
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका १२ जना केन्द्रीय सदस्यहरूले पार्टीबाट सामूहिक राजीनामा दिएका छन् ।
वामदेव गौतम नेतृत्वको ‘नेकपा एकता राष्ट्रिय अभियान’ बाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको दलसँग एकता गरेका उनीहरूले उम्मेदवार छनोटमा आफ्नो समूहलाई पूर्णतः उपेक्षा गरिएको भन्दै साधारण सदस्य समेत नरहने गरी आइतबार राजीनामा घोषणा गरेका हुन् ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सम्बोधन गर्दै दिइएको राजीनामा पत्रमा उनीहरूले राष्ट्रियसभा, समानुपातिक र प्रत्यक्षतर्फको निर्वाचनमा आफ्नो समूहबाट एक जनालाई पनि उम्मेदवार नबनाइएकोमा कडा आपत्ति जनाएका छन् ।
यस निर्णयबाट आफूहरू अपमानित र ‘असक्षम’ ठहरिएको महसुस गर्दै नैतिकताका आधारमा पार्टीमा बसिरहनु उचित नहुने उनीहरूको निष्कर्ष छ।
विज्ञप्तिमा भनिएको छ, ‘हामी १२ जना केन्द्रीय सदस्यहरू यस पार्टीमा जोडिएका थियौँ । तर, कुनै पनि तहको निर्वाचनमा हाम्रो समूहबाट एक जनालाई पनि छनोट गरिएन । यसले हामीलाई पार्टीमा हाम्रो भूमिका र क्षमतामाथि प्रश्न उठाएको महसुस गराएको छ । त्यसैले सामूहिक राजीनामा दिई आजैका मितिदेखि स्वतन्त्र बस्ने निर्णय गरेका छौँ ।’
राजीनामा दिनेहरूमा विद्याप्रसाद शर्मा, राधेश्याम गुप्ता लगायतका नेताहरू रहेका छन् ।









प्रतिक्रिया