका नसामा क्याल्सियम जमेको अवस्था दुर्लभ केस भएको र यो उपचार विधि नयाँ भएको उपचारमा संलग्न डाक्टर यादव भट्टले जानकारी दिए । ‘यो केसमा हामीले अर्बिटल प्रोसिजर गरेको हो, मुटुका नसामा क्याल्सियम धेरै भएको बिरामीको पहिला क्याल्सियमलाई तासेर बल्ल स्टेन्ट राखिएको हो,’ डा भट्टले भने, ‘सायद यो नेपालमा गरिएको पहिलो प्रोसिजर हो ।
डा भट्टका अनुसार बिरामीको मुटुको नसामा क्याल्सियम जमेको छ भने त्यसलाई बेलुनले खोल्न र स्टेन्ट राख्न क्याल्सियमले अवरोध गर्छ । नसा खोल्ने प्रक्रियाका लागि क्याल्सियम तास्नुपर्छ । यी बिरामीमा सोही प्रक्रिया अनुसार उपचार गरिएको हो ।
उपचारपछि बिरामीको अवस्था स्थीर रहेको छ । र, आइसीयूमा सारिएको थियो । शल्यक्रियामा डा. भट्टसँगै डा नग्मा श्रेष्ठ, डा राजीव श्रेष्ठ र डा सन्तोष श्रेष्ठ संलग्न थिए ।
के हो मुटको नसामा जमेको क्याल्सियम हटाउने प्रक्रिया?
उपचारमा संलग्न डा भट्टका अनुसार धेरैजसो मधुमेह, मिर्गौला रोग वा उमेर बढी हुँदै गएका बिरामीको मुटुको नसामा क्याल्सियम जम्ने समस्या हुन्छ । केही अवस्थामा भने युवाहरुमा पनि मुटुको नसामा क्याल्सियम जम्ने समस्या हुनसक्छ ।
मुटुको नसामा धेरै क्याल्सियम जमेको अवस्थाका बिरामीलाई एन्जियोप्लास्टी गर्न अन्य केसमा जस्तो सामान्य तरिकाले सम्भव हुँदैन । क्याल्सियम जमेको अवस्थामा मुटुको नसा बेलुनले खुल्दैन । यस्तो अवस्थामा क्याल्सियमलाई हटाउने प्रक्रियाको उपचार पछि मात्र एन्जियोप्लास्टी गर्न सकिन्छ ।








प्रतिक्रिया