भक्तपुरमा रास्वपाका खत्री र शोभा पाठकविरुद्ध उजुरी


भक्तपुर । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत भक्तपुर क्षेत्र नम्बर २ मा दुई जना उम्मेदवारको मनोनयनविरुद्ध उजुरी परेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्री र नेपाल जनसेवा पार्टीकी उम्मेदवार जानुका पाठक(शोभा पाठक) विरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता भएको हो ।

निर्वाचन अधिकृत राधिका सुवालका अनुसार दुवै उम्मेदवारविरुद्ध उजुरी परेको हो । उजुरीमा उम्मेदवारहरूको योग्यता र कानुनी प्रक्रियामाथि प्रश्न उठाइएको छ ।

राजीव खत्रीविरुद्ध नेपाल स्काउटको ९५ हजार रुपैयाँ बेरुजु रकम फछ्र्यौट गर्न बाँकी रहेको दाबी गर्दै उम्मेदवारी खारेजीको माग गरिएको छ भने पाठकको नागरिकताको प्रतिलिपिमा उल्लेखित विवरणहरू फरक पाइएको भन्दै उनीविरुद्ध उजुरी परेको हो ।

निर्वाचन अधिकृत सुवालले उजुरीमाथि छानबिन हुने जानकारी गराइन् ।निर्वाचन अधिकृतको कार्यालयले दुवै पक्षलाई प्रमाणसहित उपस्थित हुन आग्रह गरेको छ ।

सोधपुछ र कागजातको अध्ययनपछि उजुरीको निष्कर्ष निकालिने कार्यालयले जनाएको छ । दोषी देखिएमा उम्मेदवारी खारेज हुन सक्ने प्रावधान छ ।