सभापति बनेपछि पहिलोपटक पार्टी कार्यालय जाँदै गगन, भावी प्रधानमन्त्री घोषणा गर्दै कांग्रेस


काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति भोलि (शुक्रबार) पहिलोपटक औपचारिक रूपमा पार्टी केन्द्रीय कार्यालय सानेपा जाने भएको छ ।

पुस ३० गते सम्पन्न विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भए पनि हालसम्म यसका बैठकहरू होटलमा बस्दै आएका थिए ।

भोलि दिउँसो १ बजे नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू सानेपा जान लागेका हुन् ।

प्रवक्ता देवराज चालिसेका अनुसार धेरै नेताहरू उपत्यका बाहिर रहेकाले भोलि काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यहरूको उपस्थितिमा केन्द्रीय कार्यालयमै बैठक बस्नेछ ।

भोलि बस्ने केन्द्रीय समितिको बैठकले सभापति गगन थापालाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ‘भावी प्रधानमन्त्री’ को रूपमा घोषणा गर्ने तयारी गरेको छ ।

बैठकले निर्वाचनको तयारी र उम्मेदवारीबारे महत्त्वपूर्ण निर्णय लिनेछ ।

कांग्रेसले माघ १० गते सार्वजनिक गर्ने चुनावी घोषणापत्रमै थापालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्ने तयारी गरेको एक नेताले बताए । सभापति थापाकै नेतृत्वमा अहिले घोषणापत्र लेख्ने कार्य भइरहेको छ । नेकपा एमालेले केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिसकेको सन्दर्भमा कांग्रेसले पनि आफ्नो नेतृत्व स्पष्ट पार्न लागेको हो ।

विशेष महाधिवेशनबाट नयाँ नेतृत्व आएपछि निवर्तमान सभापति शेरबहादुर देउवा समूहले असन्तुष्टि जनाउँदै आएको छ । तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितको देउवा समूहले विशेष महाधिवेशनलाई आधिकारिकता नदिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरे पनि अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरिसकेको छ ।

देउवा समूहका कतिपय नेताहरूले विशेष महाधिवेशनलाई अस्वीकार गरेको बताए पनि चुनावी मैदानमा भने सभापति गगन थापाकै हस्ताक्षर भएको टिकट लिएर उम्मेदवारी दर्ता गराएका छन् ।

यसअघि देउवा समूहका कार्यकर्ताले केन्द्रीय कार्यालयमा अवरोध सिर्जना गरे पनि अहिले उनीहरूले कार्यालय छोडिसकेका छन्, जसले गर्दा नयाँ कार्यसमितिलाई सानेपा प्रवेश गर्ने बाटो खुलेको हो ।

निर्वाचित भएपछि सभापति थापाले पहिलो र दोस्रो कार्यसमिति बैठकका साथै संसदीय बोर्डको बैठकसमेत होटलमै गरेका थिए।