
काठमाडौं । अमेरिकाले एकैदिन ९१ जना नेपाली नागरिकलाई निष्कासन (डिपोर्ट) गरी स्वदेश फिर्ता पठाएको छ ।
अमेरिकामा बस्नका लागि आवश्यक कानुनी आधार पूरा नगरेका उनीहरूलाई सोमबार चार्टर विमानमार्फत काठमाडौं ल्याइएको हो ।
डोनल्ड ट्रम्प दोस्रोपटक अमेरिकाको राष्ट्रपति निर्वाचित भएपछि एकैदिन यति ठूलो संख्यामा नेपालीहरू डिपोर्ट गरिएको यो पहिलो घटना हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत अनुज भण्डारीले सोमबार चार्टर विमानमार्फत ९१ नेपाली काठमाडौं आइपुगेको पुष्टि गरे ।
पछिल्ला केही महिनायता अमेरिकाले अवैध रूपमा बसोबास गरिरहेका नेपालीहरूलाई निरन्तर फिर्ता पठाइरहेको छ । यसअघि पुस ३ गते ७५ जना नेपालीलाई चार्टर विमानबाटै डिपोर्ट गरिएको थियो । त्यस्तै, गत भदौ १९ गते ३७ जना र जेठ २५ गते ३७ जना नेपालीलाई अमेरिकाले यसैगरी स्वदेश फिर्ता पठाएको अध्यागमनको तथ्याङ्क छ ।
अमेरिकी सरकारका अनुसार अवैध मार्ग (मेक्सिको लगायतका बाटो) बाट प्रवेश गरेका, भिसाको म्याद सकिएर पनि बसिरहेका र बस्नका लागि कानुनी आधार स्थापित गर्न नसकेकाहरूलाई निष्कासनको प्रक्रियामा राखिएको हो । गलत मनसायले वा बिनाभिसा अमेरिका छिरेकाहरू यसको मुख्य चपेटामा परेका छन् ।
डिपोर्ट गरिएका नेपालीहरू काठमाडौं आइपुग्नु अगावै अमेरिकी दूतावासले अध्यागमन विभागलाई यसबारे पूर्वजानकारी गराउने गरेको छ ।
विमानस्थलमा आइपुगेका उनीहरूलाई प्रक्रिया पुर्याएर नेपाल प्रहरीको जिम्मा लगाइएको छ ।
धेरैजसो व्यक्तिहरू मानव तस्करलाई लाखौँ बुझाएर अवैध बाटोबाट अमेरिका पुगेका कारण प्रहरीले उनीहरूमाथि सोधपुछ सुरु गरेको छ । प्रहरीले विशेष गरी उनीहरूलाई अवैध रूपमा अमेरिका पठाउने गिरोह र मानव तस्करहरूको सञ्जालबारे सूचना संकलन गरिरहेको जनाएको छ ।








प्रतिक्रिया