
काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दिएको थुनछेक आदेशविरुद्ध सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ ।
न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा उक्त रिटमाथि सुनुवाइका लागि पेसी तोकिएको छ ।
विशेष अदालतले सो प्रकरणका मुख्य आरोपितहरूलाई न्यून धरौटी र साधारण तारेखमा छाड्ने आदेश दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग त्यसविरुद्ध सर्वोच्च पुगेको हो ।
अख्तियारले विशेष अदालतको आदेश त्रुटिपूर्ण रहेको दाबी गर्दै आरोपितहरूलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गरेको छ ।
यसअघि विशेष अदालतले क्यानका निलम्बित महाप्रबन्धक प्रदीप अधिकारीलाई ५ लाख र निर्देशक मुरारी भण्डारीलाई १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो भने अशोककुमार सुवेदी, सुवर्णराज उपाध्याय, महेशकुमार बस्नेत, नारायण गिरी र बाबुराम पौडेललाई साधारण तारेखमा रिहा गरेको थियो।
अख्तियारका अनुसार पोखरा विमानस्थलको लागत अस्वाभाविक रूपमा बढाएर राज्यलाई करिब ८ अर्ब ३६ करोड ७३ लाख रुपैयाँ (७ करोड ४३ लाख अमेरिकी डलर) नोक्सानी पुर्याइएको छ ।
निर्माण कम्पनी ‘चाइना सीएएमसी इन्जिनियरिङ’ को सम्भाव्यता अध्ययन प्रतिवेदनलाई विना प्रश्न स्वीकार गरी लागत अनुमान १६ करोड ९६ लाख डलरबाट बढाएर २६ करोड ४९ लाख डलर पुर्याइएको अख्तियारको अभियोग पत्रमा उल्लेख छ।








प्रतिक्रिया