मैले सजिलो काठमाडौं ४ छोडेर अप्ठ्यारो बाटो रोजें : गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूले राजनीतिमा सजिलो बाटो छोडेर अप्ठ्यारो बाटो रोज्ने गरेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित सर्लाहीका नेता तथा कार्यकर्ताहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति थापाले परिवर्तन ल्याउन आफूले जोखिमपूर्ण र कठिन बाटो रोजेको बताएका हुन्।

थापाले यसपटकको आम निर्वाचनमा उम्मेदवार चयन गर्दा कांग्रेसभित्र ठूलो सुधार र परिवर्तनको महसुस गरिएको दाबी गरे। विगतका अनुभवहरूलाई चिर्दै यसपटक टिकट वितरण निष्पक्ष भएको उनको भनाइ थियो।

उनले भने, ‘१६५ निर्वाचन क्षेत्रमा २४ घण्टाभित्र उम्मेदवार छान्नुपर्ने दबाब थियो, केही कमी कमजोरी भए होलान्। तर, लामो समयदेखि कांग्रेसलाई बुझेकाहरूले अनुभव गरे, यसपटक टिकट वितरणमा कहीँ कतै एक सुका दामको पनि चलखेल भयो भन्ने अवस्था रहेन। यो सानो कुरा होइन, कांग्रेसभित्रको सुधारको संकेत हो।’

सडकमा युवाहरू मात्र नभई तिनका अभिभावक पनि परिवर्तनको पक्षमा उभिएको भन्दै उनले पार्टीले यो जनभावनालाई बेवास्ता गर्न नमिल्ने बताए। ‘यत्रो कुरालाई देखेको नदेख्दै गर्न पार्टीले मिल्दैन, कम्तीमा हाम्रो पार्टीले मिल्दैन,’ उनले भने।

आफ्नो राजनीतिक संघर्षबारे बोल्दै थापाले भने, ‘यदि महाधिवेशनमा साथीहरूले साथ नदिएको भए आज म पार्टीबाट निष्काशित सदस्यको रूपमा तपाईंहरूकै बीचमा उभिएको हुन्थेँ होला। आफ्नो लडाइँ आफैँ लड्नुपर्छ र नियति आफ्नो हातमा हुन्छ भन्नेमा म विश्वास गर्छु।’

काठमाडौं क्षेत्र नं-४ बाट तीन पटक सांसद निर्वाचित भएको स्मरण गर्दै उनले सर्लाहीका मतदाता र शुभचिन्तकहरूले देखाएको सद्भावप्रति आभार समेत व्यक्त गरे। थापाले आगामि निर्वाचनका लागि सर्लाही-४ बाट उम्मेदवारी दर्ता गराएका छन्।