
एजेन्सी । ग्रीनल्यान्डलाई लिएर अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले पछिल्लो भन्सार शुल्क धम्की र युरोपको सम्भावित प्रतिरोधात्मक कदमहरूले आयात मूल्यमा उल्लेखनीय वृद्धि ल्याउन सक्छ । यसले दुवै अर्थतन्त्रलाई कमजोर बनाउन सक्छ ।
कुनै पनि पक्ष ठट्टा गरिरहेको जस्तो देखिँदैन । ग्रीनल्यान्ड प्राप्त गर्ने ट्रम्पको प्रयासको एक असाधारण वृद्धिका रूपमा ट्रम्पले फेब्रुअरी १ देखि डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स, नर्वे, स्विडन र बेलायतका सामानहरूमा १० प्रतिशत भन्सार शुल्क लगाउने धम्की दिएका छन् । जुन १ सम्म कुनै सम्झौता भएन भने यो बढेर २५ प्रतिशत पुग्नेछ ।
त्यसले आइतबार युरोपेली देशका प्रतिनिधिहरूको आकस्मिक बैठक बोलायो र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युरोपेली संघलाई बाध्यताविरोधी संयन्त्र (एन्टी–कोएर्सन इन्सट्रुमेन्ट) सक्रिय गर्न आग्रह गरेका छन् । त्यसलाई बोलीचालीको भाषामा ट्रेड बजूका (व्यापारिक हतियार) भनिन्छ ।
ट्रेड बजूकाले सम्भावित प्रतिरोधात्मक उपायहरूको व्यापक सूचीमध्ये अमेरिकी पहुँचलाई ईयू बजारहरूमा आंशिक रूपमा रोक्न सक्छ वा निर्यात नियन्त्रणहरू लागू गर्न सक्छ ।
त्यो व्यापार रक्षा अमेरिका जस्ता सहयोगीहरूलाई नभई चीन जस्ता देशहरूलाई ध्यानमा राखेर बनाइएको ट्याक्स फाउन्डेसनकी संघीय कर नीति उपाध्यक्ष एरिका योर्कले उल्लेख गरिन् ।
रोयटर्सका अनुसार, यस समूहले अमेरिकाविरुद्ध गत वर्ष जुलाईमा ईयू र अमेरिकाबीच अस्थायी व्यापार युद्धविराम हुँदा रोकिएको ९३ अर्ब युरो बराबरको यसअघि घोषित प्रतिशोधात्मक भन्सार शुल्क लगाउने बारे पनि विचार गर्नेछ ।
आईएनजी नामक कम्पनीको म्याक्रो ग्लोबल हेड कार्स्टेन ब्रजेस्कीले आइतबार ग्राहकहरूका लागि लेखेको नोटमा भने, ‘कम्तीमा पहिलो प्रतिक्रियाहरूबाट निर्णय गर्दा केही युरोपेली नेताहरू कडा रूपमा प्रस्तुत हुन इच्छुक देखिन्छन् ।
व्यवसायहरूका लागि, सप्ताहान्तका यी घटनाक्रमहरूको अर्थ अमेरिकामा हुने लगानी र त्यहाँ हुने निर्यातको वरिपरि अनिश्चितताको अर्को अवधि हो ।’
ट्रम्पको अभूतपूर्व र अस्थिर भन्सार शुल्कहरूका बीच स्पष्टता खोजिरहेका धेरै अमेरिकी कम्पनीहरूले त्यस व्यावसायिक अनिश्चितताका कारण सन् २०२५ मा कर्मचारी भर्ना प्रक्रिया रोकेका थिए ।
ब्रजेस्कीले यस वर्ष बढेको भन्सार शुल्कले युरोपेली कुल गार्हस्थ्य उत्पादनबाट एक चौथाइ प्रतिशत विन्दु घटाउने अपेक्षा गरेको बताए ।
‘आर्थिक र सुरक्षा दुवै दृष्टिकोणले युरोप अझै पनि धेरै हिसाबले अमेरिकामा निर्भर छ,’ उनले उल्लेख गरे ।
ब्रुकिंग्स इन्स्टिच्युसनका वरिष्ठ नन–रेसिडेन्ट फेलो ड्यान ह्यामिल्टनले ‘ट्रेड बजूका’ को कार्यान्वयन गर्न ईयूलाई महिनौं लाग्न सक्ने चेतावनी दिएका छन् । त्यसले अमेरिकी कम्पनीको इजाजतपत्र निलम्बन गर्न वा अमेरिकी सेवाहरूमा कर लगाउन सक्छ ।
ह्यामिल्टनले भने, ‘ट्रम्पको पछिल्लो धम्कीले गत ग्रीष्म ऋतुमा अमेरिकाले बेलायत र युरोपेली संघ दुवैसँग गरेको व्यापारिक सम्झौताहरूलाई छिन्नभिन्न पार्ने र अमेरिकाका निकटतम सहयोगीहरूसँगको सम्बन्धलाई थप तनावपूर्ण बनाउने जोखिम निम्त्याउँछ ।’
ईयूले गत ग्रीष्म ऋतुमा ट्रम्प प्रशासनसँगको आफ्नो व्यापार सम्झौता कार्यान्वयन गरेको भए पनि अहिलेसम्म सम्झौतामा हस्ताक्षर भने गरेको छैन । तर, जर्मनीका चान्सलर फ्रेडरिक मर्ज लगायतका केही नेताहरूले दुवै पक्षमा ठूलो भन्सार वृद्धि हुनबाट रोकेकाले यस सम्झौतालाई समर्थन गरेका थिए भलै धेरै युरोपेली नेताहरूले यो घोषणा हुँदा यसको विरोध गरेका थिए । ट्रम्पको पछिल्लो प्रहारले यस सम्झौतालाई शंकाको घेरामा पारेको छ ।
युरोपेली संसद्का म्यानफ्रेड वेबरले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेअनुसार, ग्रीनल्यान्डका सम्बन्धमा डोनल्ड ट्रम्पको धम्कीलाई हेर्दा यस चरणमा अमेरिका–ईयू व्यापार सम्झौताको स्वीकृति सम्भव छैन ।
युनिभर्सिटी अफ शिकागोको ह्यारिस स्कूल अफ पब्लिक पोलिसीका प्रोफेसर स्टिभन डरलाफले भने, ‘यी कार्यहरूले वास्तवमै अमेरिकी प्रतिबद्धताहरूको विश्वसनीयताको अन्त्यलाई संकेत गर्छन् । यसले विश्व अर्थतन्त्रमा प्रतिकूल असर पार्नेछ ।’
अमेरिकी जनगणना ब्यूरोका अनुसार, सन् २०२४ मा अमेरिकाले जर्मनीसँग २३६ अर्ब डलर मूल्य बराबरको सामानको व्यापार गरेको थियो । त्यसका साथै बेलायतसँग १४७.७ अर्ब डलर, नेदरल्यान्ड्ससँग १२२.२७ अर्ब डलर, फ्रान्ससँग १०३ अर्ब डलर र स्विडन, नर्वे र फिनल्यान्डसँग प्रत्येकसँग अर्बौं डलरको व्यापार गरेको थियो ।
यद्यपि, ट्रम्पले एउटा छिद्र छोडेका हुन सक्छन् । ट्रम्पका भन्सार शुल्कहरू सम्पूर्ण युरोपेली संघलाई नभई केही छानिएका सदस्य राष्ट्रहरूलाई मात्र लक्षित छन् । त्यसैले ती आठ देशहरूले भन्सार शुल्कहरूबाट बच्न ईयूको स्वतन्त्र व्यापार क्षेत्रभित्रबाट व्यापारको बाटो परिवर्तन गर्न सक्छन् ।
न्युयोर्क युनिभर्सिटीको स्टर्न स्कूल अफ बिजनेसका प्रोफेसर जोसेफ फौडीले चेतावनी दिए, ‘स्पेन, इटाली, जर्मनी र फ्रान्सको बीचमा कुनै सीमा छैन । हामीले एउटा एउटा राज्यहरूमा भन्सार लगाउने प्रयास गरेमा कसैले पनि अर्को देशमार्फत सजिलै सामान पठाउन सक्छ ।’
तत्काल १० प्रतिशत भन्सार शुल्कले अर्थतन्त्रलाई अमेरिकाका ठूला व्यापारिक साझेदारहरूसँगको तनावपूर्ण सम्बन्धको दीर्घकालीन प्रभाव जति हल्लाउने छैन ।
ट्रम्पले आफ्नो भन्सार शुल्कको धम्कीलाई अझ बढाउनेछन् वा नयाँ शुल्कहरू लगाउनुअघि पछि हट्नेछन् भन्ने अनिश्चितताले व्यापारिक साझेदारहरूलाई दीर्घकालमा अमेरिकाबाट टाढा राख्न सक्छ ।
युनिभर्सिटी अफ सिकागोका डरलाफले भने, ‘अनिश्चितता वृद्धिको शत्रु हो ।’ ट्रम्पका अभूतपूर्व निर्णयहरूले कुराहरूलाई केही हदसम्म अपरिवर्तनीय बनाउँछ किनकि नयाँ प्रशासन पदमा आएपछि पनि सहयोगीहरूले विश्वास गुमाउँछन्, उनले थपे ।
यी भन्सार शुल्कहरू ट्रम्पको आपतकालीन शक्तिहरूको प्रयोगमा सर्वोच्च अदालतको धेरै प्रतिक्षा गरिएको फैसलाद्वारा खारेज पनि हुन सक्छन् ।
अमेरिकाका ठूला व्यापारिक साझेदारहरू अन्य राष्ट्रहरूसँग सक्रिय रूपमा व्यापार सम्बन्ध सुदृढ गर्दैछन् । क्यानडाले गत साता चीनसँग भन्सार शुल्कमा छुट र चिनियाँ ईभीको बिक्री सहित रणनीतिक साझेदारीको खुशियाली मनायो । ईयूले दक्षिण अमेरिकाको मर्कोसुरसँग २५ वर्षको व्यापार वार्तालाई निष्कर्षमा पुर्याउँदै सम्झौता गरेको घोषणा गर्यो ।
फौडीले भने, ‘ग्रिनल्यान्ड प्राप्त गर्ने प्रयासका क्रममा हामी विरोधाभासपूर्ण रूपमा हाम्रा सबैभन्दा महत्त्वपूर्ण सहयोगीहरूलाई टाढा धकेल्दैछौं । यसले वास्तवमा ती शत्रुहरूलाई बलियो बनाउँदैछ जसको बारेमा हामी चिन्तित छौं । यस नीतिको मूल्य यही हो ।’
यस नीतिले अमेरिकाको निर्यात प्रतिस्पर्धात्मकतालाई कमजोर बनाउनेछ र कम्पनीहरूले भन्सार अनिश्चितताका कारण लगानीका निर्णयहरू स्थगित गर्न सक्छन्, उनले थपे ।
उनले भने, ‘भन्सार दरहरू कहिलेकाहीँ दिनदिनै परिवर्तन भएको देखिँदा भन्सार द्वन्द्वको वास्तविक मूल्य कारखाना नखुलेकाले चुकाउनुपर्ने हुन्छ ।’








प्रतिक्रिया