चीनसँग व्यापार गरेमा क्यानडामाथि शतप्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा


एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले देशको दोस्रो ठूलो व्यापारिक साझेदार क्यानडाले चीनसँग व्यापार सम्झौता गरेमा क्यानाडेली वस्तुको आयातमा शतप्रतिशत भन्सार शुल्क लगाउने धम्की दिएका छन् ।

ओन्टारियोको एउटा विज्ञापनमा पूर्व राष्ट्रपति रोनाल्ड रेगनको भन्सार शुल्क सम्बन्धी भाषण फिचर गरिएपछि क्यानाडेली सामानहरूमा १० प्रतिशत महसुल लगायतका भन्सार शुल्कहरू लगाउने विषयमा दिएको दोहोरो धम्कीपछि यी टिप्पणीहरूले ट्रम्प र क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीबीचको खाडललाई अझ गहिरो बनाउने देखिएको छ ।

ट्रम्पले कार्नीलाई व्यंग्यात्मक रूपमा गभर्नर भनेर सम्बोधन गरे जुन शब्द उनले पूर्व प्रधानमन्त्री जस्टिन ट्रुडोका लागि पनि प्रयोग गरेका थिए । यो क्यानाडालाई अमेरिकाको ५१औं राज्य बनाउने ट्रम्पको आह्वानसँग सम्बन्धित छ ।

‘गभर्नर कार्नीले क्यानाडालाई चीनका लागि अमेरिकामा सामान र उत्पादनहरू पठाउने ‘ड्रप अफ पोर्ट’ (सामान ओराल्ने बन्दरगाह) बनाउन खोजेको हो भने उनी ठूलो भ्रममा छन् । चीनले क्यानाडालाई जिउँदै निल्नेछ, पूर्ण रूपमा निल्नेछ ।

उनीहरूको व्यवसाय, सामाजिक संरचना र सामान्य जीवनशैलीको विनाश सँगै हुन्छ,’ ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गरे ।

‘चीनले क्यानडामाथि कब्जा जमाउनु विश्वलाई चाहिएको अन्तिम कुरा हो । यो हुनेवाला छैन वा हुने सम्भावनाको नजिक पनि पुग्ने छैन !’ राष्ट्रपतिले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्ममा अर्को पोस्ट थप्दै भने ।

यो ट्रम्पको अघिल्लो टिप्पणीबाट पूर्ण रूपमा फरक छ । ट्रम्पले जनवरी १६ मा पत्रकारहरूलाई भनेका थिए, ‘(कार्नी) का लागि व्यापार सम्झौतामा हस्ताक्षर राम्रो कुरा हो । उनी चीनसँग सम्झौता गर्न सक्छन् ।’

जनवरीको आरम्भमा कार्नीले चीनका राष्ट्रपति सी चिनपिङसँग उनको भूमिमा भेट गरेका थिए । बेइजिङमा उनीहरूले एउटा नयाँ रणनीतिक साझेदारी बनाउने बताए । त्यसअन्तर्गत क्यानडाले चिनियाँ विद्युतीय सवारी साधनमा भन्सार शुल्क घटाउने र वार्षिक ४९ हजारसम्म चिनियाँ विद्युतीय सवारी साधनहरूलाई आफ्नो बजारमा प्रवेश अनुमति दिने भएको छ । चीनले पनि यस वर्षको अन्त्यतिर क्यानाडेली क्यानोलाको बिउ, लब्स्टर र केराउमा भन्सार शुल्क अवरोधहरू कम गर्ने अपेक्षा गरिएको छ।

‘प्रधानमन्त्री कार्नीले यस हप्ता उल्लेख गरेझैं क्यानडा र अमेरिकाले अर्थतन्त्र र सुरक्षाको क्षेत्रमा एक उल्लेखनीय साझेदारी स्थापित गरेका छन् र हामी यस सम्बन्धको भविष्यले सीमाको दुवैतर्फका कामदार र व्यवसायहरूलाई फाइदा पुर्याउने कुरा सुनिश्चित गर्न जारी राख्नेछौं,’ ट्रम्पको टिप्पणीपछि क्यानडाका अर्थमन्त्री डोमिनिक लेब्ल्यांकले सामाजिक सञ्जाल एक्समा पोस्ट गरे, ‘चीनसँग खुला व्यापार सम्झौताको कुनै खोजी गरिएको छैन । जे हासिल भएको छ, त्यो केही महत्त्वपूर्ण भन्सार शुल्क मुद्दाहरूको समाधान मात्र हो ।’

ट्रम्पको धम्की कार्नीले मंगलबार क्यानडाका लागि अगाडिको बाटो तय गरेपछि आएको हो । त्यसमा उनले शक्तिशाली देशहरूले आर्थिक एकीकरणलाई हतियारको रूपमा, भन्सार शुल्कलाई प्रभाव पार्ने माध्यमको रूपमा, र आपूर्ति शृंखलाहरूलाई शोषण गर्न सकिने कमजोरीका रूपमा प्रयोग गरिरहेको चेतावनी दिएका थिए ।

स्विट्जरल्यान्डको डाभोसमा भएको विश्व आर्थिक मञ्चको सम्बोधनमा कार्नीले अमेरिकाको नाम नलिए पनि अहिले विश्वव्यापी विभाजन र संक्रमण मात्र नभएको भनी चित्रण गरे । उनले थपे, ‘मध्यम शक्तिराष्ट्रहरूले मिलेर काम गर्नुपर्छ किनभने हामी टेबलमा (छलफलमा) छैनौं भने मेनुमा (कसैको आहार) हुनेछौं ।’

यो धम्की ट्रम्पले डेनमार्क, नर्वे, स्विडन, फ्रान्स, जर्मनी, बेलायत, नेदरल्यान्ड्स र फिनल्यान्डका कुनै पनि र सबै सामानहरूमा फेब्रुअरी १ देखि १० प्रतिशत भन्सार शुल्क लगाउने वाचा गरेको एक हप्तापछि आएको हो । अमेरिकाले ग्रीनल्यान्ड प्राप्त गर्न सम्झौता नगरेसम्म यो लागू हुने भनिएको थियो । तर, ट्रम्पले एउटा रूपरेखा तय भएकाले अब भन्सार शुल्क आवश्यक नरहेको बुधबार बताए ।

‘डाभोसमा चर्चा बटुलेकोमा कार्नीप्रति ट्रम्पले आक्रोश पोखेको जस्तो देखिन्छ । ट्रम्पले ग्रीनल्यान्डको विषयमा भन्सार शुल्क लगाउन पाएनन्, त्यसैले अहिले उनी धम्क्याउनका लागि अर्को निशाना खोजिरहेका छन्,’ काउन्सिल अन फरेन रिलेसन्सका अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी वरिष्ठ सदस्य इनु मानकले सीएनएनलाई बताए ।

यी नयाँ शतप्रतिशत भन्सार शुल्कहरू लगाइयो भने यसको के प्रभाव पर्नेछ भन्ने स्पष्ट छैन । अमेरिका–मेक्सिको–क्यानाडा सम्झौता (यूएसएमसीए) अन्तर्गत पालना गरिएका क्यानाडेली सामानहरू ट्रम्पका अन्य शुल्कहरूबाट मुक्त थिए । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा उक्त सम्झौता गराएका थिए र यो वर्ष त्यसको पुनरवलोकन हुनेछ ।

मानकले सीएनएनलाई इमेलमार्फत भनेअनुसार, कुनै देशले चीन जस्तो गैरबजार अर्थतन्त्रसँग खुला व्यापार सम्झौता गरेमा यूएसएमसीएले देशहरूलाई सम्झौता समाप्त गर्ने अनुमति दिन्छ । तर, ट्रम्पले चीनसँगको पछिल्लो सम्झौतामार्फत क्यानडाले यूएसएमसीए उल्लंघन गरेको दाबी गरेमा यसले चीनसँगको अमेरिकाको सोयाबिन सम्झौतालाई पनि यस्तै छानबिनको घेरामा पार्न सक्छ ।

‘ट्रम्पले अहिले नै यो कुरा उठाउनुको कुनै तुक छैन । त्यसैले उनले हचुवाको भरमा भन्सार शुल्कको धम्की दिइरहेको जस्तो मलाई लाग्छ,’ उनले भनिन् ।

अटो, स्टिल, आल्मुनियम, काठ र ऊर्जा अमेरिकातर्फ निर्यात हुने क्यानडाका प्रमुख वस्तु हुन् । त्यसमा ट्रम्पको उच्च भन्सार शुल्कले क्यानडालाई विशेषगरी ठूलो मार पारेको छ । अक्टोबरमा क्यानडाको बेरोजगारी दर ९ वर्षयताकै उच्च विन्दुमा पुगेको थियो ।
सन् २०२५ मा भन्सार शुल्कको धम्की दिएर ट्रम्पले पहिले नै व्यापार सम्झौताको उल्लंघन गरिसकेको ट्याक्स फाउन्डेसनकी संघीय कर नीति उपाध्यक्ष एरिका योर्कले भनिन् ।

उनले थपिन्, ‘ट्रम्पले यसलाई लागू गरे भने यसको अर्थ अमेरिकाले चीनबाट भन्दा क्यानडाबाट हुने आयातमा कडा व्यापार प्रतिबन्धहरू लगाइरहेको बुझिनेछ ।’

क्यानाडेली बहिष्कारका कारण यसले अमेरिकी अर्थतन्त्रलाई पनि नोक्सान पुर्याइरहेको छ । स्ट्याटिस्टिक्स क्यानडाको तथ्यांक अनुसार, गत सेप्टेम्बरको अन्त्यसम्ममा क्यानाडेलीहरूको सडकमार्गबाट हुने अमेरिका भ्रमण ३१ प्रतिशतले घटेको छ ।

अमेरिकाको डिस्टिल्ड स्पिरिट्स काउन्सिलका अनुसार, दोस्रो त्रैमासिकमा क्यानडामा अमेरिकी मदिराको निर्यात ८५ प्रतिशतले घटेको छ ।

क्यानडामा भन्सार शुल्क लगाउने ट्रम्पको धम्की अर्को यस्तो अवस्था हुन सक्छ जहाँ ट्रम्प पछि हट्छन् । त्यसलाई लगानीकर्ताहरूले टाको वा ट्रम्प अल्वेज चिकेन्स आउट (ट्रम्प सधैं पछि हट्छन्) भन्ने गरेका छन् ।

योर्कले ट्रम्पको शतप्रतिशत भन्सार शुल्कको पछिल्लो धम्की लागू हुनेमा शंका व्यक्त गरेकी छन् । तर, धम्की मात्रले पनि यतिबेला अमेरिकी व्यापार नीति कति अस्थिर र अविश्वसनीय छ भन्ने कुरा प्रष्ट पार्ने उनको भनाइ छ ।

ट्रम्पले भन्सार शुल्क लगाउनका लागि अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक शक्ति ऐनमा प्रदान गरिएको आपतकालीन शक्ति प्रयोग गर्न सक्छन् कि सक्दैनन् भन्ने विषयमा सर्वोच्च अदालतले आउँदो हप्ताहरूमा फैसला गर्ने अपेक्षा गरिएको छ ।

न्यायाधीशहरू ट्रम्प प्रशासनले उक्त कानुनको प्रयोग गर्ने कुरामा शंकास्पद देखिएका छन् किनकि यसमा भन्सार शुल्कको कुनै उल्लेख छैन ।