
विराटनगर । कांग्रेस नेता डा. शेखर कोइराला संकटमा परेको परिवारको विरासत जोगाउन संघर्षरत छन् । बीपी पुत्र शशांक र गिरिजा पुत्री सुजता आसन्न प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारविहीन छन् । कोइराला परिवारबाट यसपालि शेखर एक्लो उम्मेदवार हुन् ।
२०१५ सालको पहिलो आमनिर्वाचनमा कांग्रेसका तत्कालीन सभापति बीपी कोइराला निर्वाचन क्षेत्र नम्बर ३२ मोरङबाट उम्मेदवार बनेका थिए । त्यो चुनाव उनले जिते । २००७ सालको परिवर्तनपछि भएका हरेक निर्वाचनमा कोइराला परिवारका सदस्यले मोरङ छाडेका छैनन् ।
पछिल्लो समय अस्तित्वमा रहेका कोइराला परिवारका तीन सदस्य शशांक, शेखर र सुजताबीचको अनमेलले पनि कोइराला परिवारको विरासत संकटमा छ । उनीहरूबीच एकताको ढोङ देखाइए पनि एकले अर्काको खुट्टा तान्ने प्रवृत्तिले कोइराला परिवारको राजनीतिक यात्रा यसबेला सकसमा छ ।
त्यसैले शेखर यसबेला कोइराला परिवारको विरासतलाई जीवितै राख्न मोरङको क्षेत्र नं. ६ मा संघर्षरत छन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जागिर छाडेर पूर्णकालीन राजनीतिमा होमिएका कोइरालाको यो क्षेत्रमा छैटौँ पटकको चुनावी दौडधुप हो ।
यसअघिका पाँच निर्वाचनमा कोइरालाले तीनमा जित र दुईमा हारको स्वाद चाखेका छन् ।
परिवारको विरासत जोगाउन शेखर यसपालि मोरङ क्षेत्र नं. ६ मा नेकपा एमालेका नेता विनोद ढकाल, नेपाली कम्युनिस्ट पार्टीका ओपेन्द्र राय, राष्ट्रिय स्वतन्त्र पार्टीकी रूविना आचार्य लगायत उम्मेदवारसँग प्रतिस्पर्धा गर्दैछन् । उनीहरूमध्ये कोइराला र ढकालको दोस्रो भेट हो भने बाँकी नयाँ अनुहार र युवा हुन् ।
कोइराला यो क्षेत्रको निवर्तमान प्रतिनिधि सभा सदस्य हुन् । अघिल्लो निर्वाचनमा माओवादी र एकीकृत समाजवादी पार्टीसँगको गठबन्धन हुँदा कोइरालाले ३५ हजार २२४ मत ल्याएर एमालेका लालबाबु पण्डितलाई हराएका थिए । पण्डितले २२ हजार ९४६ मत ल्याएका थिए । त्यसबेला रास्वपाका यादवकुमार प्रधानले ९ हजार १४० मत ल्याउँदा राप्रपाका गोपाल क्षेत्रीले ८ हजार ९२५ मत ल्याएका थिए ।
मोरङ ६ मा विराटनगर महानगरपालिकाका ४, ५, ६, ७, ९, ११ र १२ नम्बर वडासहित बुढीगंगा गाउँपालिका र सुन्दरहरैँचा नगरपालिकाका २ देखि ७ नम्बर वडा समेटिएका छन् ।
यसपटक यो क्षेत्रमा १ लाख ३७ हजार ८३२ मतदाता छन् ।
मोरङ ६ मा २०४८ सालयताका सबै निर्वाचनको इतिहास रोचक र उथलपुथल छ । प्रजातन्त्र पुनर्स्थापनापछिको पहिलो निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसका श्यामलाल तबदार विजयी भएका थिए । त्यसको तीन वर्षपछि भएको २०५१ सालको मध्यावधि निर्वाचनमा तिनै मतदाताले एमालेका गुरू बराललाई जिताएका थिए ।
२०५६ को निर्वाचनमा उनै मतदाताले पुनः कांग्रेसका हरिनारायण चौधरीलाई विजयी गराउँदै साविक विजेता एमालेका गुरू बराललाई हराएका थिए । यहाँका मतदाताले २०६२–६३ को जनआन्दोलन पछिका निर्वाचनमा पनि आफ्नो परिवर्तित चरित्र देखाएका थिए ।
२०६४ को पहिलो संविधानसभा निर्वाचनमा यो क्षेत्रका मतदाताले तत्कालीन मधेसी जनअधिकार फोरमका विजयकुमार गच्छदारलाई विजयी गराउँदा कांग्रेसका शेखर कोइराला पराजित भएका थिए ।
दुई ठाउँबाट निर्वाचित भएका गच्छदारले मोरङ ६ छाडेपछि २०६५ मा भएको उपनिर्वाचनमा कांग्रेसका शेखरले बाजी मारेका थिए । त्यसबेला कोइरालाले एमालेका विनोद ढकाललाई हराएका थिए । यसपालि शेखर र विनोदको यो क्षेत्रमा १७ वर्षपछि चुनावी भेट भएको हो ।
एमालेका ढकाल अघिल्लो निर्वाचनमा मोरङ ४ मा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको चुनावी गठबन्धनमा माओवादीका अमनलाल मोदीसँग फराकिलो मतान्तरले पराजित भएका थिए ।
२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा मतदाताले शेखरलाई नै दोस्रो पटक रोजेका थिए । त्यसबेला शेखरले मधेसी जनअधिकार फोरम लोकतान्त्रिक दल खोलेर चुनाव लडेका गच्छदारलाई पराजित गरेका थिए । त्यसबेला कोइरालाले ११ हजार ३८६ मत ल्याउँदा गच्छदार ९ हजार ८५० मतमा रोकिएका थिए ।
२०७२ सालमा नयाँ संविधान जारी भएपछि भएका दुईवटा निर्वाचनमा पनि यहाँका मतदाताले फरक उम्मेदवार छनोट गरेको विगत छ ।
२०७४ को निर्वाचनमा एमाले र माओवादीबीच गठबन्धन हुँदा वाम गठबन्धनका तर्फबाट एमालेका लालबाबु पण्डितले कांग्रेसका कोइरालालाई ६ सय मतले पराजित गरेका थिए ।
२०७९ मा भने चुनावी समीकरण र मतदाताको रोजाइ पुनः फेरियो । कांग्रेस, माओवादी र एमालेबाटै विभाजित एकीकृत समाजवादीको गठबन्धनमा कांग्रेसका शेखरले ३५ हजार २२४ मत पाएर जित दर्ता गर्दा एमालेका पण्डितले २२ हजार ९४६ मत पाएर दोस्रो र राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधान ९ हजार १४० मतसहित तेस्रो बनेका थिए । त्यसबेला यो क्षेत्रमा समानुपातिकतर्फ कांग्रेसले २३ हजार ७१०, एमालेले १९ हजार ३८९ र राष्ट्रिय स्वतन्त्र पार्टीले ११ हजार ५२६ मत पाएको आँकडा छ ।
२०६४ सालदेखि २०८२ सम्मका निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसका तर्फबाट शेखर नै उम्मेदवार बन्दै आएका छन् ।
जेनजी आन्दोलनपछि मतदाताले नयाँ अनुहार र युवा उम्मेदवारको माग गरे पनि कोइराला नै दुई दशकदेखि यो क्षेत्र ओगटेर नयाँ अनुहार र युवालाई उम्मेदवार हुनबाट वञ्चित गर्दै आएको आरोप पनि लागेको छ । ‘युवा र मतदाताको चाहना विपरीत आफैँ उम्मेदवार बन्नु कोइरालाका लागि घातक हुन सक्छ,’ कांग्रेसका एक स्थानीय नेताले भने ।
पछिल्लो समय कांग्रेसको विशेष महाधिवेशनको स्वामित्व लिन अग्रसर नहुनु, पार्टीका तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई कारबाही गर्न तत्कालीन संस्थापन पक्षलाई उक्साउनु र निर्वाचन आयोगले सभापति थापालाई आधिकारिक मान्नु र त्यसपछि कोइरालाले आफ्नो चरित्र परिवर्तन गर्नुलाई यहाँका कांग्रेसीजनले उचित ठानेका छैनन् । ती कांग्रेसी नेताले भने, ‘शेखरको दोहोरो चरित्र चुनावका लागि घातक हुन सक्छ ।’
विगतमा कोइराला यो क्षेत्रबाट निर्वाचित हुँदा एमालेको सहानुभूति थियो । अघिल्लो निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वबाट कांग्रेस नेता कमजोर भएको र कोइरालालाई आन्तरिक रूपमा सहयोग गर्न आफ्ना अगुवा कार्यकर्तालाई नै निर्देशन दिएको स्वयं एमाले नेताहरूको दाबी छ ।
‘ओलीको निर्देशन पालना गर्दै हामीले अघिल्लो चुनावमा कोइरालालाई मत दिँदा विजयी भएका थिए । यसपालि त्यो अवस्था छैन,’ उनले भने ।
संस्थापन इतर पक्षको नेतृत्व गर्दै आएका कोइराला जेनजी आन्दोलनपछि कांग्रेसको नेतृत्व परिवर्तन गर्नुपर्ने मात्र नभएर विशेष महाधिवेशनको वकालत गर्दै आएका थिए । तर दुई महामन्त्रीले पुस अन्तिम साता आयोजना गरेको विशेष महाधिवेशनमा सहभागी नभई संस्थापन घेरामा प्रवेश गरेपछि कोइराला यसबेला आलोचित बनेका छन् ।
‘शेखरलाई त्यो प्रवृत्ति मात्र नभएर विशेष महाधिवेशनको हिम्मत गर्ने दुई महामन्त्रीलाई कारबाही गर्न तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई उक्साएको आरोप विषाक्त हुन सक्छ,’ कांग्रेसका ति नेताले भने, ‘त्यति मात्र होइन, कोइरालालाई यसबेला जेनजी आन्दोलनको मर्म विपरीत चलेको, स्वार्थ अनुसार आफ्नो चरित्र परिवर्तन गर्ने अनि नेतृत्व परिवर्तन विरोधीको ट्याग पनि भिराइएको छ । यस्तो अवस्थामा उनी पुनः चुनावी मैदानमा उत्रिनु चुनौतीपूर्ण छ ।’
त्यसैगरी कोइरालाको ढुलमुले चरित्र, उनका नाममा स्थानीय पार्टीभित्र उब्जिएका विभिन्न गुट–उपगुटले एक–आपसमा अस्तित्व स्वीकार नगर्नु, त्यस्ता गुटको व्यवस्थापन गर्न नसक्नु कोइरालाको कमजोरीले पनि युवा मतदाताको उर्लिँदो युवा नेतृत्वको क्रेजका समयको निर्वाचनलाई प्रभाव पार्ने अवस्था रहेको कांग्रेसीजनको बुझाइ छ ।
सभापति गगन थापा निकट एक नेताका अनुसार निर्वाचन आयोगले थापालाई आधिकारिकता दिएलगत्तै कोइराला थापालाई भेट्न र टिकटमा भागबन्डा माग्दै पुगेका थिए । सुरुमा कोइरालाले आफू चुनावमा नउठ्ने र मोरङका ६ मध्ये तीन क्षेत्र दिनुपर्ने माग राखेका थिए । त्यति मात्र नभएर कोशी प्रदेशका १४ जिल्लाका २८ निर्वाचन क्षेत्रमध्ये आधा आफूलाई दिन थापासँग आग्रह गरेका थिए । तर थापाले ‘तपाईँ चाहिँ उम्मेदवार बन्नुस्, बाँकी सोचौँला’ भन्ने जवाफ दिएका थिए ।
उता एमालेका ढकाल पनि यसबेला ओली विपक्षी खेमाका परिचित नेता हुन् । पूर्वराष्ट्रपति विद्या भण्डारी खेमामा प्रस्टिएका उनलाई पनि ओली खेमाको घात–अन्तर्घातको चिन्ता छ ।
एमालेका एक नेताले भने, ‘यसबेला मोरङ एमालेमा कांग्रेसको भन्दा ठुलो घात–अन्तर्घात हुर्किएको छ । त्यो अन्तर्घातले ढकाललाई नबडार्ला भन्न सकिँदैन,’ उनले भने, ‘ ढकाल अहिलेसम्म पार्टीको आन्तरिक बाहेक कुनै पनि निर्वाचन नजित्ने मध्येका हुन् । त्यसमा पनि पार्टीभित्र प्रस्ट देखिएको दुई खेमाबीच बोलचालकै स्थिति बन्द भएको अवस्थामा भएको निर्वाचनमा उनको उम्मेदवारी आफैँमा संकटमा छ ।’ उनी अघिल्लो प्रतिनिधि सभा निर्वाचन र विराटनगर महानगर प्रमुखको निर्वाचनमा पराजित उम्मेदवार हुन् ।
दुई ठुला दलका उम्मेदवार कोइराला र ढकाल आपसी किचलो, गुट–उपगुटको सिकार बन्दा अरू दलका नयाँ अनुहार र युवा उम्मेदवारलाई फाइदा पुग्ने विश्लेषण सर्वसाधारणको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका साथै धरानका मेयर हर्क साम्पाङ फ्याक्टरले पनि चुनावमा प्रभाव पार्न सक्ने अनुमान गरिँदा कोइरालाले आफ्नो जितको रक्षा गर्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्न उठिरहेको छ।








प्रतिक्रिया