बालेनले मेयरबाट दिए राजीनामा


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

यसअघि राजीनमा नदिने मनस्थिति बनाए पनि बालेनले अन्तिममा राजीनामा दिएका हुन् ।

उनले आइतबार उपप्रमुख सुनिता डंगोलसमक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।

नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम उनले २०८२ साल माघ ४ गतेदेखि लागू हुने गरी राजीनामा दिएको पत्रमा उल्लेख छ।

राजीनामा पत्रमा शाहले आफ्नो कार्यकालमा महानगरवासीको हितका लागि इमानदारीपूर्वक प्रयास गरेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘यस पदमा रहँदा काठमाडौँ महानगरपालिका र नगरवासीको हितमा सकेसम्म इमानदारीपूर्वक कार्य गर्ने प्रयास गरेको छु। अबको दिनमा महानगरको नेतृत्व, सेवा प्रवाह र विकास यात्रा थप प्रभावकारी बनोस् भन्ने कामना गर्दछु।’

मेयर शाहले बुझाएको राजीनामा पत्रलाई उपप्रमुख सुनिता डंगोलले बुझ्दै दर्ता समेत गराएकी छिन् । उपप्रमुख डंगोलले संविधानको धारा २१६ (८) को प्रयोजनका लागि रीतपूर्वक राजीनामा दर्ता गरी अभिलेखबद्ध गरिएको पत्रमा उल्लेख गरेकी छिन्।

बालेन राजीनामा दिएर आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्दै छन् ।