
काठमाडौं । निष्क्रिय कर्जा बढेर कर्जा नोक्सानी व्यवस्थाको रकम बढ्दा एनएमबि बैंकको नाफामा घटेको छ । खुद ब्याज आम्दानी र फि तथा कमिसन आम्दानीमा उल्लेख्य बढे पनि बैंकको कर्जा नोक्सानी व्यवस्थाको रकममा वृद्धि हुँदा नाफा घटेको हो ।
चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म एनएमबि बैंकले १ अर्ब ६४ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको हो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.७१ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी १२.१८ प्रतिशत बढेको छ । गत आवको सोही अवधिमा ४ अर्ब २५ करोड ३३ लाख रूपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी बढेर ४ अर्ब ७७ करोड १५ लाख रूपैयाँ पुगेको हो । खुद फि तथा कमिसन आम्दानी २१.१८ प्रतिशत बढेर १ अर्ब ३४ करोड ३० लाख रूपैयाँ पुगेको छ ।
त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १५.२१ प्रतिशत बढेर ६ अर्ब ५४ करोड ९२ लाख रूपैयाँ पुगेको छ ।
यस अवधिमा बैंकको कर्जा नोक्सानी व्यवस्थामा छुट्याएको रकम ३४ करोड ४८ लाख रुपैयाँबाट बढेर १ अर्ब ५५ करोड २२ लाख रुपैयाँ पुगेको छ । सोही कारण बैंकको आम्दानीमा उल्लेख्य वृद्धि भएपनि सञ्चालन मुनाफा र नाफा भने घटेको छ। बैंकको सञ्चालन मुनाफा १८.०५ प्रतिशतले घटेर २ अर्ब ५० करोड ९९ लाख रूपैयाँमा झरेको छ ।
नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । चालु आवको दोस्रो त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ १० पैसा छ । गत आवको दोस्रो त्रैमासमा यस्तो आम्दानी २० रूपैयाँ ७८ पैसा थियो । पुस मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ ७५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १३.९८ गुणा रहेको छ ।
चालु आर्थिक वर्षको ६ महिनामा वितरणायोग्य नाफा ४९ करोड ९६ लाख रूपैयाँ छ । ब्याज बक्यौताका कारण बैंकले ४० करोड ६१ लाख रूपैयाँ नियामकीय जगेडा कोषमा जम्मा गरेको छ । बैंकको सञ्चित नाफा ५६ करोड ४३ लाख रूपैयाँ छ ।
१९ अर्ब २८ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १२ अर्ब ८१ करोड २५ लाख रुपैयाँ छ ।
गत असार मसान्तमा २ खर्ब ८० अर्ब ९३ करोड रूपैयाँ रहेको बैंकको निक्षेप पुस मसान्तसम्ममा २ खर्ब ९१ अर्ब ४४ करोड रुपैयाँ र कर्जा २ खर्ब २८ अर्ब ४६ करोड रूपैयाँबाट बढेर २ खर्ब ३९ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ ।
बैंकको निष्क्रिय कर्जा गत आवको दोस्रो त्रैमासमा ३।९६ प्रतिशत रहेकोमा समीक्षा अवधिमा बढेर ४.५६ प्रतिशत कायम भएको छ । प्राथमिक पुँजीकोष अनुपात ८.७९ र त्रैमासको औसत आधार दर ५.४८ प्रतिशत छ ।








प्रतिक्रिया