७५ लाख तिरेर ‘डंकी रुट’ हुँदै अमेरिका: सीमा कट्नासाथ पक्राउ, ११ महिना जेल बसेपछि ‘डिपोर्ट’

६६९ नेपाली फर्काइए

336
Shares

काठमाडौं । घरको आँगन र पर्खाल उस्तै छ । बिहानको घाम पनि उस्तै गरी झुल्किएको छ । तर सन्तोष विष्ट उस्तै छैनन् ।

३६ वर्षीय विष्ट यही आँगनबाट १८ महिना अघि निस्कँदा हातमा झोला थियो, मनमा थियो अमेरिका पुगेर मनग्य कमाउने र सुखी जिन्दगी काट्ने सपना । तर, आज फर्किँदा हात खाली छ, मन भारी । घर छाडेको १८ महिनामा अमेरिकी भूमि त टेके तर देखेनन् ! देखे त केवल पनामा जंगल, एजेन्टको धम्की, अमेरिकी हिरासत र ७५ लाख रुपैयाँको ऋण ।

‘घर छोडेको १८ महिनामा अमेरिका पुगेँ,’ विचलित देखिएका सन्तोष भन्छन्, ‘६ महिना अमेरिकी सुरक्षाकर्मीको हिरासतमा बसेर फर्किएँ। अमेरिका त सपना नै रह्यो।’

सन्तोष ती ७५ नेपालीमध्ये एक हुन्, जो गत बिहीबार ओम्नी एयरवेजको चार्टर्ड विमानमार्फत अमेरिकाबाट डिपोर्ट भएर काठमाडौं उत्रिएका थिए । सो दिन ७२ पुरुष, ३ महिला उनी जस्तै निराश बन्दै फेरि मातृभूमिमा उत्रिए । उनीहरू सबै फरक ठाउँका थिए, तर यात्रा उस्तै थियो- अवैधानिक, जोखिमपूर्ण र ऋणले बाँधिएको ।

४८ लाखको सम्झौता ७५ लाख पुग्यो

सन्तोषले प्लस–टु सम्म पढेका छन् । नेपालमा केही गर्ने बाटो नदेखेपछि विदेशिने सोच बनाएका उनमा अमेरिका जाने ‘भूत’ सवार भयो । वरिपरि हेर्दा अमेरिका पुगेका साथीहरू देखिन्थे । अमेरिकामा कमाइबारे उनीहरूले गर्ने चर्चा, घर बनाएको कथा, विदेशको चमकधमक सबैले सन्तोषको मन छोयो । जसरी पनि अमेरिका जाने सोच बन्यो । आफन्तको सल्लाहमा उनी एजेन्टसम्म पुगे । एजेन्ट नेपाली नै थिए । दुबईमा बस्दै काम गर्ने । कुरा सिधै थियो, ‘४८ लाखमा टक्रक्कै अमेरिका!’

एजेन्टसँग सम्झौता भयो । तर त्यो सम्झौता कुनै कागजमा थिएन, थियो त केबल भरोसा ।

एजेन्टले योजना सुनायो । नेपालबाट दुबई, त्यहाँबाट ब्राजिल । त्यसपछि तलको बाटो हुँदै अमेरिका । नेपाल छोडेपछि सन्तोष दुबई पुगे । उनलाई त्यहाँ डेढ महिना राखियो । त्यसपछि हवाई यात्रामार्फत ब्राजिल पुगे । ब्राजिल पुगेपछि पहिलो पटक वास्तविकता खुल्यो । एजेन्टले भने, ‘अब पैसा थप्नुपर्छ ।’

पैसा नदिए के हुन्छ ?
उत्तर सिधा थियो- ‘यहीँ छोडिदिन्छौं ।’

अमेरिका सपना लिएर हिँडेको मान्छे ब्राजिलमा बस्ने कुरा त भएन । सन्तोषले घर परिवारमा सम्पर्क गरे र एजेन्टका नेपालका मान्छेको खातामा पैसा पठाउन लगाए । परिवारकाले ऋण खोजे ।

ब्राजिल मात्र होइन कम्बोडिया र ग्वाटेमाला पुगेपछि पनि सन्तोषले पटक–पटक पैसा थप्नु पर्‍यो । हरेक देशमा नयाँ एजेन्ट, नयाँ माग । हैरान थिए सन्तोष । तर विकल्प पनि त थिएन ।

नेपालमा रहेको परिवारसँग सम्पर्क गर्नुपर्थ्यो । परिवारले गाउँकै चिनेजानेकाबाट २–३ प्रतिशत ब्याजमा ऋण लिन्थे। जग्गा धितो राखिन्थ्यो । पैसा एजेन्टको खातामा पुग्थ्यो । त्यसपछि मात्र अर्को देशको यात्रा सुरू हुन्थ्यो ।

अमेरिकाको जमिन टेक्दासम्म सन्तोषले ७५ लाख रुपैयाँ खर्च गरिसकेका थिए ।

पनामा जंगलको त्रास

सबैभन्दा डर लाग्दो खण्ड सुरु भयो, कोलम्बिया हुँदै पनामा जंगल । बस, ट्रक र डुंगा छाडेपछि दिनभरको पैदल यात्रा । समूहमा हुन्थे ७ देखि १० जना । उक्त समूहमा अमरिका पुग्ने आशा बोकेका नेपाली मात्र होइन अफ्रिका, एसिया र ल्याटिन अमेरिकाबाट आएका मानिसहरू पनि थिए ।

‘पनामा जंगल भन्ने बित्तिकै धेरैले थाहा पाइसक्नु भयो,’ मलिन स्वरमा सन्तोष भन्छन्,’उज्यालो हुनासाथ हिँड्न सुरू हुन्थ्यो । रात परेपछि घनघोर जंगलमा सुत्नु पर्ने । कहिले टेन्ट पाइन्थ्यो कहिले त खाली ठाउँमै सुत्नु पर्ने ।’

भोको पेट । जंगलको यात्रा । उनको मानस्पटलमा आफ्नो देश । जंगल, पाखाबारीको याद आउथ्यो । भोक लाग्दा पनि खान पाउने अवस्था बन्दैन थियो । पाइन्थ्यो त केबल बिस्कुट, खोला र खोल्चा खोल्चिको पानी । घनघोर जंगलमा जंगली जनावरको त्रास उस्तै थियो । बचेमात्र अमेरिका छिर्न पाइने आशा ।

‘हामीले ज्यान जंगलमै छोड्नु पर्ने हो कि भन्ने डर थियो,’ सन्तोष सम्झिन्छन्, ‘कुनै कुरा थाहा हुन्नथ्यो।’

जंगल पार गरेपछि सुरक्षाकर्मीबाट जोगिँदै कहिले बस त कहिले ट्रकको यात्रा । बिचबिचमा आउने नदीमा डुंगाको त्रासदी यात्रलाई उनी सम्झन चाहँदैनन्।

यसरी पनामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला हुँदै मेक्सिको पुगेपछि सन्तोषलाई अमेरिका पुग्ने सपना सार्थक हुन लाग्यो जस्तो लाग्छ ।

हरेक देशमा एउटै बाध्यता थियो केही दिन कुर्नै पर्ने । कुनै ठाउँमा ७ दिन त कुनै देशमा १५ दिन । सानो कोठामा ८–१० जना अमेरिका छिर्ने सपना बोकेकाहरूको कोचाकोच भेडा बसाइँ । भुइँको सुताइ । बाहिरी संसारसँगको बिछोड । यो नियमित अभ्यास जस्तो बनिसकेको थियो । अर्को रुपमा भन्दा उनीहरू नजरबन्दको अवस्थामा थिए । ‘नजरबन्दजस्तै थियो,’ सन्तोष भन्छन्, ‘हाम्रो संसार चार भित्ताभित्र सीमित हुन्थ्यो।’

हरेक देशमा फरकफरक एजेन्ट पर्खिरहेका हुन्थे । एजेन्ट भेटिएपछि फेरि माग पैसाकै हुन्थ्यो । पैसा नपुगेसम्म अर्को पाइला चाल्नै नपाउने । जे जसो भए पनि विकल्प नभएको सन्तोष सम्झन्छन् ।

मेक्सिको पुगेपछि अमेरिका नजिकै देखिन्छ । तर फटाफट छिर्न त कहाँ पाइयो र ? ‘कति कष्ठ गरेर त आइयो अब त गइहालिन्छ नि’ भन्दै केही दिन त्यहीँ बसेपछि एजेन्टले सही समय र छिर्ने ठाउँको निर्णय नगरेसम्म कोठामा कोचिएर बस्नुको विकल्प नभएको सन्तोष सम्झन्छन् ।

हप्ता दिनभन्दा बढी मेक्सिकोमा बसेपछि एकदिन खबर आयो, ‘अब जाऔं’ । बल्ल सन्तोषको मन हल्का भयो । अब त अमेरिका छिर्ने ! प्रफुल्लित हुँदै झोला बोकेर सीमातिर लागे, उनी ।

अमेरिकामा सुखी र आनन्दको जीवन जिउने मनोकांक्षा त्यतिबेला तुषारापात भयो जतिबेला झोला बोकेर सीमामा पुगेका सन्तोषसहितको समूहलाई अमेरिकी सीमा सुरक्षाकर्मीले नियन्त्रणमा लियो ।

मन ढक्क फुलेर आयो । ‘ला! बर्बाद भयो । अब के हुन्छ होला ?’ सबैको मनमा अनुत्तरित प्रश्न थियो । अमेरिकी सुरक्षागार्डले उनीहरूलाई बसमा चढाए । सन्तोषले बोकेको झोला र सामग्री सुरक्षाकर्मीले लिए । एकसरो लगाएको लुगामा मात्र उनीहरूलाई क्याम्पमा पुर्‍याए ।

अमेरिका पुग्ने र भटाभट पैसा कमाउन थाल्ने उनको योजना विफल बन्यो । ६ महिना सन्तोषले अमेरिकी हिरासतमा बिताए ।

नेपाल छाडेको १८ महिनाको बीचमा उनले पेटभरि खान पनि पाएनन् । मिठो खान र राम्रो लगाउन अमेरिका गएका उनले पेटभरि खानै पाएनन् । बाटोमा त पाएनन् पाएनन् क्याम्पमा पनि उस्तै भोगे ।

त्यतिबेला सम्झिए, आमाले पकाएर दिएको ‘गुन्द्रक र भात ।’ केक, पाउरोटी, राजमा क्यापमा उनले पाउने सीमित खानेकुरा बन्यो । हप्तामा एकदिन एक डाँडु भात पाउँदा उनी हर्षित बन्थे ।

क्याम्पभित्रबाट बाहिर निस्कन पाइँदैन थियो । जालीबाट पर-परको अमेरिकी मैदान देखिन्थ्यो । अमेरिका त्यहीँ थियो तर उनी पुग्न पाएनन् । अमेरिकी चमकधमकमा रम्ने उनको योजना तारजालीभित्र कैद भयो ।

0000

त्यही विमानमा फर्किएका थिए दाङ तुलसीपुर का ३८ वर्षीय प्रदीप भण्डारी । घर छोडेको २२ महिनापछि उनी फर्किए, त्यो पनि ११ महिना अमेरिकी जेल बसेर ।

भण्डारीका एजेन्टले अमेरिका पुग्ने दुई विकल्प दिएका थिए- तलको बाटोबाट ५५ लाख, विभिन्न देशको हवाई यात्राबाट ६५ लाख । भण्डारीले अमेरिका छिर्न तलको बाटो रोजे ।

त्यसपछि उनको यात्रा सुरू भयो । नेपालबाट दुबई, दुबईबाट ब्राजिल । ब्राजिल पुगेपछि सुरु भयो एजेन्टको धम्की । सन्तोषलाई जस्तै । पैसा नदिए ब्राजिलमै छाडिदिने धम्की । प्रदीपसँग विकल्प पनि त थिएन । घरमा कुराकानी गरे पैसाको जोहो मिलाए ।

पैसा दिइसके पनि ब्राजिलबाट अमेरिका प्रस्थान गर्ने उनको दिन आएन । ब्राजिलमा दुई महिना एउटै घरमा उनीसहितको टोलीलाई थुनेर राखियो । एक दिन एजेन्टले ट्रक, पिकअप भ्यान, बस हुँदै कोलम्बिया पुर्‍याए ।

पनामा जंगल तीन दिन पैदल हिँड्दा दुखेको र सुन्निएको खुट्टाले अहिले पनि प्रदीपलाई झस्का दिन्छ । दिनभरको जंगलको त्रासपूर्ण हिँडाइ, रातमा टेन्टको बास । डुंगामा घन्टौंको यात्रा । विभिन्न चुनौतीका बीच एजेन्टले अमेरिकाको सीमामा पुर्‍याए । साँझ ५ बजे सीमा काटेर अमेरिका छिरेपछि प्रदीपले बिर्सिए ऋण र पनामा पाएको दु:ख । ‘जे सुकै होस् अमेरिका त छिरियो नि!’ मनमनै सोचे ।

तर उनको खुसी लामो समय टिकेन । किनकी अमेरिकी सुरक्षाकर्मीले सीमा कटेको केही समयमै उनलाई नियन्त्रणमा लियो र लग्यो क्याम्पमा । प्रदीपलाई तीनवटा क्याम्पमा सारियो । खाना उहीँ सन्तोषक जस्तै, पाउरोटी र राजमा। हप्तामा एकदिन भात।

डोनल्ड ट्रम्प राष्ट्रपति बनेसँगै आप्रवासन नीतिमा गरिएको कडाइपछि सयौंको संख्याा विदेशी नागरिक डिपोर्ट भएका छन् । त्यसको सूचीमा सन्तोष र प्रदीप जस्ता कयौं परेका छन् ।

नेपाल पनि उनीहरू कहाँ सजिलै आउन पाए र ! हात खुट्टामा नेल र हतकडी लगाएर विमानमा ल्याइएका उनीहरूलाई काठमाडौं उत्रनु केही घण्टा अघमात्र नेल खोलियो । अमेरिकाको टेक्सास, बुल्गेरिया, भारत हुँदै नेपालमा रोकिएको विमानबाट उनीहरू उतारिए ।

०००

तर डिपोर्ट भएकाहरू एजेन्टविरुद्ध उजुरी दिन तयार छैनन् । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता विश्वराज खड्का अवैध बाटो अर्थात डंकी रुट प्रयोग गर्ने अधिकांश आफन्त र चिनेजानेको सल्लाहमा अमेरिका जाने गरेकोले उजुरी पर्ने नगरेको बताउँछन् । ‘एजेन्ट आफन्त नै हुने भएकाले उजुरी आउँदैन,’ उनी भन्छन् । विभिन्न समयमा डिपोर्ट भएकाबाट प्रहरीले एजेन्टसम्म पुग्न प्रयास गरेको भए पनि उजुरी र पर्याप्त जानकारी पीडितबाट नपाउँदा सहज हुन सकेको छैन । अमेरिका जानेमाथि ऋण दिने गिरोह पनि गाउँ-गाउँ र जिल्लामै हुने गरेको पाइएको प्रहरी बताउँछ । डंकी रुट प्रयोग गर्नेमा बढी दाङ, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान र बाँकेका रहेको पाइएको प्रहरीको भनाइ छ ।

‘अमेरिका जान ऋण दिने गिरोहहरू गाउँ र जिल्लामा बसोबास गर्ने गरेका छन्,’ प्रवक्ता खड्काले भने,’ ऋण दिनेहरू चिने जानेका मानिस हुन्छन् । २ देखि ३ प्रतिशत ब्याजमा जग्गा धितो राखेर ऋण दिन्छन् ।’

न्यूनतम ५० लाखदेखि १ करोड रुपैयाँसम्म लगानी गरेर अमेरिकासम्म पुगेर कयौं नेपाली फर्किएको अनुसन्धानमा पाइएको उनले बताए ।

सन्तोष र प्रदीप अहिले भौतारिइरहेका छन् । एजेन्टविरूद्ध उजुरी दिन पनि उनीहरू तयार भइसकेका छैनन् । सम्पर्क भएर पैसा फिर्ता दिइहाल्छ कि भन्ने आशा मारेका छैनन् तर एजेन्ट सम्पर्कविहीन छ । ऋणको ब्याजको मिटर दिनदिनै घुमिरहेको छ। अमेरिका पुगेर जिन्दगी बदल्ने सपना बोकेका यी युवाहरूका लागि डंकी रुटको त्यो यात्रा एउटा यस्तो ऐँजेरु बन्यो, जसले उनीहरूको सम्पत्ति मात्र होइन, जिन्दगीको शान्ति समेत खोसेर लग्यो। जहाजबाट ओर्लिँदा खोलिएको त्यो फलामे नेल त खुल्यो, तर ७५ लाखको ऋणको अदृश्य नेलले उनीहरूलाई बाँधिरहेको छ ।

८ वर्षमा ६६९ नेपाली डिपोर्ट

अवैधानिक रुपमा अमेरिका पुगेकाहरू डिपोर्ट हुने क्रम बढ्दो छ। पछिल्ला आठ आर्थिक वर्षमा ६६९ नेपाली अमेरिकाबाट फर्काइएका छन् । जसमध्ये ६३४ पुरुष, ३५ महिला रहेको प्रहरी तथ्यांक छ ।

गत जनवरी पछि मात्र ४४२ जना फर्किएका छन् । जसमध्ये ४१२ पुरुष र ३० जना महिला रहेका छन् ।

आर्थिक वर्ष २०७५/०७६ मा त्यसरी गएका मध्ये ४५ जना पुरूष फर्किएका थिए । आव २०७६/०७७ मा २ महिला र ८१ पुरुष गरेर ८३ जना फर्किए भने आव २०७७/०७८ मा २ महिला र २८ जना पुरुष गरेर ३० जना फर्किएको प्रहरी तथ्यांक छ ।

२०७८/०७९ मा १३ जना पुरूष फर्किएका थिए भने आव २०७९/०८० मा ७ जना पुरुष फर्किए । आव २०८०/०८१ मा २१ जना, आव २०८१/०८२ मा १९ महिला र १८८ पुरुष गरेर २०७ जना फर्किएका छन् । आव २०८२/०८३ मा १२ महिला र ८१ जना पुरुष गरेर २६३ जना फर्काइएका छन् ।

सन् २०२५ मा अमेरिकी सीमा सुरक्षा नीतिमा निकै कडाइ गरिएको छ । अमेरिकी गृह सुरक्षा विभागका अनुसार, अब अवैध रूपमा सीमा पार गर्नेहरूलाई ‘फास्ट ट्र्याक डिपोर्टेसन’ प्रक्रियामार्फत कुनै कानुनी सुनुवाइ बिना नै सिधै उनीहरूको देश फर्काइने नीति लिइएको छ । अमेरिकी समाचार संस्थाहरूले उल्लेख गरे अनुसार, अमेरिकी प्रशासनले पनामा र मेक्सिकोसँगको सहकार्यमा ‘डंकी रुट’ का मुख्य नाकाहरूमा कडा निगरानी बढाएको छ । पछिल्लो समय सामूहिक रूपमा चार्टर्ड विमानमार्फत आप्रवासीहरूलाई उनीहरूको देश फर्काउने कार्यलाई ह्वाइट हाउसले आफ्नो प्रमुख उपलब्धिको रूपमा व्याख्या गरेको छ । यसले गर्दा राजनीतिक शरण पाउने सम्भावना अहिले इतिहासकै न्यून विन्दुमा पुगेको छ।

कुन कानुन अनुसार कारबाही ?

श्रम नगरी वैदेशिक रोजगारमा पठाउने कार्यलाई गैह्रकानुनी मान्ने गरिएको छ । गैह्रकानुनी हिसाबले पठाउनुलाई मानवबेचबिखनको रुपमा लिने गरिएको प्रहरीको भनाइ छ । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन अनुसार त्यसरी अमेरिका पठाउने माथि कारबाही हुने भए पनि पीडितले उजुरी नदिँदा समस्या हुने गरेको छ ।

मानिस बेच्ने वा किन्नेलाई बीस वर्ष कैद र दुई लाख रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था छ । किन्न, बेच्न वा वेश्यावृत्तिमा लगाउने उद्देश्यले विदेश लैजानेलाई दश वर्षदेखि पन्ध्र वर्षसम्म कैद र पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना र बालबालिका लगेको भए पन्ध्र वर्षदेखि बीस वर्षसम्म कैद र एक लाख रुपैयाँ देखि दुईलाख रुपैयाँसम्म जरिवाना रहने व्यवस्था छ।