यसकारण देउवाले पाएनन् टिकट


काठमाडौं । नेपाली कांग्रेसभित्रको शक्ति संघर्षका कारण शेरबहादुर देउवा यसपटकको संसदीय निर्वाचनमा उम्मेदवार बन्नबाट रोकिएका छन् ।

सोमबार मध्यरातसम्म चलेको टिकट बाँडफाँटको रस्साकस्सीपछि देउवा उम्मेदवार नबनेका हुन् ।

विशेष महाधिवेशनले गगन थापालाई अध्यक्ष बनाएको र निर्वाचन आयोगले महाधिवेशन पक्षधरलाई नै आधिकारिकता दिएपछि जीवनको उत्तरार्धमा पार्टीबिहीन बनेका देउवा पक्ष आधिकारिकता आफूहरुले पाउनु पर्ने दाबी गर्दै अदालत पुगेको छ ।

अदालत गए पनि रुख बाहेकको चुनाव चिह्न कल्पनासमेत गर्न नसकिने उनी पक्षका नेताहरुको भनाइका बीच सभापति थापा र देउवा पक्षबीच टिकट वितरणमा सहमति भएको स्रोतको दाबी छ ।

टिकट वितरणको सुरुवाती चरणमा देउवा पक्षले आफ्नो समूहका लागि ८२ निर्वाचन क्षेत्रको सूची पेस गरेको थियो ।

स्रोतका अनुसार, अन्तिम भागबण्डामा सभापति गगन थापाले १३५ निर्वाचन क्षेत्र आफूसँगै राखेका छन् भने निवर्तमान सभापति देउवा पक्षलाई २० र नेता शेखर कोइराला पक्षलाई १० निर्वाचन क्षेत्र दिइएको छ ।

समानुपातिकतर्फको सूचीमा देउवा आफैँले हस्ताक्षर गरेकाले प्रत्यक्षतर्फ पनि उनी पक्षले माग गरे अनुसार टिकट नदिएको हो । उनले माग गरे अनुसार टिकट वितवरण हुँदा बहुमत पुग्ने जोखिम भएकाले उनलाई पनि टिकट नदिएको स्रोतको दाबी छ।

डडेलधुराबाट एकल सिफारिस भएका देउवा अन्तिम पटक चुनाव लड्न चाहन्थे । गगन थापा पक्षसँगको छलफलका क्रममा बुझाइएको सूचीमा देउवाको पनि नाम रहेको स्रोतको दाबी छ ।

तर, उनले चुनाव जितेर आउँदा फेरि प्रधानमन्त्रीको दाबेदार बन्न सक्ने भएकाले उनलाई रोक्ने गरि सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माले उनको नाम काट्ने भएपछि देउवाले नउठ्ने घोषणा गरेको स्रोतको दाबी छ ।

देउवालाई टिकट दिने कि नदिने भन्ने विषयमा पदाधिकारी तहमा लामो बहस भएपछि, पार्टीभित्र ‘नराम्रो सन्देश’ जाने जोखिम देख्दै देउवा आफैँले राति १२ बजे चुनाव नलड्ने घोषणा गरेका थिए । देउवाको ठाउँमा अब डडेलधुराबाट नेविसङ्घका पूर्वअध्यक्ष नैनसिंह महरले प्रतिस्पर्धा गर्ने छन् ।

भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनले गगन थापालाई नेतृत्वमा पुर्‍याएपछि कांग्रेसको आन्तरिक राजनीतिमा यो ठुलो परिवर्तन आएको हो। २०४८ सालदेखि निरन्तर संसद्‌मा रहेका देउवाको बहिर्गमनसँगै कांग्रेसमा तीन दशक लामो ‘देउवा युग’ को संसदीय अन्त्य भएको छ।