
एजेन्सी । विश्वभर बिजुलीको प्रसारणका लागि वर्षौंदेखि प्रयोग हुँदै आएको तामाको तार र केबलको युग अब अन्त्य हुने संकेत देखिएको छ । फिनल्याण्डका प्रमुख विश्वविद्यालय र वैज्ञानिकहरूले हावाबाटै बिजुली प्रसारण गर्ने ‘वायरलेस इलेक्ट्रिसिटी’ प्रविधिमा महत्त्वपूर्ण सफलता हासिल गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।
यस प्रविधिले मोबाइल चार्ज गर्नेदेखि लिएर ठूला उद्योग र विद्युतीय सवारी साधनसम्मलाई तारबिना नै ऊर्जा दिने लक्ष्य राखेको छ ।
फिनल्याण्डको आल्टो विश्वविद्यालय, हल्सिन्की विश्वविद्यालय र ओउलु विश्वविद्यालयका शोधकर्ताहरूले बिजुलीलाई हावामा पठाउन मुख्यतया तीनवटा विधिमा काम गरिरहेको जनाइएको छ ।
१. अल्ट्रासोनिक एकुस्टिक मार्ग: वैज्ञानिकहरूले उच्च तीव्रताको ध्वनि तरंग प्रयोग गरेर हावामा एक अदृश्य मार्ग सिर्जना गरेका छन् । यस मार्गमार्फत बिजुलीका झिल्काहरूलाई नियन्त्रित रूपमा एक ठाउँबाट अर्को ठाउँमा पठाउन सकिन्छ। यो प्रयोग प्रयोगशालामा सफल भइसकेको छ।
२. लेजर र अप्टिकल पावर: लेजर किरणको माध्यमबाट ऊर्जालाई ‘विम’ बनाएर टाढाको रिसिभरसम्म पुर्याउने प्रविधिमा पनि उल्लेख्य प्रगति भएको छ।
३. चुम्बकीय अनुनाद: यसमा उच्च फ्रिक्वेन्सी भएका चुम्बकीय क्षेत्रहरूको प्रयोग गरिन्छ । आल्टो विश्वविद्यालयका इन्जिनियरहरूले सुपरकन्डक्टिङ सामग्रीको प्रयोग गरेर ९० प्रतिशतभन्दा बढी दक्षताका साथ केही मिटरको दूरीमा बिजुली पठाउन सफल भएका छन् ।
आल्टो विश्वविद्यालयको टोलीले करिब ७ इन्च (१८ सेन्टिमिटर) को दूरीमा ८० प्रतिशतभन्दा बढी दक्षताका साथ ऊर्जा प्रसारण गर्न सफल भएको अनुसन्धानमा जनाइएको छ ।
प्रयोगशालाका पछिल्ला परीक्षणहरूमा केही किलोवाट विद्युतलाई ९० प्रतिशतभन्दा बढी ‘इन्ड-टु-इन्ड’ दक्षताका साथ प्रसारण गरिएको छ, जुन अहिलेसम्मकै उच्च मानिन्छ ।
यस प्रविधिमा ट्रान्समिटर र रिसिभर एन्टेनाहरूलाई एउटै फ्रिक्वेन्सीमा ट्युन गरिन्छ, जसले गर्दा ऊर्जा वातावरणमा नफैलिई सिधै लक्षित उपकरणसम्म पुग्छ ।
यो प्रविधिको सबैभन्दा ठूलो उपयोग चिकित्सा क्षेत्रमा हुने देखिएको छ । मानव शरीरभित्र राखिने ‘पेसमेकर’ वा अन्य कृत्रिम अङ्गहरू चार्ज गर्न अब पुनः शल्यक्रिया गरिरहनु पर्ने छैन । बाहिरबाटै वायरलेस माध्यमले ती उपकरण चार्ज गर्न सकिनेछ।
यसबाहेक, खतरनाक औद्योगिक वातावरण, जहाँ तार लैजान जोखिमपूर्ण हुन्छ, त्यहाँका रोबोट र सेन्सरहरूलाई पनि यसै माध्यमबाट ऊर्जा दिइनेछ ।
भविष्यमा विद्युतीय सवारी साधन (ईभी) गुडिरहेकै अवस्थामा सडकबाटै चार्ज हुने प्रविधिको विकासमा पनि यसले सघाउ पुर्याउने दाबी गरिएको छ ।
यति ठूलो सफलताका बाबजुद पनि वैज्ञानिकहरूले केही चुनौतीहरू औँल्याएका छन् । बिजुलीलाई धेरै टाढाको दूरीमा पठाउँदा ऊर्जा खेर जाने समस्या अझै पूर्ण रूपमा समाधान भएको छैन । साथै, उच्च क्षमताको विद्युत हावामा छाड्दा मानव स्वास्थ्य र सुरक्षामा पर्न सक्ने असरबारे पनि थप अध्ययन भइरहेको छ ।
निकोला टेस्लाले एक शताब्दीअघि देखेको ‘ताररहित संसार’ को सपनालाई फिनल्याण्डका यी प्रयोगहरूले यथार्थको नजिक पुर्याएका छन् । यद्यपि यो प्रविधि अहिले नै घर-घरमा पुग्ने अवस्थामा छैन । तर साना इलेक्ट्रोनिक उपकरण र विशेष औद्योगिक क्षेत्रमा यसको प्रयोग निकट भविष्यमै सुरु हुने देखिएको छ ।
विशेषज्ञहरूका अनुसार सन् २०३० सम्ममा विश्वभर २५ अर्बभन्दा बढी ‘कनेक्टेड डिभाइस’ हुनेछन्, जसलाई चार्ज गर्न तारबिनाको यो प्रविधि कोशेढुङ्गा सावित हुन सक्छ।








प्रतिक्रिया