किया र इसुजुका गाडी बेच्ने कन्टिनेन्टल ट्रेडिङको व्यापार रिबाउन्ड, कतिको गर्‍यो कारोबार ?


काठमाडौं । किया र इसुजु ब्रान्डको गाडी बेच्ने कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिको व्यापार रिबाउन्ड हुँदै गएको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा रिबाउन्ड हुँदै गएको देखिएको हो ।

सन् २०२३ मा ३ अर्ब ६४ करोड रुपैयाँको व्यापार गरेको कम्पनीको २१ प्रतिशतले कारोबार बढ्दा गत आर्थिक वर्षमा ४ अर्ब ४० करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ।

कम्पनीले सन् २०२३ मा ४ अर्ब ५१ करोड २० लाख रुपैयाँ, सन् २०२२ मा १० अर्ब २ करोड ३० लाख रुपैयाँ र सन् २०२१ मा १० अर्ब ९६ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।

विगत तीन वर्षदेखि सुस्त रहेको कम्पनीको कारोबारमा गत आर्थिक वर्षमा सुधार देखिएको हो ।

सन् १९९५ मा स्थापना भएको कम्पनी नेपालका लागि किया र इसुजु ब्रान्डको गाडी बेच्ने आधिकारिक विक्रेता हो । त्यससँगै कम्पनी कोट्सु र ओकाडा ब्रान्डको निर्माण सामग्री बेच्ने आधिकारिक विक्रेता पनि हो ।

विशेषगरी कोमात्सुका ठूला उपकरण, कियाको सोनेट र इसुजुको हाई-ल्यान्डर कमर्सियल गाडीको माग बढेका कारण कम्पनीको वित्तीय अवस्थामा सुधार आएको हो ।

आर्थिक वर्ष २०२५ मा कम्पनीको सञ्चालन आम्दानी ४ अर्ब ४० करोड ९० लाख रुपैयाँ (प्रोपोजिनल) पुगेको छ, जुन अघिल्लो वर्ष ३ अर्ब ६४ करोड रुपैयाँ थियो । यस्तै, चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ बराबरको व्यापार गर्दै लय समातेको देखिएको छ ।

आईसीई गाडीहरूसँगै कियाले ईभी सिक्स र ईभी नाइन पनि ल्याएको छ ।

कम्पनीको कुल आम्दानीमा कियाका दुई मोडल सेल्टोस र सोनेटको मात्रै ५६ प्रतिशत हिस्सा रहेकाले एउटै उत्पादनमा निर्भर रहनुपर्ने जोखिम रेटिङमा औंल्याइएको छ ।

आफ्नै ६ वटा शोरुम र देशभर १२ वटा क्षेत्रीय डिलर नेटवर्कहरू रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ४ अर्ब ७५ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३ अर्ब ७५ करोड रुपैयाँको रेटिङ गराएको हो ।

कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका अध्यक्ष सुहृद घिमिरे हुन् ।