
काठमाडौं । नेपाली कांग्रेसले आगामी आम निर्वाचनमा महामन्त्री गगन थापालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्ने घोषणा गरेको छ ।
पार्टीका उपसभापति विश्वप्रकाश शर्माले फेसबुक लाइभमार्फत यस्तो महत्त्वपूर्ण घोषणा गरेका हुन्।
विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले आधिकारिकता प्रदान गरेपछि उपसभापति शर्माले पार्टीको आगामी कार्यदिशा स्पष्ट पारेका हुन् ।
उनले अब पार्टीभित्र विशेष महाधिवेशनको पक्ष र विपक्षमा रहेकाहरूबीच कुनै पनि प्रकारको दूरी वा दरार रहन नहुनेमा जोड दिए ।
‘जो बदलिन्छन्, उनीहरूले नै परिवर्तन ल्याउन सक्छन् । अब हामी सबैले बदलिने संकल्प गर्नुपर्छ । विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने र नगर्ने साथीहरूबीच अब कुनै विभेद रहने छैन’ उनले भनेका छन् ।
शर्माले पार्टीका एकथरी साथीहरूले ‘सार्थक हस्तक्षेप’ गरिसकेको र अब बाँकी साथीहरूले पनि हस्तक्षेपकारी भूमिका खेल्ने बेला आएको बताए ।
आफ्नो सम्बोधनका क्रममा शर्माले नेपाली कांग्रेस अब ‘जेनजी’ पुस्ताको भावना र आन्दोलनले माग गरेअनुरूप सुशासन प्रत्याभूत गर्न प्रतिबद्ध रहने बताए । उनले विगतमा भएका कमी-कमजोरीप्रति आत्मालोचित हुँदै आगामी दिनमा गल्ती सच्याएर अघि बढ्ने दृढता समेत व्यक्त गरे ।
निर्वाचन आयोगको पछिल्लो निर्णयसँगै कांग्रेसभित्र नयाँ उत्साह सञ्चार भएको र यसले पार्टीलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ ।








प्रतिक्रिया