
काठमाडौं । चितवनमा रहेको एनपीआई नारायणी समुदायिक अस्पतालको निर्माण ७१ प्रतिशत सम्पन्न भएको छ ।
अस्पतालको आर्थिक र भौतिक प्रगति ७१ प्रतिशत सम्पन्न भएको रेटिङमा उल्लेख छ ।
हाल अस्पतालले १ सय ५० शय्याबाट सेवा दिँदै आएको छ । उक्त अस्पतालको क्षमता थप गरी ३ सय ५० शय्याको निर्माण भइरहेको छ ।
क्षमता विस्तार गर्न अस्पतालले करिब ५ अर्ब रुपैयाँ लगानी थप गर्दैछ । अस्पतालले ४ अर्ब ७६ करोड रुपैयाँ लगानी गर्ने भएको हो ।
अस्पताल निर्माणका लागि ६०:४० लगानी अनुपात राखेको छ ।
अस्पतालले दीर्घकालीन कर्जाका लागि २ अर्ब ४० करोड रुपैयाँको रेटिङ गराएको छ । जसमा अस्पतालले २ अर्ब ९० करोड रुपैयाँ कर्जा लिनेमध्ये १ अर्ब ८९ करोड रुपैयाँको व्यवस्थापन भइसकेको जनाएको छ । बाँकी रकमको लागि बैंकबाट इजाजत पाइसकेको अस्पतालको भनाइ छ ।
अस्पतालले गत आर्थिक वर्षमा ६४ करोड १० लाख रुपैयाँको कारोबार गरेको छ । अस्पतालले सन् २०२४ मा ४३ करोड ७० लाख रुपैयाँ र सन् २०२३ मा ४१ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो ।
सन् २००६ मा स्थापना भएको अस्पतालले स्वास्थ्य सेवा दिँदै आएको छ । अस्पतालले ४० सिटको ल्याब टेक्निसियन, ३० सिटको जेनरल मेडिसिन, ३ण् सिटको बीएससी नर्सिङको शैक्षिक कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।
डा.भक्तमान श्रेष्ठको लगानी रहेको अस्पतालले सन् २०२२ देखि सन् २०२५ सम्ममा वार्षिक १८ प्रतिशतले कारोबार बढेको उल्लेख छ । अस्पतालअनुसार गत आवमा भने ४४ प्रतिशतले कारोबार बढेको जनाएको छ । गत आवमा बिरामीको संख्या बढ्दा कारोबार पनि बढेको अस्पतालको भनाइ छ । अस्पतालले १३.१७ प्रतिशत खुद नाफा कमाएको छ ।
अस्पतालको गत आवमा डाक्टर परामर्श खर्च भने बढेको पाइएको छ । सन् २०२४ मा ३ करोड रुपैयाँ खर्च भएकोमा गत आवमा १२ करोड ३० लाख रुपैयाँ खर्च भएको रेटिङमा उल्लेख छ ।
अस्पताल न्यूटन अस्पताल प्रालिसँग मर्ज भएको छ । सन् २०१८ मा स्थापना भएको उक्त अस्पतालसँग मर्जरपछि ३ सय ५० शय्याको सेवा दिनेछ । त्यसमध्ये एक सय शय्या विशेष क्यान्सरसम्बन्धी सेवा मात्रै प्रदान गर्नेछ । अस्पताल आगामी २०२६ को नोभेम्बरबाट सञ्चालनमा ल्याउने तयारी गरेको छ ।








प्रतिक्रिया