फेक रेस्क्यूका नाममा २ अर्ब ९० करोड ठगी: ३ ट्रेकिङ कम्पनीका ६ जना पक्राउ


काठमाडौं । पर्वतारोहण तथा पदयात्रा (ट्रेकिङ) मा आउने विदेशी पर्यटकलाई नक्कली बिरामी बनाएर ‘फेक रेस्क्यू’ मार्फत करोडौँ डलर ठगी गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तीनवटा कम्पनीका ६ जना सञ्चालकलाई पक्राउ गरेको छ।

आइतबार पत्रकार सम्मेलन गर्दै सीआईबीले नक्कली उद्धारका कागजात तयार पारी अन्तर्राष्ट्रिय बीमा कम्पनीहरूबाट रकम असुल्ने गिरोहलाई सार्वजनिक गरेको हो ।

सीआईबी प्रमुख एआईजी मनोज केसीका अनुसार पक्राउ पर्नेहरूमा माउन्टेन रेस्क्युका सञ्चालक तथा अध्यक्ष जयराम रिमाल र प्रबन्धक विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका सञ्चालक तथा अध्यक्ष रविन्द्र अधिकारी र अपरेसन म्यानेजर विवेकराज थपलिया रहेका छन्।

त्यस्तै, सोही प्रकरणमा संलग्न एभरेस्ट एक्स्पेरेन्स एन्ड एसीस्टका सञ्चालक तथा प्रबन्ध निर्देशक मुक्ति पाण्डे र सञ्चालक एवं प्रबन्धक सुभाष केसीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरूले विदेशी पर्यटक सामान्य बिरामी पर्दा वा नपर्दा पनि हेलिकप्टर चार्टर गरेको नक्कली बिल र कागजात बनाएर बीमा दाबी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

सीआईबीले सार्वजनिक गरेको तथ्यांक अनुसार यी तीनवटा कम्पनीले मात्रै कुल १९.६९ मिलियन अमेरिकी डलर (करिब २ अर्ब ९० करोड नेपाली रुपैयाँ) बराबरको शंकास्पद बीमा दाबी गरेको पाइएको छ।

सबैभन्दा बढी माउन्टेन रेस्क्यु सर्भिस प्रालिले १,२४८ जनामध्ये १७१ जनाको उद्धारलाई शंकास्पद देखाएर १ करोड ३ लाख १० हजार २७६ डलर दाबी गरेको छ ।

त्यस्तै, नेपाल चार्टर सर्भिस प्रालिले ४७१ जनाको उद्धारमा ७५ जनाको फेक रेस्क्यू गरी ८२ लाख ३४ हजार ८२ डलर र एभरेस्ट एक्सपिरियन्स एण्ड एसिस्टेन्स प्रालिले ६०१ मध्ये ७१ जनाको शंकास्पद उद्धार देखाएर ११ लाख ५३ हजार ९१९ डलर दाबी गरेको सीआईबीको प्रतिवेदनमा उल्लेख छ।